Logo

प्रमुख समाचार

“के प्रेम आलेले १८ जना सांसद लिएर माधव नेपाललाई संसदीय दलको नेताबाट समेत हटाउन लागेका हुन् ?”



नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा एकीकृत समाजवादीले पठाएका मन्त्रीलाई शपथग्रहण गराउन तयार भएको बताएका छन् ।

एक टेलिभिजनमा कुरा गर्दै पाण्डेले यस्तो बताएका हुन् । उनल भने, “संसदीय दलको नेता हटाउने कुनै चलखेल भएको छैन । तपाईंले भनेका १८ जनाभित्र म पनि पर्छु । माधव नेपाल पनि पर्नुहुन्छ । यो सबै पार्टीलाई बदनाम गराउने र गठबन्धन टुटाउने षडयन्त्र हो । पार्टी पनि फुट्दैन, गठबन्धन पनि टुट्दैन ।”

उनले भने, “माधव नेपालले प्रधानमन्त्रीसँग सल्लाह गरेरै पार्टीबाट नयाँ मन्त्रीको नाम पठाउनुभएको हो । राष्ट्रिय सभामा बजेटको टुंगो लाग्नेबित्तिकै मन्त्री साथीहरु पनि फिर्ता हुनुहुन्छ, शपथग्रहण पनि हुन्छ । म बहालवाला मन्त्री साथीहरुसँग पनि सम्पर्कमै छु । उहाँहरु पनि नकारात्मक हुनुहुन्न ।”

मन्त्री फिर्ता गर्ने निर्णयबाट पार्टी ब्याक नहुने पनि उनले बताए । पाण्डेले भने, “मन्त्री फिर्ता गर्ने सचिवालयको निर्णय स्थायी कमिटीले अनुमोदन गरिसकेको छ । यसबाट पार्टी ब्याक हुँदैन । हामीले १८ दिन पर्खिसकेका छौं । प्रधानमन्त्रीले गठबन्धनको घटकको निर्णय मान्नुपर्छ । हामीले ठूलो जोखिम लिएर उहाँलाई प्रधानमन्त्री बनाएका हौं । प्रधानमन्त्री शपथग्रहणका लागि तयार हुनुहुन्छ । जोडकोण मिलाउन अलिकति ढिला भएको मात्र हो ।”

आगामी संघ र प्रदेशको चुनावमा गठबन्धनभित्र सिटको संख्या मिल्ला भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले थपे, हामी अहिले त्यो निर्णयको प्वाइन्टमा पुगेका छैनौं । संख्या तोकिसकिएको छैन । को उठ्दा जित्छ, उसलाई उम्मेदवार बनाउँछौं । तर प्रदेश र संघको चुनावसम्म गठबन्धन टुट्दैन ।”

महँगी बढ्नुमा व्यवस्थापकीय कमजोरी पनि देखिएको सांसद पाण्डेले औंल्याए । उनले भने, “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिरिस्थतिले महँगी बढेको हो । महँगी नियन्त्रणका लागि सरकारले विशेष योजना बनाउनुपर्छ।” साथै उनले बजेटको छलफल सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोगमाथि संसदमा छलफल हुने पनि बताए ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १ : ४७ बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।