स्लोभाकिया
हवाइ कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडान सफल भएको छ ।
आवश्यक्ता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ ।
यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १ हजार किलोमिटरसम्म ८ हजार २ सय फिटको उचाइमा उड्न सक्छ । यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ ।
कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेन्ड समय लाग्छ ।
यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ ।
आमन्त्रित पत्रकाहरूको अगाडि प्राध्यापक क्लेनले विमानस्थलमा यसलाई अवतरण गरेपछि यसलाई धावनमार्गबाट सिधै सडकमा ल्याएर सहरभित्र लगे ।
सोमबार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भने ।
हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो ।
कुल २ सय किलोग्राम भार बोक्न सक्ने एयरकारमा दुईजना यात्रा गर्न सक्छन् ।
तर परीक्षणमै रहेको ड्रोन–ट्याक्सी जस्तो यो सिधा उड्न र बस्न सक्दैन र यसलाई धावनमार्ग चाहिन्छ ।
चलचित्र र कथाहरूमा थुप्रै देखाइने हवाइ कारलाई भविष्यको यातायातका रूपमा चित्रण गरिन्छ ।
सन् २०१९ मा मोर्गन स्ट्याने कम्पनीले हवाइ कारको बजार सन् २०४० मा १५ खर्ब अमेरिकी डलर बराबरको हुनसक्ने अनुमान गरेको थियो ।
मंगलबार एउटा कार्यक्रममा हुन्डाई मोटर्स युरोपका प्रमुख अधिकृत माइकल कोलले हवाइ कारको सोच ‘हाम्रो भविष्यको एउटा अंश’ रहेको बताएका छन् ।
क्लेन भिजनले दुई वर्ष लगाएर २० लाख युरोभन्दा कम खर्चमा एयरकार निर्माण गरेको बताएको छ ।
क्लेन भिजनका एक सल्लाहकार र लगानीकर्ता एन्टोन राजाकले एयरकारले वायुसेवा वा गाडी बिक्रीको सानो बजारमात्रै पाए पनि धेरै सफल हुने बताए ।
‘अमेरिकामा मात्रै ४० हजार विमानको माग छ,’ उनले भने ।
‘हामीले यसको ५ प्रतिशतमात्रै हवाइ कारमा ल्याउन सक्यौं भने हाम्रो लागि ठूलो बजार हुनेछ,’ उनी भन्छन् ।
वेस्ट अफ इंग्ल्यान्डमा विमान र हवाइ उड्डयन अध्ययनकर्ता डा.स्टेफन राइटले एयरकारलाई सानो निजी विमानको उत्तराधिकारी बताए ।
उनको विचारमा अन्य विमानको तुलनामा यी हवाइ कारहरू ठूलो आवाज निकाल्ने वा महँगो हुँदैनन् ।





















प्रतिक्रिया