काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई स्वर्ण पदक (गोल्ड मेडल) दिनुपर्नेमा कम नम्बर ल्याएका विद्यार्थीलाई गोल्ड मेडल दिएको पाइएको छ । पीयुको दशौं दिक्षान्त समारोह आगामी ४ वैशाखमा हुँदैछ ।
कानून संकाय तर्फ एल।एल।एम। २०१८–२०२० ब्याचमा सर्वोकृष्ट अंक ल्याउने मनिता गुरुङले एग्रिगेटमा ८३.१२ प्रतिशत ल्याएकी थिइन् । उनको यो प्रतिशन पीयुमा अध्ययनर यस व्याजका विद्यार्थीमध्ये सबैभन्दा बढी हो । तर विश्वविद्यालयले उनीभन्दा ७ प्रतिशत कम अंक ल्याएका युगबहादुर पाललाई स्वर्ण पदक दिनेगरी तयारी गरेको छ ।
पालको लबधांकपत्रमा एग्रिगेट नम्बर ७६.२५ प्रतिशत रहेको छ । विश्वविद्यालयको वेभसाईटबाट पनि हेर्न सकिन्छ । विश्वविद्यालयको ‘मेडल लिस्ट अफ इक्जाम इयर २०२० (२०७७)’ को क्रम संख्या १४ मा पाललाई स्वर्ण पदकको दिनेगरी अन्तिम नामावली प्रकाशित गरिसकेको छ । गुरुङले शैक्षिक वर्ष २०१८–२० को दुईवर्षे एल।एल।एम। मा चक्रवर्ती हवी इजुकेशन अफ ल विद्यालयमा अध्ययन गरी गत १८ पुस ०७८ मा विश्वविद्यालयले तोकेको समयभित्रै मौखिक परीक्षा समेत दिएकी थिइन् । एल.एल.एम. कार्यक्रममा एग्रिगेट ८३.१२५ ल्याई प्रथम श्रेणीमा प्रथम हुँदा पनि विश्वविद्यालयले लापरबाहीपूर्वक विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ । एउटाले पाउनुपर्ने स्वर्ण पदकमा अर्कैको नाम सिफारिस गरेर विश्वविद्यालयले विद्यार्थीलाई तनाव दिएको छ ।
उनले गत २८ चैत ०७८ को दिन (दर्ता नं. ४९ मार्फत) निवेदन समेत दर्ता गराएर दाबी गरेकी थिइन् । गुरूङ भन्छिन्,‘दाबी विरोधका लागि जाँदा सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई मिति २०७८/१२/२२ को स्वर्ण पदकको सिफारिसमा त्रुटि भएको भनेका थिए । मैले आफैले पाएको ८३.१२५ को प्रमाण समेत देखाउँदा कर्मचारीहरुले समितिको निर्णयमा कुनै पनि फेरबदल हुँदैन भनि अव्यवहारिक जवाफ दिएर पठाइदिए ।’ विश्वविद्यालयको यस्तो हर्कतले मेहेनती, जेहेन्दार विद्यार्थीको भविष्यमा ठूलो असर पर्ने देखिन्छ । स्रोतका अनुसार बढी नम्बर ल्याउनले विद्यार्थीलाई गोल्ड मेडल नदिइ कम ल्याउनेलाई दिनुमा आर्थिक चलखेल दाबी छ । गुरूङले गत २९ चैतमा गोल्ड मेडल आफूले पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
उनको रिटको पहिलो पेसी ३० चैतमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा थियो । चक्रवर्ती ल कलेजसँग उनको कानुन व्यवसायी हुँदा सम्बन्ध रहेकाले स्वार्थ बाझिएको भन्दै ‘र्हन नमिल्ने’मा राखिदिए । त्यसपछि २ वैशाखमा प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको थियो । ढुंगानाको बेन्च बस्न नभ्याएकाले यो रिटमाथि सुनुवाइ नै हुन सकेको छैन । विश्वविद्यालयको दीक्षान्त समारोह भने आगामी ४ बैशाखमा हुँदैछ ।
पीयुको यो मात्रै घटना भने होइन, यस्ता घटना धेरै रहेका छन् । यसअघि पनि नवौं दिक्षान्त समारोहहरुमा शैक्षिक वर्ष २०१५–२०१७ मा एल।एल।एम।मा उत्कृष्ट प्राप्ताङ्क ल्याउने विनिता पाण्डेलाई गोल्ड मेडल नदिइ सोफिया अधिकारीलाई दिइएको थियो ।
सर्वोच्च अदालतले ८ माघ ०७७ मा विश्वविद्यालयले गलत गरेको भन्दै सो कार्यलाई बदर गरी नियम संगत गर्न भनेर फैसला गरेको थियो । त्यसैगरी सातौं दिक्षान्त समारोहमा पनि यस्तै भएको थियो । एल।एल।एम।को शैक्षिक वर्ष २०१४–१६ मा उत्कृष्ट अंक ७७.३८५ ल्याउने सुभाष आचार्यलाई नदिइ ७६.५०५ ल्याउने पूजा खत्रीलाई स्वर्ण पदक दिएको थियो । यसमा पनि सर्वोच्च बदर गरी आचार्यलाई स्वर्ण पदक दिन आदेश दिएको थियो ।
















प्रतिक्रिया