Logo

प्रमुख समाचार

लोकसेवा विषेशः उत्तरपुस्तिका बुझाउँदा के कुरामा ध्यान दिने ? (अङ्क–२७)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको विशेष

अन्तिम समयमा लोकसेवाको तयारी गर्दा केही नमुना प्रश्नपत्र विज्ञलाई बनाउन लगाएर ती नमुना प्रश्नपत्रको उत्तर कति समयभित्र लेख्न सक्छु भनेर प्रयास गर्नुपर्छ  ।
जस्तै– आज परीक्षा छ भने तीन घन्टामा सबै प्रश्नलाई यति समय दिन सक्छु भनेर परीक्षार्थीले समयलाई व्यवस्थापन गर्न सक्नुपर्छ ।

सिलेबसमा केन्द्रित भएर सरसर्ती एकपटक सबै प्रश्नलाई पढ्नुपर्छ । त्यसैगरी, मुख्य–मुख्य कुरालाई थप समय दिनुपर्छ  ।
भोलि परीक्षा छ भन्दैमा आत्तिनु हुँदैन, बरु पढेका कुरालाई सम्झेको छ वा छैन भनेर पुनः जाँच गर्नुपर्छ  ।

परीक्षा हलमा छिरेपछि परीक्षार्थीले लेख्ने कलम, कापी, प्रवेशपत्रलगायत आफूलाई चाहिने सामग्री छन् वा छैनन्, सो कुरालाई ख्याल गर्नुपर्छ  ।

परीक्षा हलमा छिरेपछि समय व्यवस्थापनको धेरै ख्याल गर्नुपर्छ । जस्तै– तीन घन्टाको परीक्षा दिनु छ भने यसका लागि कुन प्रश्नलाई नम्बरका आधारमा कति–कति समय व्यवस्थापन गर्न सकिन्छ भनेर अगाडि नै समय छुट्याउन सक्नुपर्छ  ।

प्रश्नको उत्तर लेख्दा सर्वप्रथम आफूलाई आउने प्रश्नको उत्तर सुरुमा लेख्नुपर्छ । कुनै प्रश्नको उत्तर आउँदैन भनेर आत्तिनु हुँदैन  ।

आफूलाई सहज र सरल लाग्ने प्रश्नको उत्तर सुरुमा लेख्नुपर्छ । आउने प्रश्नको उत्तर लेखिसकेपछि मात्र अप्ठ्यारो प्रश्नको उत्तर लेख्न समय व्यवस्थापन गर्नुपर्छ ।

सुरुमा केही प्रश्नको उत्तर लेखेपछि परीक्षार्थीमा हौसला, उत्साह तथा आत्मबल पनि बढ्छ र नआएको प्रश्नबारे सोचेर लेख्न केही मद्दतसमेत पुग्छ ।

परीक्षा हलमा गएलगत्तै नर्भस हुनुहुँदैन र उत्तर लेख्दा भावनात्मक कुरामा बहेर पनि लेख्नुहुँदैन । उत्तर लेख्दा तथ्य र तथ्यांकलाई समाएर मात्र लेख्नुपर्छ ।

अन्तिममा कापीमा आफूले लेखेका कुरालाई एकपटक चेक गर्नुपर्छ र सिम्बोल नम्बर पनि सही छ वा छैन भनेर हेर्नुपर्छ  ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ५ : ३० बजे