Logo

प्रमुख समाचार

नेपाललाई पेट्रोल, डिजेल मुक्त क्षेत्र घोषणा गर्नु पर्ने गगन थापाको प्रस्ताव



प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हरेक दिन जस्तो पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि गर्न थालेपछि सत्तारुढदलकै सांसद गगन थापाले भने नयाँ प्रस्ताव गरेका छन् ।

कांग्रेसका महामन्त्री समेत रहेका थापाले देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउन लाग्नुपर्ने बताएका छन् । तत्कालका लागि चाहिँ कुनै विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य थप घटाउनु पर्ने बताए ।

शुक्रवार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले यो बेलामा प्रदूषण, सडक मर्मत करमा केही न केही घटाएर राहत दिनुपर्ने बताएका हुन् ।

‘नेपाललाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त देश बनाउन आजकै मितिबाट महत्त्वकांक्षी योजनाका साथ लाग्यो भने बाँच्छौँ हामी,’ थापाले भने, ‘अहिले कतै कर घटाउने भन्दा पनि यसको दीर्घकालीन उपाय भनेको यसबाट मुक्त अर्थात् पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउने हो ।’

महामन्त्री थापाले आयातित इन्धन विस्थापन गर्ने नीतिसँगै तत्कालका लागि चाहिँ मर्मत, प्रदूषण शुल्क घटाएर भए पनि मूल्य घटाउनुपर्ने बताए । ‘यो उपाय शुरू गर्ने हो, अहिलेको लागि आज १० रूपैयाँ घटाइएको छ, अन्य घटाउने ठाउँ छन् भनेर त्यहाँबाट घटाएर भए पनि राहत दिनका लागि आग्रह गर्न चाहन्छु,’ उनले भने ।

‘कोभिड र त्यसपश्चात् रुस र युक्रेनको युद्धको कारणले अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ,’ उनले भने, ‘यसले आउँदा दिन अझै चुनौतीपूर्ण हुने संकेत गरिरहेको छ ।’

प्रतिनिधिसभा सांसद समेत रहेका थापाले भारतले गर्ने निर्णयबाट नेपालको बजार प्रभावित हुने बताए।यसको आधारमा भारतले जस्तो निर्णय गर्छ त्यसले थप हाम्रो बजारमा प्रभावित गर्छ,’ उनले भने, ‘यसलाई हल्का रुपमा नलिनका लागि आग्रह गर्छु । यसले हाम्रो देश, समाज सबैलाई अस्तव्यस्त बनाउँछ । युद्धको जस्तो सोच राखेर काम गर्नपर्नेछ ।’

थापाले मन्त्रालयलाई देखाएर प्रधानमन्त्री र अर्थमन्त्री पन्छिन नहुने बताए । ‘मन्त्रालयलाई देखाएर पन्छाएर हुँदैन’, थापाले भने ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १ : ५१ बजे