Logo

प्रमुख समाचार

कांग्रेस नेताको ‘हत्या’पछि दिक्तेल तनावग्रस्त, मोबाइल हरायो



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले छानबिनको मागसहित विरोध प्रदर्शन गरेका छन् ।

दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने मागसहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका छन् ।

मृतकका आफन्त ‘मणिरामलाई न्याय दे, मोबाइल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रशासन पुगेका हुन् । शवको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै नारा जुलुसमा उत्रिएका थिए ।

दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालय रहेको घरको आफ्नै कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सरजमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । घटनाको प्रकृति ‘मृत्यु नभै हत्या भएको’ छोरा नवराज दाहालले बताए ।

दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभै भुइँमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा नीलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्मढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ ।

दाहालको मृत्युका विषयमा अनुसन्धान गर्न समिति गठन

दाहालको रहस्यमय मृत्यु भएको विषयमा प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा अनुसन्धान समिति गठन गरिएको छ । जुलुस प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त प्रशासन, प्रहरी लगायतको वार्ताले पाँच सदस्यीय अनुसन्धान समिति बनाएको हो ।
समितिको सदस्यमा प्रहरी नायव निरीक्षक गोविन्दकुमार खत्री, प्रहरी सहायक निरीक्षक कुमार विष्ट, प्रहरी हवलदार विपिन योगी, प्रहरी हवलदार कैलाश लिम्बु र प्रहरी जवान सोमप्रसाद पहाडी राखिएका छन् ।

छलफलमा समितिमार्फत यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने निर्णय भएको छ । अनुसन्धान समिति बनाउने निर्णयसँगै मृतकका आफन्त शव बुझ्न तयार भएको वडाध्यक्ष खगेन्द्र राईले बताए ।

मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए । उनी क्षितिज बहुउद्देश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए । 

प्रकाशित मिति : जेष्ठ १४, २०७९ शनिबार  ८ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।