Logo

मनोरञ्जन

नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र निर्माण हुने



काठमाडौं । नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र निर्माण हुने भएको छ ।

देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को मंगलवार राजधानीमा एक कार्यक्रमबीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त पनि गरियो ।

फिल्मको मुहूर्त सटमा कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीले अभिनय गरे । यो फिल्ममा उनीहरु प्रेम जोडीको रुपमा प्रस्तुत हुनेछन् ।

सौरपानी मिडियाको ब्यानरमा निर्माण हुने फिल्मको बुधवारदेखि छायांकन प्रारम्भ भएको छ ।

यो फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ ।

फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् ।

उनले लेखेका ६ वटा लोकगीतमा यो फिल्म निर्माण हुन लागेको हो ।

फिल्ममा केही प्रतिशत संवाद पनि हुनेछ ।

क्यानडाको लागि नेपाली साँस्कृतिक दुतसमेत रहेका पूर्ण नेपालीको एकल संगीतमा रहेका फिल्मका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान लगायतका गायक(गायिकाहरुको स्वर रहेको छ ।

निर्माता पनेरुले आफूले व्यवसायिक उद्देश्य नबोकी फिल्म निर्माण गर्न लागेको बताए । उनले भने- ‘फरक-फरक शैलीका लोक गीतमार्फत फिल्ममा कथा भनिनेछ । यसलाई आधुनिक मुना मदन पनि भन्न सकिन्छ । तर, यो सुखान्त मुना मदन हुनेछ । यो फिल्मले समाजलाई सकारात्मक सन्देश दिनेमा विश्वस्त छु ।

भिन्न जातीका दुई केटा -केटीको प्रेमकथामा फिल्म आधारित हुने उनले जानकारी दिए ।

यसअघि दुई फिल्मको निर्देशक गरिसकेका देवेन्द्र पाण्डेले आफूले यसअघि गरेका फिल्मभन्दा ‘मानिस ठूलो दिलले हुन्छ’ भिन्न रहने दावी गरे ।

सामाजिक विषयवस्तुमा आधारित भएर फिल्म बन्ने उनको भनाई छ । गीतको माध्यमबाट समाजलाई सन्देश दिने उद्देश्यले फिल्म बनाउन लागको उनी बताउँछन् । उनले यसअघि थुप्रै म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

यो फिल्मको लम्बाई एक घन्टाभन्दा लामो हुने बताइएको छ । सम्भवतः संवादसहित यो लम्बाईमा यसअघि गीति फिल्म निर्माण भएका छैनन् ।

करीब १५ दिन छायांकन हुने फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् ।

फिल्म निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटी सहित हलमा रिलीज गर्ने निर्माण टिमको लक्ष्य छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १०:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।