केन्याको एउटा राष्ट्रिय निकुञ्जनजिकै अवस्थित गाउँमा एउटा सिंह देखा परेको सूचना पाएपछि सो ठाउँमा आवश्यक कारबाही गर्न तीनजना सशस्त्र वनरक्षक पुगे ।
तर त्यहाँ झाडीमा सिंह नभई सिंहको टाउको छापिएको एउटा झोला फेला पर्दा उनीहरू चकित भए ।
माउन्ट केन्या राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर पर किन्याना गाउँमा एउटा कृषि फार्ममा काम गर्ने एक व्यक्तिले आफ्ना रोजगारदाताको घरबाहिर आफूले एउटा सिंह देखेको सूचना दिएका थिए ।
सिंहको टाउको अङ्कित त्यो झोला घरमालिक्नीले घरबाहिर जग्गा घेर्ने झाडीमा राखेको पत्ता लागेको छ ।
त्यसभित्र उनले एभोकाडोका बेर्ना राखेकी थिइन् ।
उक्त इलाकामा घुमुवा सिंह देखिएको कुरा केही समयदेखि थाहा नभएको भए पनि स्थानीयवासीले आफ्ना बस्तुभाउ हराएको गुनासो गरेको गाउँका मुखिया साइरस मबिजिवेले बीबीसीलाई बताए ।
“हामीले यो घटनालाई निकै सतर्कता र गम्भीरतपूर्वक लियौँ। सर्वप्रथम हामीले सबै जनालाई सुरक्षित राख्ने काम गर्यौँ अनि वन्यजीव अधिकारीहरूले अनुसन्धान गर्दा एउटा झोला फेला पारे ।”
वनरक्षकहरूलाई बोलाइँदा घरमालिक्नी त्यहाँ थिइनन् ।
उनी फर्किएपछि उनलाई त्यहाँ एउटा सिंह देखा परेको भन्दै घरको पछाडिपट्टिको ढोकाबाट घरभित्र जान सुझाव दियो ।
उनले त्यतिबेला त्यो कुरा मानिन् अनि उनलाई आफूले राखेको झोलाको त्यो घटनाक्रमसँग सम्बन्ध भएको अनुमान नै भएन ।
सामान किनमेल गर्न प्रयोग हुने उक्त झोला घरको झ्यालमुनि थियो ।
त्यहाँ वास्तविक सिंह फेला नपरेको भए पनि र कर्मचारीहरूले दुःख पाएको भए पनि वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत सरकारी निकायले वन्यजन्तुसँग हुन सक्ने सम्भावित द्वन्द्व र दुर्घटनाबारे सूचना दिएकोमा सतर्कताका लागि सर्वसाधारणको प्रशंसा गरेको छ । बीबीसीबाट





















प्रतिक्रिया