रामेछाप । डडुवाका रिमे थामी हतारहतार केटाहरू बटुलेर सोलुतिर कुदे । विवाहको टुंगो लगाइसकेकी केटी अर्कै केटासँग भागेपछि उनीहरू ‘जारी’ लिन सोलु पुगेका थिए । थामी समुदायमा विवाहको टुंगो लगाउन गरिने टीकाटालोलाई चारदाम जोर्ने भन्छन् । थामी इतरको समुदायमा विवाह भएकी महिलाले अर्को विवाह गरे भने मात्रै जारी तिर्नुपर्ने प्रथा छ ।
थामी समुदायमा भने चारदाम भइसकेकी केटी अर्कैसँग भागेपछि पनि समुदायको रीतअनुसार त्यसलाई विवाह गरेकै सरह मानेर केटी भगाउने पक्षसँग जारी असुलिन्छ ।
‘गाउँमै विवाह गरेको केटी सोलुतिर कुदाएपछि हामी उतै पुग्यौं,’ रिमेले गत भदौको घटना सुनाउँदै भने, ‘त्यहाँबाट २ लाख १० हजार रुपैयाँ उठाएर ल्यायौं ।’ चारदाम भइसकेको केटी भागेर जहाँ गए पनि जारीको रकम असुल्न खोज्दै जाने चलन नै भएको उनले सुनाए ।
जारीमा कति पैसा लिने भन्नेबारे परम्परागत रूपमा केही मान्यता छैन । तर चारदाम गर्दा कति खर्च गरियो भन्ने आधारमा जारीको रकम तोक्ने गरिन्छ । निवर्तमान वडा सदस्य मंगले थामीले जारी तोक्ने बेलामा कहिलेकाहीं विवाद पनि हुने गरेको बताए । केटापक्षले धेरै खर्च भएको दाबीसहित रकम माग्ने र केटीपक्षले त्यति रकम दिन सक्दिनँ भनेर पन्छिन खोज्ने हुन्छ । उनले भने, ‘आफन्त, गाउँका भद्रभलादमीहरू बसेर जारी रकम टुंगो लगाइन्छ । दुवै पक्ष सहमति भएपछि बकाइदा कागज गरेर पैसाको लेनदेन हुन्छ । यस्तो छलफलमा आवश्यक पर्दा जनप्रतिनिधिसमेत राख्ने चलन छ ।’
जारी उठाउने काम सधैं सजिलो भने हुन्न । चारदाम गरेकी केटी जिल्लाभित्रकै केटासँग भागे त समुदायले भगाउनेको थातथलो पत्ता लगाइहाल्छन् । तर बाहिर भागेका बेला भने उनीहरूलाई भगाउनेको थातथलो पत्ता लगाउन आपतै पर्छ । रिमेले भने, ‘ठेगान भएको जारी उठानका लागि जिल्ला र समुदायमै रहेछ भने त झनै सजिलो भइहाल्यो । नेपालमा जुनसुकै कुनामा पुगेको किन नहोस्, जारी आउने पैसाभन्दा धेरै खर्च लाग्ने ठाउँमा पुगेर पनि हामी जारी उठाउछौं ।’
थामी समुदायमा चारदाम जोर्ने कामलाई विवाहसरह नै मानिन्छ । चारदाम जोर्ने काम थामी समुदायमा परम्परागत हिसाबले नै गरिन्छ । चार पैसा (अहिले सिक्का पैसा), बाख्राको सपेटो र जाँड समेतको व्यवस्था गरी बेहुलाबेहुलीको कुरा टुंगो लगाउने काम हुन्छ । स्थानीय मंगले थामीले विवाह नै नगरे पनि जारी तिर्नुपर्नाका कारण बताउँदै भने, ‘त्यसमा पैसा खर्च हुन्छ नि ख्याल ख्याल त गरेको हैन । त्यही भएर जारी लाग्छ भन्या हो ।’ चारदाम जोर्ने बेलामा गाउँभरिका मानिस बोलाएर भोज दिने चलन समुदायमा छ । खर्चको हिसाबले उक्त कार्य पनि महँगो मानिन्छ ।
चारदाम जोर्ने काम थामी समुदायमा खर्चिलो देखिन्छ । कम्तीमा एउटा बाख्रो र एउटा खसी काट्नुपर्छ । सेल, पुरी र तरकारी बनाउनैपर्छ । कुरा छिन्ने मेसोमा गाउँभरिका आफन्तलाई बोलाएर मादकपदार्थसमेत खानुपर्छ । पूर्ववडा सदस्य थामी भन्छन्, ‘त्यसो गर्दा अहिलेको बजार भाउ अनुसार १ लाख ५० हजारसम्म खर्च हुन्छ । थामी समुदायमा विवाह नहुँदै सुन लगायतका गरगहना भने केटी पक्षलाई दिने चलन छैन । त्यसैले जारी रकम पनि धेरै हुँदैन । सक्नेले ५० हजारसम्म लिएको बताउँदै थामी भन्छन्, ‘नयाँ केटासँग पैसै छैन, दिनै नसक्ने रहेछ भने पनि २० हजारभन्दा घटीले मान्दैनन् ।’
दुई वर्षअघि गढीगाउँका शिवलाल थामीसँग तीनधारेकी बेली माझीको चारदाम जोर्ने काम भयो । तर चारदाम जोरेपछि बेली गढिगाउँकै अर्कै केटा रोजेर गइन् । उनलाई बेहुली बनाउने कान्छा थामीले शिवलाललाई जारी तिरे । रमाइलो त के भने कान्छाले बेलीलाई दुलही बनाउनका लागि फेरि चारदाम जोर्नुपर्यो । थामीहरू चारदाम नजोरी कर्म नचल्नेमा विश्वास गर्छन् । केटीले जति पटक विवाह गर्ने काम गरेमा त्यति नै पटक चारदाम जोर्नैपर्ने बाध्यकारी नियम समुदायमा छ । स्थानीय रवि थामी भन्छन्, ‘दोस्रो तेस्रो चारदाम जोर्दा कर्म अर्थात् विधि भने केही सहज हुन्छ, पहिलाको जस्तो लामो र खर्चिलो हुँदैन ।’
रामेछापको डडुवा थामीको प्रमुख बासस्थान हो । उक्त गाउँमा करिब ४ सय थामी परिवार छन् । वडामा प्रमुख संख्याका रूपमा रहेका थामीहरू अध्ययन र चेतनाको हिसाबले पछाडि छन् । दलित वडासदस्य मिठु विकका अनुसार पहिलेभन्दा धेरै सुधार भए पनि केही प्रथाहरू अझै बाँकी छ ।
थामी समुदायमा धेरैजसो भने जारी तिराउने कुराको विरोधमा बोल्दैनन् । ‘एउटा केटासँग चारदाम जोर्ने अनि अर्को सँग त जानु भएन नि,’ स्थानीय रवि थामीले भने, ‘नयाँ केटाले पुरानालाई चारदाम जोर्दाको खर्च दिनुपर्छ, त्यसैले हाम्रो समुदायमा जारी प्रथा हटेको छैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।





















प्रतिक्रिया