घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएकाहरुको सहारा बनेको छ, स्नेही काख । उनीहरूको एउटै आश्रयस्थल हो, स्नेही काखको टिनको छानो भएको घर । श्री नेहा पोखरेल अविवाहित हुन्, तर सबैकी आमा बनेकी छिन् । उनले स्थापना गरेको स्नेही काखले साँच्चै बेवारिसेलाई स्नेह दिइरहेको छ । मानसिक सन्तुलन गुमाएका तथा घरबारविहीन भएकाहरूलाई उनले स्नेह तथा काख दुवै दिएकी छन् । महिला तथा बालबालिकालाई ललितपुरको कुसुन्ती हाइटमा र पुरुषलाई साङ्लाचौरमा राखेकी छन् । हामी प्राय आफू र आफ्नो परिवारको लागि मात्र समर्पित हुन्छौँ । तर खाने लाउने र रमाइलो गर्ने समय तथा मोडेल क्षेत्रमा आफ्नो करिहर बनाउने बेलामा सबै आफ्ना रहरलाई पन्छाउँदै आफ्नो सम्पूर्ण जीवन मनोरोगीलाई समर्पित गर्ने नेपाल स्नेही काखकी सञ्चालिका श्री नेहा पोखरेल खाना, लताकपडादेखि सम्पूर्ण खर्च आफैले व्यहोरेकी छन् । स्नेही काखका दुधे बालकदेखि ६० वर्षसम्मका सबैले श्री नेहालाई आमा भन्छन् ।
उनी आमा शब्द सुनेर दंग पर्छिन । आफू ७५ जनाको आमा बन्न पाउँदा निकै खसी भएको बताउँछिन् श्री नेहा । उनी भन्छिन्, “जति नै दु:खमा पनि यिनीहरूको मुहारमा आएको खुसीले मलाई निकै उर्जा प्राप्त हुन्छ । बाटोमा अलपत्र देखिएका बेसहराहरु देखेर उनको कोमल मन छिया-छिया हुन्थ्यो । अनायसै बगेका आँशुहरूले उनको जिन्दगीले नयाँ मोड लियो । उनले बेवारिसे तथा मानसिक सन्तुलन गुमाएकाको सेवामा समर्पित हुने प्रण गरिन् । यद्यपि, उनको सपना भने नृत्याङ्गना तथा मोडेल बन्ने थियो । “देखेको सपना सबै कहाँ पूरा हुन्छन् ?, उनी भन्छिन्, “उनीहरुको मायाकै कारण सपनाले कोल्टो फेर्यो ।”
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सबे क्षेत्र अस्तव्यस्त बनाएको छ । तर, श्री स्नही काखलाई भने अर्को बज्रपात पर्यो । श्री नेहा पोखरेलले भनिन्, “अहिले हामी सारै नै आर्थिक संकटमा छौँ ।” महिनाको ४० हजार भाडा तिरेर जस्ताको छानो मुनी बसेका श्री नेहाका परिवार अहिले आर्थिक दलदलमा फसेका छन् । श्री नेहा भावुक हुँदै भन्छिन्, “भाडा नतिरेको एक वर्ष भयो । सात लाख भएसक्यो के गरौँ ? सहयोग मागौँ त कसलाई मागौँ ? अहिले सबैको अवस्था उस्तै छ ।”
उनले बनावटी हाँसो अनुहारमा ल्याउँदै थपिन्, “ठिकै छ, मैले हिम्मत हारेको छैन । विस्तारै राम्रो होला नि है !” महिला, पुरुष र बालबालिका गरि ७५ जनाको हेरचाह गरिरहेकी छन् । उनले त्यहीमाथि ६१ जना त मनोरोगी नै छन् । मनोरोगी मात्र हाइन क्यान्सर रोगी पनि छन् । सबै रोगी भएका कारणले गर्दा दिनहुँ औषधी चाहिन्छ ।
उनी थप्छिन्, “खानाको लागि द:ख छ त म भन्दिन । पहिले कसैले एक बोरा चामल दिँदा खुसी लाग्थ्यो एउटा सिटामोल दिँदा पननि धेरै लाग्थ्यो । तर अहिले दाल चामलको भन्दा पनि घरभाडा र औषधी खर्च पुर्याउन मुस्किल भइरहेको छ । हामीलाई निरन्तर सहयोग गर्ने पनि हुनुहुन्छ । उहाँहरूको लागि म कामना पनि गर्छु । अहिले धेरै जनाले माया गरिदिनु भएको छ । कलाकारदेखि पत्रकारसम्मका सबैजनाले यही आएर जन्मदिन र आफ्नो वैवाहिक वर्षगाँठको उत्सव मनाउनु हुन्छ । त्यहाँबाट पनि दाल चामललगायतका खानेकुराहरू सहयोग स्वरूप प्राप्त भइरहेको छ ।”
श्री नेहा चौविसैं घण्टा नेपाल स्नेही काखमा खट्छिन् । पोखरेल भन्छिन्, “यिनीहरूको स्याहारमा जति खट्छु म आफूलाई उति नै बलियो महसुस गर्छु । स्नेही काखलाई आर्थिक समस्या छ । भवन छैन । त्यहाँ आश्रय लिएका हरेकलाई औषधि उपचार गर्नुपर्छ । एक दिन औषधि बिराएमा रुने कराउने अनि भाग्ने गर्छन् । उनीहरूलाई उपचारका लागि उचित व्यवस्था छैन ।”
कसैले पनि बेवारिस हुन नपरोस् भन्ने कामना गर्दै उनले थपिन्, “कसैलाई सडकमा फोहोरको थुप्रोमा देख्न नपरोस् भन्ने चाहना छ, स्नेही काखको ।” सरकारले अहिलेसम्म स्नेही काखले गरेका कामलाई प्रोत्साहित गरेको छैन । देश-विदेशदेखि सहयोग आए पनि खानामा नै ठिक भएको उनी बताउँछिन् । उनले भनिन्, “धेरै मनोरोगी दिँदा बहिनीहरूलाई दिनहुँ खाना, खाजा खुवाउन, लत्ताकपडा, उनीहरूको स्वास्थ्य उपचारसँगै बालबालिकाहरुको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न मासिक लाखौँ रकम खर्च हुन्छ ।”
अहिले झन् कोरोनाले थप अप्ठ्यारोमा पारेको छ । “३० वर्षीय कोपिला गर्भवती छन्,” जे गर्छ पैसाले गर्छ भन्दै भावुक हुँदै श्री नेहाले सुनाइन्, “एक जना महिला हुनुहुन्छ । उहाँ करिब ४० देखि ४५ वर्षीय हुनुहुन्छ । उहाँको कहानी झन् कहालीलाग्दो छ । हामीले उहाँलाई बाटोमा भेटेका हौँ । उहाँ बत्लात्कृत हुनुभएको रहेछ । उहाँको पेटमा बच्चासमेत रहेछ तर विडम्बना पेटमा बच्चा मरिसकेर कुहिसकेछ ।”
“उहाँको गर्भ कुहिएर गन्हाइरहेको थियो । अहिले उहाँलाई नियमित औषधि चाहिन्छ । विभिन्न ठाउँहरुबाट आर्थिक सहयोग आएको थाहा पाएर होला घरबेटीको फोन आइरहेको छ । आफ्नो भने अवस्था नाजुक छ । गरौँ त के गरौँ ? कता-कता कसरी टालौँ ?,” उनी भन्छिन्, “अरू सबै ठिक छ ।
जसोतसो चलाएको नै छु । तर यतिबेला आर्थिक स्थिति नाजुक भएको कारण यतीबेला व्यवहार मिलाउन गाह्रो भयो ।” उनको आम्दनीको स्रोत भनेको आफ्नो घरको एक फल्याटबाट आउने भाडा मात्र हो । त्यो पनि उनले त्यही बच्चा र मनोरोगीहरुको लागि उपचारमा खर्च गर्छिन् । कुराकानी अन्तमा उनले भनिन्, “केही दाल, चामलहरु लिन बोलाउनु हुन्छ । सुरक्षाको मापदण्ड अपनाएर जाने गरेको छु । मेरो कारणले मेरो बाबु नानीहरुको स्वास्थ्थमा असर पर्छकी भनेर साह्रै चिन्ता लाग्छ । सबैजनाले सहयोग गरिराख्नु भएको छ । सहयोगी मनहरुप्रति आभारी छु ।”






















प्रतिक्रिया