Logo

प्रमुख समाचार

एमाले फेरि एक्लै चुनावमा जान्छ, प्रचण्ड र माधवजस्ता नक्कली कम्युनिष्टसँग एकता हुँदैन : प्रदिप ज्ञवाली



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लगायतलाई नक्कली कम्युनिष्टको संज्ञा दिएका छन् ।

नेपाली कांग्रेसले चुनाव जित्दा फूलमाला लगाएर बिजय उत्सव मनाएर हिड्नेहरु सच्चा कम्युनिष्ट हुन नसक्ने भन्दै ज्ञवालीले त्यस्ता पात्र र प्रवृतीसँग एमालेको सहकार्य या एकता केहि पनि हुन नसक्ने प्रष्ट पारेका छन् ।

स्थानीय तहको निर्वाचनपछि बाम गठबन्धनको चर्चा चलिरहेका बेला एमाले उपमहासचिव ज्ञवालीले एमाले पनि बाम एकताको पक्षमा रहेको तर नक्कली बामहरुसँग एकता हुन नसक्ने प्रष्ट पारेका छन् । कांग्रेसको जितमा उत्सव मनाउँनेहरु सच्चा कम्युनिष्ट हुन नसक्ने जिकिर पनि उनले गरेका छन् ।

उपमहासचिव ज्ञवालीले आसन्न संघीय र प्रदेश निर्वाचनमा पनि एमाले एक्लै प्रतिष्पर्धामा जाने प्रष्ट पारेका छन् । उनले भनेका छन् एमाले मूलतः एक्लै नै चुनावमा जान्छ । अहिलेको परिणामले हामीलाई राष्ट्रिय राजनीतिमा एमालेले एउटा धारको नेतृत्व गर्छ, त्यो धारलाई बलियो बनाउनुपर्छ, त्यो धार नै मूलधार हो भन्ने हाम्रो पूर्व मान्यतामा पुनर्विचार गर्नुपर्छ भन्ने हामीले ठानेका छैनौं ।

ज्ञवालीले यसलाई थप प्रष्ट पार्दै अगाडि भनेका छन् आजपनि नेपाली कांग्रेस परिणामको हिसाबले १२० सिटले हामीभन्दा अगाडि छ । तर पनि कांग्रेस र सत्ता गठबन्धनका कोही पनि दलहरुले एक्लै एमालेसँग चुनाव लड्छौँ भन्ने आँट गर्नुभएको छैन । अर्थात्, प्रतिकुल परिणामका बावजुद पनि नेकपा एमाले सशक्त शक्ति हो भन्ने कुरा विपक्षीहरुले समेत स्वीकार गरेको अवस्था छ । हामीले आफूलाई कमजोर ठानेर वैशाखी टेक्नुपर्ने आवश्यकता देखेका छैनौं ।

वास्तविक वामपन्थीहरु एक ठाउँमा हुनुपर्छ भन्ने मान्यतामा आज पनि हामी दृढ नै छौं । तर, ती नक्कली वामपन्थीहरु, जसले वाम आन्दोलनलाई कमजोर गरेर कांग्रेसलाई बलियो बनाउनुभयो । जसले वामपन्थी आन्दोलन कमजोर गरेर कांग्रेस पहिलो शक्ति भएकोमा विजय उत्सव मनाउँदै हुनुहुन्छ, जसले आफ्नो घरमा आगो लगाएर खरानी धस्दै हिँडिरहनुभएको छ, ती वामहरुलाई वाम मानेर एकता वा गठबन्धनको भ्रममा नेकपा एमाले पर्दैन । ज्ञवालीले प्रष्ट स्वरमा भनेका छन् ।

एक थान वडा सदस्य जित्नका लागि, एक थान वडाध्यक्ष जित्नका लागि कांग्रेसको चुनाव चिन्ह लिएर लड्नेसम्म तल झर्नेहरुलाई वामपन्थी हो भन्न नसकिने भन्दै ज्ञवालीले त्यस्ता फोहरी प्रवृतीसँग सहकार्य गर्न कुनै जरुरी नभएको जिकिर गरेका छन् ।

बहुसंख्यक वामपन्थी जनमतलाई आकर्षित गर्ने, संगठित गर्ने, सहकार्य गर्ने तर जसले वामपन्थी आन्दोलनलाई वास्तवमा धोका दिएको छ, ती नेतृत्वको भ्रमबाट समाजलाई छिटोभन्दा छिटो मुक्त गर्नु आवश्यक भएको तर्क ज्ञवालीको रहेको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार  ६ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।