Logo

प्रमुख समाचार

बालेनको घोषणाले सिसडोलबासीमा खुशियाली



काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको फोहारेको डम्पीङ साइट रहेको नुवाकोटको सिस्डोलबासीमा खुशियाली छाउँने खालको घोषणा गरेका छन् ।

फाहोरको दुर्गन्धले उठिबास लाग्न लाग्यो भनेर सरकारसँग रोइकराई गरिरहेका सिस्डोलबासीमा एकै पटक खुशिको बहार ल्याउँने गरि बालेनले नयाँ योजना अघि सारेका छन् । बालेनले सिस्डोलमा रंगशाला र पार्क बनाउँने योजना आफ्नो रहेको बताएका छन् ।

काठमाडौँको फोहोरको दिर्घकालिन व्यवस्थापन नगरि कुनै उत्सव पनि नगर्ने र खादा माला पनि नलगाउँने घोषणा गरेर दिनरात काममा खटिएका बालेनले यस्तो योजना अघि सारेका छन् । उनले यस सम्बन्धमा आवश्यक परामर्श पनि सुरु गरेका छन् ।

आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताए ।

उनले लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीको बर्चश्व रहेकोले स्थानीय खेलाडी टीम बनाउन लागिएको र त्यसका लागि रंगशाला पनि आवश्यक पर्ने बताएका थिए ।

‘महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरूट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेनले भने, ‘सिसडोलमा रहेको फोहोरलाई उचित ब्यबस्थापन गरेर सुन्दर रंगशाला र पार्क निर्माण गर्न चाहन्छौं ।’

काठमाडौंबाट सिसडोल करिब १२ किलोमिटरको दूरीमा छ । महानगरभित्रका ए डिभिजन क्लवलाई महानगरले बार्षिक १० लाख दिने गरेको छ । नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले बताए ।

‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं । सुशासन, आर्थिक पारदर्शीता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौं,’ उनले भने ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ३ : १३ बजे