नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई १३ मतले हराउँदै नेपाली कांग्रेसले अर्थमन्त्री जनार्दन शर्माको गृहपालिका मुसिकोटको मेयरमा जित हात पारको छ । मुसिकोटमा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतले पराजित गर्दै कांग्रेसका महेन्द्र केसी मेयर बनेका हुन् ।
महेन्द्र ६९१४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी बसन्तले ६९०१ मत प्राप्त गरे ।
अहिलेसम्म सार्वजनिक भएकोमध्ये मेयर पदमा यो नै सबभन्दा कम मतान्तरको जित-हार हो । पालिका अध्यक्षमा भने यसअघि मुस्ताङको घरपझोङ गाउँपालिकामा २ मतले जित हार भएको थियो ।
मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको थियो । तर उपमेयरमा एमालेका उम्मेदवार थलबहादुर ओली भने पराजित भएका छन् । माओवादीले मुसिकोटमा एकीकृत समाजवादीसँग तालमेल गरेको थियो ।
उपमेयरमा एकीकृत समाजवादीका विमलकुमार पुन मगर विजयी भएका छन् । विमलले ६१४० मत प्राप्त गरे । ओलीले भने ५९८५ मत मात्र ल्याउन सके ।
प्रतिक्रिया