देशभर गठबन्धन गरेर चुनावमा जाने भनेपनि सत्तारुढ नेपाली कांग्रेसले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एक्लै स्थानीय तह निर्वाचन लड्ने निर्णय लिएको छ ।
पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिकामा कांग्रेस एक्लै अघि बढ्ने अवस्थामा पुगेको छ ।
गठबन्धनले स्थानीय संयन्त्रमार्फत तालमेल र उम्मेदवारको टुंगो लगाउने नीति लिएको अवस्थामा विरोध भइरहेको छ ।
कार्यकर्ताको भावना विपरीत तालमेल र भागबण्डा गरिएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकामा कांग्रेसले एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई प्रमुख पद दिएर तालमेल गर्न खोजिएको भन्दै कांग्रेसले त्यसअघि नै एक्लै निर्वाचनमा जाने घोषणा गरेको हो ।
नेपाली कांग्रेस बारा क्षेत्र नं.४ (क) र जीतपुरसिमरा नगर समितिको बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको हो । कांग्रेस ४ (क) का सभापति सुमनकुमार भट्टराईले कांग्रेस एक्लै चुनाव लड्न सक्षम भएकाले त्यही अनुसार निर्णय गरिएको बताएका छन् ।
जीतपुरसिमरा नगर समितिका सभापति छविलाल शर्माले कार्यकर्ताको भावनालाई सम्मान गर्दै कसैसँग तालमेल नगरी एक्लै चुनावमा जाने निर्णय गरेको जानकारी दिए । गठबन्धनको नाममा अर्को दलको उम्मेदवारलाई नस्विकार्ने बताउँदै शर्माले पार्टीको अस्तित्व जोगाउन एक्लै लड्ने उल्लेख गरे ।
उता अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा दाबी गरेको छ । माओवादीबाट यहाँ राजन पौडेल दाबेदार छन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनले तेस्रो मत ल्याएका थिए ।
त्यहाँ एमालेका डा. कृष्ण पौडेल विजयी भएका थिए । पौडेलसँगै माओवादीबाट संविधान सभाका सदस्य जयराम दहाल र माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ पनि दाबेदार हुन् ।





















प्रतिक्रिया