Logo

प्रमुख समाचार

जनकपुरलाई लुक्लासंग जोडेर पर्यटन प्रबर्द्धन गराउने कांग्रेस नेता निधिको प्रस्ताब



नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले मधेश प्रदेशलाई सोलुखुम्बुको लुक्लासम्म सडक सञ्जालले जोडेर मधेश पहाडवीच धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्बन्ध बलियो बनाउनु पर्ने प्रस्ताब अघि सारेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोहको बिहीबार उद्घाटन गर्दै नेता निधिले मधेश प्रदेशलाई सगरमाथासँग सडक सञ्जालले जोड्ने बिषयमा योजना आयोगका उपाध्यक्ष डा. बिश्व पौडेल र भौतिक पूर्बाधार मन्त्रालयका सचिवसँग आफूले कुरा गरिसकेको जानकारी गराए ।

संसारभरका मानिस बिश्वकै अग्लो हिमाल सगरमाथा अवलोकन र आरोहण गर्न नेपाल आउने गरेको चर्चा गर्दै उनले सडक सञ्जालबाट जोडिएपछि मधेशबाट पनि सगरमाथा अवलोकनका लागि सोलुखुम्बु जान सकिने बताए। सडक सञ्जालमा जोडिएपछि जनकपुरबाट ५, ६ घण्टामै लुक्ला पुग्न सकिने बताइएको छ ।

मधेशका मानिस लुक्ला पुगेर सगरमाथा हेर्न पाउने मात्र होइन, पहाडी हिमाली क्षेत्रका मानिसले सजिलैसँग जानकीको दर्शन गर्न पाउने निधिको भनाई थियो। यसबाट धार्मिक, साँस्कृति पर्यटन प्रबद्र्धनमा टेवा पुग्नुका साथै आर्थिक कारोबार बृद्धि हुने उनले बिश्वास व्यक्त गरे । आफू भौतिक मन्त्री भएका बेला शुरु भएको सडक बिस्तार र स्तरोन्नतीका कारण जनकपुरमा आमूल परिबर्तन आएको निधिले स्मरण गराए । जनकपुरको विकासका लागि सडक, रेल र हवाई सञ्जालको पूर्बाधार तय भइसकेको भन्दै तत्काल आउटर रिङरोडको योजना अघि बढाउन उपमहानगरपालिकाका नवनिर्बाचित मेयरलगायतको ध्यानाकर्षण गराए ।

उनले जनकपुरधामको विकासका लागि सरसफाइका लागि ल्याण्डफिल साइटको निर्माण तथा बाह्य चक्रपथको निर्माण ध्यान दिनका लागि आग्रह गर्दै जनकपुरधाम प्रदेशको स्थायी राजधानी भएकाले यसको क्षेत्रफल विस्तार वैज्ञानिक तरिकाले गर्नका लागि सुझाव दिए ।

निधिले दलीय भावनाबाट मुक्त भएर विकास निर्माणको काम अघि बढाउन पनि सुझाब दिए । निधिले विकास निर्माणको काम सबैको साझा विषय भएकोले यसमा राजनीति गर्न नहुने बताए । दृढ विश्वासका साथ कार्यसम्पादन गर्न आह्वान गर्दै उनले जनकपुरको विकासका लागि आफू सधैं साथमा रहने प्रतिबद्धता जनाए । निधिले पाँच बर्षभित्र सम्पादन गरिने कामको अल्पकालीन र दीर्घकालीन योजना बनाउन पनि निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

नेता निधिले नेपाली कांग्रेस छाडेर विभिन्न दलहरूमा गएका नेता तथा कार्यकर्ताहरूलाई मातृ पार्टी कांग्रेसमा फर्किन आह्वान गरे । त्यसका लागि कांग्रेसको ढोका सधैं खुल्ला भएको उनको भनाई थियो । निधिले महन्थ ठाकुर, शरतसिं भण्डारी लगायतका नेताहरुको नाम लिएरै मातृपार्टीमा फर्कन आह्वान गरेका हुन् ।

कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जनकपुरधामको विकास तथा सौन्दर्यीकरणको काममा प्रदेश सरकारको पूर्ण साथ एवं सहयोग रहने बताए । नगरवासीको भलाईका लागि गरिने काममा मन्त्रालयले सधै सहयोग र समर्थन गर्ने उल्लेख गरे ।

कार्यक्रममा नव निर्वाचित नगरप्रमुख मनोज कुमार साहले नगरपालिकाको थप विकासका लागि व्यवस्थित ल्याण्डफिल साइटको निर्माण, बाह्य चक्रपथको निर्माण तथा जनकपुरधामलाई भौतिक रुपमा सुविधा सम्पन्न राजधानी बनाउने उद्देश्यका साथ कामकाज गर्ने योजना सुनाए । साहले पाँच बर्षभित्र आउटर रिङरोड बनाउने प्रतिबद्धता जनाए । त्यसका लागि एकजनाको प्रयासले मात्र संभब नहुने भएकोले संघ र प्रदेश सरकारको सहयोग चाहिने उल्लेख गरे ।

उनले अहिले जनतामाथि थुपारेको ५ सय गुणा बढीको करको प्रतिशत घटाएर जनतालाई थप बोझ नपर्ने गरी करको दायरा बढाई उपमहानगरको आम्दानी दुई वर्षमा दुई गुणाले वृद्धि गर्ने बताए ।

कार्यक्रममा नव निर्वाचित उपमेयर किशोरी साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्याय नगरको विकास आम जनताको चाहना अनुसार हुने बताए । शपथ ग्रहण कार्यक्रममा नगरप्रमुख साहले उपप्रमुख किशोरी साहसहित विभिन्न वडाका अध्यक्षहरूलाई शपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : जेष्ठ १४, २०७९ शनिबार  ६ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।