Logo

प्रमुख समाचार

शिक्षकको परीक्षामा मागेकै कोटामा किन पास हुन सकेनन् उम्मेदवार ?



काठमाडौं । शिक्षक सेवा आयोगले माविका लागि एक हजार पाँच सय ५२ पदमा विज्ञापन आह्वान गरेको थियो । जसमा ३५ हजार पाँच सय ५७ जनाले आवेदन दिएका थिए। आवेद दिएका मध्ये ३२ हजार ९७ जना परीक्षामा सहभागी बनेका थिए ।

आयोगका अनुसार यी मध्ये तीन हजार आठ सय ८६ जना मात्रै पहिलोपत्रमा उतिर्ण भए । जुन निकै कम संख्या हो ।
१२ प्रतिशतले मात्रै पहिलो प्रश्न पत्रमा नाम निकाल्न सक्नु अत्यन्त चिन्ताको विषय भएको शिक्षा क्षेत्रकै सरोकारवालाहरू बताउँछन् ।

कतिपय विषयमा त विद्यार्थीहरू उत्तिर्ण नै हुन सकेनन् । पाँच प्रदेशमा चार विषयका विद्यार्थी अनुत्तिर्ण भएको आयोगले जनाएको छ । मधेस प्रदेशमा स्वास्थ्य शिक्षा, बागमतीमा व्याकरण, सुदूरपश्चिम र प्रदेश १ मा संस्कृत भाषा तथा लुम्बिनीमा संस्कृत साहित्यको प्रारम्भिक नतिजा नै शून्य आएको हो ।

यसको मुख्य दोष विद्यार्थीहरूको नै रहेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । शिक्षाविद् डा. विद्याथान कोइरालाले शिक्षक सेवालाई सामान्य रुपमा लिने मानसिकताका कारण यस्तो कमजोर नतिजा आएको बताए । शिक्षक सेवा भनेको देशमा ज्ञानको ज्योति उत्पादन गर्ने थलो हो । शिक्षकहरूले डाक्टर, इन्जिनियर, पाइलट जन्माउने हुन् । उनीहरू आफै असक्षम भए भने कस्तो जनशक्ति उत्पादन गर्लान्’, उनले भने, ‘त्यसैले शिक्षक बन्नका लागि कमजोर तयारीले पुग्दैन । यो नतिजाले त्यो कुरा प्रस्ट्याइदिएको छ ।’

पाठ्यक्रम हातमा दिँदा पनि सोही अनुरुपको तयारी गर्न नसक्नु चिन्ताको विषय भएको उनले बताए । ‘विद्यार्थीको हातमा पाठ्यक्रम हुन्छ । प्रश्नको नमुना दिइएको हुन्छ । तर, पनि नाम निकाल्न सक्दैनन्’, कोइरालाले भने ।

उनले शिक्षक बन्ने मान्छेले बाह्य ज्ञानसमेत बटुल्नुपर्ने बताए । ‘हामीले समाज पढ्नुपर्छ। बालबालिकाको मनोविज्ञान, अभिभावकको मनोविज्ञान पढ्नुपर्छ। त्यो किताव पढेर थाहा हुने कुरा होइन । आफैँ व्यक्तिगत रूपमा समाजको व्यवहार अध्ययन गर्ने हो’, कोइराला भन्छन् । चौतर्फी ज्ञान राख्न सक्ने ल्याकत भएको व्यक्ति मात्रै शिक्षक हुने उनको तर्क छ ।
यसका साथै विश्व विद्यालयहरूले पनि स्वयं आफ्नो क्षेमता जाँच गर्न सक्ने खालको प्रणाली विकास गर्न नसकेको उनी बताउँछन् । विश्व विद्यालयहरूले आफ्नो क्षमता आफैँ जाँच गर्न सक्ने प्रणालीको विकास गरे क्षमता भएका विद्यार्थी मात्रै परीक्षामा सहभागी हुने उनी बताउँछन् ।

माविमा कस्तो छ उतिर्ण दर ?

११ प्रतिशत निकै कम भएकाले कतिपय ठाउँमा मागको हाराहारीमा मात्र उत्तिर्ण भएका छन् । मधेस प्रदेशमा एक सय ११ शिक्षक माग भएकोमा दुई हजार १५ जनाले आवेदन दिएका थिए । ती मध्ये एक सय २० जना मात्रै उत्तिर्ण भएका छन् ।
यस्तै कर्णाली प्रदेशमा पनि उत्तिर्ण हुने विद्यार्थीको संख्या निकै कम छ । एक सय सात जना शिक्षक माग भएकोमा एक सय ९१ जना मात्रै उत्तिर्ण भएका छन् । कर्णालीमा एक हजार चार सय ७३ जनाले आवेदन दिएका थिए ।

सुदूरपश्चिममा तीन हजार चार सय ८७ जनाले आवेदन दिएकोमा तीन सय ६५ जना मात्रै उत्तिर्ण भएका छन् । त्यहाँ एक सय १७ जना शिक्षकको माग छ ।

प्रदेश १ मा १ सय १० सिटका लागि आठ हजार ७१ जना परीक्षामा सहभागी भएका थिए। ती मध्ये ८८ जना उत्तिर्ण भएका छन् । बागमतीमा तीन सय २८ शिक्षकका लागि विज्ञापन आह्वान गरिएको थियो । बागमतीमा ६ हजार दुई सय २६ जनाले आवेदन दिएका थिए । तर, आठ सय ९२ जना मात्रै उत्तिर्ण हुन सकेका छन् ।

यस्तै गण्डकी प्रदेशमा तीन सय २१ पदका लागि ६ हजार चार सय ७४ जना परीक्षामा सहभागी भएका थिए । तर, आठ सय ६५ जना मात्रै उत्तिर्ण हुनसके । लुम्बिनीमा एक सय ५८ पदका लागि चार हजार तीन सय ५१ जनाले आवेदन दिएकोमा चार सय ६५ जना मात्रै उत्तिर्ण हुन सकेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १५:०६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।