Logo

मधेश प्रदेश

बारामा एक घरबाट लाखौंको सुनका गहना चोरी



काठमाडौं । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी गोविन्द खरेलको घरमा मंगलबार दिउँसो चोरी भएको छ । चोरहरूको समूहले खरेलेको घरको मूल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो ।

घरमा राखिएको करिब २५ तोला सुन र १ लाख रुपैयाँ चोरी भएको खरेलले जानकारी दिए । घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरूले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उनले बताए ।

आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले बताए । घरको मूल ढोकाको ताल्चा फोरेर भित्र पसेका चोरहरूले कोठा–कोठा चहार्दै निर्धक्कसँग सुनका गहना खोजेर लगेको उनले बताए ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मगंलबार दिउँसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  १० : १८ बजे