Logo

प्रमुख समाचार

रवि लामिछानेसँग गगन थापाको गोप्य छलफल, कांग्रेस प्रवेशको तयारी



चर्चित संचारकर्मी एवं ग्यालेक्सी फोर के टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछानेले एकाएक संचारकर्मबाट बिदा भएर राजनीतिक मैदानमा हाम फाले पछि यस बिषयको चर्चा परिचर्चा व्यापक रुपले भइरहेको छ ।

केहि महिना अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ग्यालेक्सी फोर के टेलिभिजनको सुरुवात शुभारम्भ गरेका लामिछाने मिडिया मालिक भएको स्वाद राम्रोसँग नचाख्दै मिडिया यात्रालाई बिट मार्दैै पूर्णकालिन राजनीतिको यात्रामा होमिएका छन् ।

संयोग कस्तो भने बिवीसीमा लामो समय काम गरेर बैकल्पीक राजनीति गर्छु भनेर होमिएका रविन्द्र मिश्रले राजनीतिबाटै हात धुनुपर्ने अवस्था आएको बेलामा मिडिया पृष्ठभूमिबाटै उदाएका रवि लामिछाने राजनीतिको मैदाानमा छिरेका छन् । उनको यात्रा अब कसरि अघि बढ्ला भन्ने आम चासो सबैतिर देखिएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुको पक्षमा देखिएको माहोल र आएको परिणामलाई हेरेर पनि रवि राजनीतिमा यहि बेला मोडिएको चर्चा र विश्लेषण पनि पर्याप्त मात्रामा भइरहेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने तयारी सहित उनले संचारकर्म छोडेको अनुमान गरिएको छ । तर यहि बीचमा आएको अर्को खबरले भने सबैको ध्यान खिचेको छ ।

रवि लामिछाने स्वतन्त्र चुनाव लड्लान् या आफैँ पार्टी खोल्लान् या अन्य कुनै पुरानै पार्टीमा प्रवेश गर्लान् ? यो अहिले सबैको खोजिको र चासोको बिषय बनेको छ । पूर्णकालिन राजनीतिमा हाम फालेको दिन उनले आफ्ना सबै योजनाहरु असार ७ गते राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरेर जानकारी गराउँने भनेका छन् ।

आँखै अगाडि रविन्द्र मिश्रहरुको बिजोग देखेका रविले फेरि नयाँ पार्टीको यात्रा गर्लान् भन्ने धेरैलाई लागेको छैन तर स्वतन्त्र उमेदवारी दिएर प्रतिनिधीसभामा छिर्न सक्छन् भन्ने अनुमान भने धेरैले गरेका छन् । यो दुवै नगरेर उनले तेस्रो अप्सन रोज्न सक्ने चर्चा पनि चल्न थालेको छ ।

रविलाई नेपाली कांग्रेस प्रवेश गराउँने गरी पनि एउटा टीमले काम गरिरहेको सूचना बाहिरीयको छ । विशेष सुत्रबाट प्राप्त गरेको सूचना अनुसार यो बीचमा नेपाली कांग्रेसका महामन्त्री एव प्रतिनिधीसभाका सदस्य गगन थापाले उनीसँग पटक पटक भेट गरेका छन् ।

गगनले नयाँ पार्टी खोलेर यात्रा गर्न निकै कठिन हुने भन्दै पुरानै पार्टीलाई नयाँ बनाउँन सकिने भन्दै मिलेर काम गर्न प्रस्ताव गरेको दाबी गरिएको छ । राम्रो टीम मिलेर काम गर्ने भने पुरानो पार्टीलाई नै नयाँ बनाउन सकिने भन्दै सहयात्राको प्रस्ताव गरेको बताइन्छ । रविले भने बचन नदिएको खबर छ ।

कांग्रेस महामन्त्री थापा र रविबीच लामो समयदेखी निकट र आत्मीय सम्बन्ध रहँदै आएको छ । रविले टेलिभिजन कार्यक्रमबाट पनि गगनलाई घुमाउँरो तरिकाले प्रमोट गर्दै आएका थिए । गगनसँगकै सम्बन्धलाई ख्याल गर्दै काठमाडौँ क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारी गरेका रविले अरुनै क्षेत्र खोज्न थालेका छन् । अहिले उनले काठमाडौँ २ या ३ बाट माननीय बन्न आँखा लगाइरहेको बुझिएको छ ।

यता रविका ससुराको पार्टी राप्रपाबाट पनि पार्टी प्रवेशको लागि पटक पटक अफर गएको बताइएको छ । काठमाडौँबाट रोजेको क्षेत्रमा निर्वाचन लड्न प्रस्ताव गरिएकोमा यो प्रस्तावमा भने रविले ठाडै अस्विकार गरेको सुत्रहरुले दाबी छ ।

प्रकाशित मिति : असार २, २०७९ बिहीबार  ७ : ०५ बजे