Logo

प्रमुख समाचार

चितवन इच्छाकामनाको अध्यक्षमा एमालेका गुरुङ र उपाध्यक्षमा सिलवाल विजयी



चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर गुरुङ अध्यक्षमा र उपाध्यक्षमा एमालेकै सिलवाल विजयी भएका छन् ।

चण्डीभन्ज्याङका स्थायी बासिन्दा गुरुङले नेपाली कांग्रेसकी अध्यक्षको उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो मत अन्तरले पछाडि पार्दे विजयी भएका हुन् ।

एमालेका दानबहादुरले छ हजार ११० मत ल्याउँदा कांग्रेसकी गीताकुमारीले चार हजार ६०८ मत ल्याएकी छन् । आज वडा नम्बर ७ को मत गणना सकिएसँगै विजय घोषणा गरिएको हो ।

सरकारी विद्यालयको प्रधानाध्यापक बनेका दानबहादुर पेन्सन पाक्न चार वर्ष मात्रै बाँकी रहँदा स्थायी जागिर छाडेर चुनावी मैदानमा एमालेबाट उत्रिएका हुन् । एमाले निकट शिक्षक संगठन चितवनको निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका गुरुङ सो क्षेत्रमा निकै लोकप्रिय नेता मानिन्छन् ।

अध्यक्ष प्रतिस्पर्धी गीताकुमारी पनि शिक्षा क्षेत्रबाट नै राजनीतिमा आएकी हुन् । त्यसैगरी उपाध्यक्षमा एमालेकी माया सिलवालले पाँच हजार ३४४ मत प्राप्त गर्दै विजयी भएकी छन् । मुग्लिनकी स्थायी बासिन्दा उनले माओवादी केन्द्रका प्रताप गुरुङलाई ३०० मतले जितेकी हुन् । प्रतापले पाँच हजार ४४ मत ल्याएका थिए ।

यसअघि २०७४ सालमा कांग्रेसले विजय हासिल गरेको इच्छाकामनामा अहिले एमालेले राम्रो मत ल्याएको छ । गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादी, २, ३, ४ र ५, ६ मा एमाले विजयी भएको छ । वडा नम्बर ७ मा कांग्रेसले विजय हासिल गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ८ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।