Logo

प्रमुख समाचार

संसदीय चुनावपछि पनि माओवादी नै निर्णायक भूमिकामा



काठमाडौं । नेपालको राजनीतिमा नेकपा आमोवादी केन्द्र तेस्रो ठुलो दल हो । संसदमा रहेका सांसद संख्याको हिसाबले पनि र हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामको हिसबले पनि माओवादी देशको तेस्रो शक्ति हो । संसदमा रहेको सिट संख्याको आधारमा नेकपा एमाले पहिलो पार्टी हो भने स्थानीय तहको निर्वाचन परिणाम अनुसार कांग्रेस पहिलो पार्टी हो ।

२०७४ को आम निर्वाचनमा माओवादीले एमालेसँग एकता गरेको थियो, भने यो स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको थियो । यसरी विश्लेषण गर्दा हाल नेपालको राजनीतिमा माओवादीले जसलाई साथ दिन्छ त्यो पार्टी पहिलो पार्टी बन्छ । तर माओवादी आफै भने कुनै पनि रणनीतिबाट पहिलो पार्टी बन्ने अवस्था छैन् ।

अबको प्रदेश र संघको चुनावमा माओवादी कांग्रेस र एमालेलाई आफ्नो हित अनुकूल प्रयोग गर्न चाहन्छ । माओवादी नेतृत्वको अस्थिर स्वभावले गर्दा पनि आउँदो निर्वाचनमा माओवादी कतापट्टि जान्छ भनेर भनिहाल्ने अवस्था भने छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफुले संविधान र गणतन्त्रको रक्षाको लागि देशको आवश्यक्ता अनुसार राजनीतिमा अन्य पार्टीसँग तालमेल वा सत्ता साझेदारी गर्दै आएको दाबी गर्दै आएका छन् ।

निर्वाचनमा एक्लै होमिनु भन्दा गठबन्धनमै जाँदा राम्रो प्रतिफल पाईन्छ भनेर सबै राजनीतिक दलहरुले प्रत्यक्ष रुपमा देखिसकेका छन् । त्यसो हुनाले अबको निर्वाचनमा कुनै पनि हालतमा गठबन्धनलाई फुटाउने दाउमा एमाले छ । त्यसो त नेपाली कांग्रेसलाई पनि धेरै सिट जित्नका लागि गठबन्धन अत्यन्त आवश्यक छ । कांग्रेस गठबन्धनका दलहरुलाई विच्काउन चाहँदैन । माओवादी र एमाले छाडेर भर्खरै गठन भएको पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीले भने कांग्रेससँग भागभण्डा नमिले एमालेसँग मिल्ने चेतावनी दिन थालेका छन् ।

प्रचण्ड र नेपाल दुबैले आफूहरुलाई प्रधानमन्त्री बनाउने आश्वासन एमालेले दिएको पनि बताउन थालेका छन् । एमालेका नेताहरुले भने एमालेबाट कसैलाई पनि प्रधानमन्त्री अफर नगरिएको प्रष्ट्याएका छन् । एमालेले प्रचण्ड-माधवमध्ये एकलाई प्रधानमन्त्री बनाएर वाम गठबन्धन परिकल्पना गरेको हो या गठबन्धनमा ठूलो भाग पाउनको लागि प्रचण्ड-नेपालको रणनीति हो ? यो प्रष्ट भएको छैन ।

वामपन्थी दलहरु एकले अर्कालाई वामपन्थी सिद्धान्तमा नरहेको आक्षेप लगाइरहँदा छिट्टै वाम गठबन्धन हुन नसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

केही दिन अगाडिको सार्वजनीक कार्यक्रममा प्रचण्डले कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखाउन खोजेमा ठेगान लगाउने चेतावनी दिएका थिए । यो भनाइने कांग्रेसले आफूहरुलाई चित्त बुझ्दो हिसाबले भागभण्डा नगरेका एमालेसँग फेरि मिल्न जाने भन्नेको प्रष्ट हुन्छ । किनभने माओवादी र एकिकृत समाजवादीले मात्रै कांग्रेस र एमालेलाई ठेगान लगाउन सक्के हैसियत छैन ।

नेपाली कांग्रेसलाई भने जसरी पनि पाँच दलिय सत्ता गठबन्धन टिकाउनु छ । यदि गठबन्धन टुटिहाल्यो भने आफ्नो नेतृत्वको सरकार पनि ढल्छ र निर्वाचनमा पनि हार व्यहोर्न पर्छ । खासगरि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा ‘स्थानीय आवश्यक्ताको आधारमा गठबन्धन गर्ने’ भनेर स्थानीय तहमा चलाखीपूर्ण तरिकाले सत्ता र गठबन्धन दलको प्रयोगबाट धेरै सिट जिते जसरी आगामी आम निर्वाचनमा पनि सत्ता र गठबन्धनलाई नछाडि फाइदा लिने दाउमा देखिएका छन् । निर्वाचनमा धेरै सिट जित्न गठबन्धन नै चाहिने देउवाले बताउँदै आएका छन् । गठबन्धन टुट्न भन्दा पनि अझै बढी वाम गठबन्धनको डर कांग्रेसमा देखिएको छ । अझै केही समय वाम गठबन्धन नहुँने हो भने सत्ता कांग्रेसकै नेतृत्वमा हुने अनुमान छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने जसरी पनि गठबन्धन टुटाउन चाहान्छन् । तर सार्वजनिक कार्यक्रमहरुमा भने अहिले वाम गठबन्धन सम्भव नभएको अभिव्यक्ति दिँदै आएका छन् । आज (शुक्रबार) नै पनि ओलीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको बताए । उनले सरकारमा रहेका दलहरु कुनै पनि वामपन्थी नरहेको टिप्पणी गरेका छन् । ओलीले स्थानीय निर्वाचनमा सिटका हिसाबले एमाले दोस्रो दल भए पनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दाबी पनि गरे । कुनै सिद्धान्त, विचारविना नै ६ दलले एमालेलाई हराउन नै गठबन्धन गरेको उनले बताए । ओलीले आगामी निर्वाचनमा एमाले बहुमतका साथ विजयी हुने दाबी पनि गरे ।

यसरी वामपन्थी दलहरु एकले अर्कालाई वामपन्थी सिद्धान्तमा नरहेको आक्षेप लगाइरहँदा छिट्टै वाम गठबन्धन हुन नसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । केही दिन अगाडि गठबन्धनको एक घटक जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सिद्धान्त र विचार नमिल्ने दलहरुको गठबन्धन हिलोको किलो भनेर सामाजिक सञ्जालमार्फत भनेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले खासगरि गठबन्धनमा नेपाली कांग्रेससँग अन्य दलहरुको नीति, सिद्धान्त र विचार नमिलेकोले गठबन्धनमा असजिलो भैरहेको उनको धारणा छ ।

नेपालको राजनीतिमा कांग्रेस र एमालेलाई निर्वाचन जित्न र सरकार बनाउन माओवादी, नेकपा एस, जसपा लगायतका साना दलहरुको सधैँ आवश्यक्ता परिरहने छ । यसरी सरकार बनाउने तेस्रो, चौँथो दलहरु निर्णायक हुँदा नेपालमा अस्थिरता कायमै रहेने देखिएको छ । आगामी निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउने सम्भावना देखिएको छैन । फलस्वरुप तेस्रो शक्ति माओवादी केन्द्र नै फेरि पनि सत्तामा निर्णायक बन्ने देखिन्छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार  ५ : ३३ बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।