Logo

प्रमुख समाचार

६३८ पालिकाको मत गणना सम्पन्न, कुन पार्टीले कति जिते ?



काठमाडौँ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मत गणना सम्पन्न भएको छ । त्यसमध्ये सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जित निकालेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि क्रमशः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा जित निकालेका छन् ।

कांग्रेसले मत गणना सम्पन्न भएका पालिकामध्ये २८३ वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । अन्तिम मत परिणाम आएकामध्ये ४४.३५ प्रतिशत पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसले जितेको छ । यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मत गणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो ।

माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मत गणना सकिएका पालिकामध्ये १७.३९ प्रतिशतमा माओवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवार विजयी बनेका छन् । जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालीसकेको छ । यो भनेको कूल मत गणना सम्पन्न भएका पालिकाको ३.१३ प्रतिशत हो ।

एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मत गणना सकिएकामध्ये २.१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।

लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको कूल मत गणना सम्पन्न भएका पालिका प्रमुख तथा अध्यक्षको १.०९ प्रतिशत हो ।

आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मत गणना सम्पन्न भएका पालिकामध्ये ३.९१ प्रतिशतको प्रमुख तथा अध्यक्ष पदमा साना दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  १२ : ०९ बजे

519
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।