Logo

राजनीति

प्रचण्डले भने : प्रधानमन्त्रीले मर्न तयार छु, तर एसपीपी सम्झौता गर्दिनँ भनेपछि ढुक्क भएँ



काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै जोडबलमा अमेरिकी सैन्य सम्झौता एसपीपीलाई गठबन्धन सरकारले अस्वीकार गरेको बताएका छन् । बिहीबार ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा उनले एसपीपी सम्झौता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सन् २०१५ मा अघि बढाएको पनि दाबी गरे।

‘एसपीपी सम्झौता २०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेला, उनै रक्षामन्त्री पनि भएको बेलामा एउटा सहमति गरेर अघि बढेको थियो’, उनले भने, ‘एसपीपी नेपालमा त्यतिबेलै प्रवेश गरेको रहेछ भन्ने कुरा प्रष्ट भएको छ।’ प्रचण्डले यसअघि रितबहादुर खड्काको स्मृति सभामा पनि आफूले यो कुरा बोलेको बताए। उनले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खण्डन गरेको केही घण्टामै ओलीको पालामा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको पनि बताए।

‘केपी ओली गुटका एकजनाले खण्डन गर्दै संसदमा प्रमाणित गर्न चुनौती दिएका थिए। तर दुई घण्टापछि पत्र नै फेला प¥यो’, उनले भने, ‘राष्ट्रघाती क्रियाकलाप सबै केपी ‌ओलीले नै गरेका हुन्। नेपाल सरकारको अनुमतिले नै यो चिठी लेखेको सेनाले भनेको छ। बोधार्थ रक्षा मन्त्रालय र गृहमन्त्रालयलाई दिएको छ। त्यो काम नेपाली जनतालाई सिल्ली ठान्ने बेइमानी हो ।’

उनले एसपीपी ठीक छैन भन्ने कुरा आफूले प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ गएर भनेको पनि उनले बताए। ‘एमसीसी भन्दा एसपीपी अगाडि बढेर आएको छ। नेपाल कुनै पनि खालको सैन्य सम्झौतामा सहभागी हुँदैन। यदि यो सम्झौता गर्नु भयो भने गठबन्धन दुर्घटनातिर जान्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको थिएँ’, उनले भने, ‘तर खुसीको कुरा, प्रधानमन्त्रीले बरु मर्न तयार छु तर यो सम्झौता गर्दिन भन्नुभो ।’

त्यसपछि गठबन्धन बसेर एसपीपी अस्वीकार गरौँ भनेको पनि बताए। एसपीपीविरुद्धको नेतृत्व माओवादी केन्द्रले नै गरेको उनको जिकिर थियो।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  २ : ३४ बजे