Logo

राजनीति

न्यायाधीश–अधिवक्ता घुस ‘डिल’ प्रकरण : छानबिनका लागि तीन सदस्यीय समिति गठन



काठमाडौं । ठगी आरोपित ईच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको १० करोड घुस ‘डिल’ प्रकरणबारे जिल्ला न्यायाधीशमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। बुधबार बसेको न्यायपरिषद्को बैठकले तीन सदस्यीय समिति गठनको निर्णय गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिनका लागि न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको कानुन मन्त्री गोविन्द प्रसाद शर्माले जानकारी दिए ।

न्युज २४ टिभीले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रशारण गरेको थियो। आफूबाट कुनै अनुचित काम नभएको न्यायाधीश कोइरालाले भने दाबी गरेका छन् ।

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराजलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी रुद्र पोखरेलबीच कुराकानी भएको हो ।

न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ४ : २३ बजे