Logo

राजनीति

प्रदेश १ को ‘मुटु’ विराटनगरको साख जोगाउन डा. डिला संग्रौलाको माग



काठमाडौं । नोपली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले प्रदेश नं. १ को राजधानी विराटनगर एक राजनैतिक, औद्यौगिक र शैक्षिक हबको रुपमा रहेकाले यसको साख जगाउनेतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् । हिमाल पहाड र तराईको संगम स्थलको रुपमा रहेको प्रदेश १ को मुटुका रुपमा रहेको विराटगरलाई प्रदेशकै मोडलको रुपमा विकास गर्न सरकारसँग आग्रह गरेकी छन् ।

‘विश्वलाई चिनाउने सगरमाथा, कंचनजंघा जस्ता हिमशिखर र किराँत धर्मालम्वीहरुको थातथलो एवं समृद्धि र विकासका थुप्रै संभावनाहरु बोकेको यो प्रदेशले विकासमा फड्को अझै लिन सकेको छैन’, प्रतिनिधिसभाको विषेश सयम लिएर बोल्दै संग्रौलाले भनिन्, ‘हामीहरुले यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटन, कृषिजन्य वस्तुको उत्पादन र उद्योग व्यापारका क्षेत्रमा विकास गरी आत्मनिर्भर हुने अर्थ व्यवस्था बनाउन सक्दछौं । जलश्रोत, वन जंगल, जडीबुटी विभिन्न सम्पदाहरुको प्रशस्त संभावना भएको हुनाले यसलाई मोडलको रुपमा विकास गर्न सरकारसँग अनुरोध गर्दछु ।’

विद्यमान समस्याको हल गर्नका लागि विराटनगर महानगर र प्रदेशको बजेटले मात्र सम्भव नहुने भन्दै केन्द्रको दुरदृष्टि पुग्न जरुरी रहेको उनले बताइन् । ‘प्रजातान्त्रिक आन्दोलनको जग बसालेको हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैन खण्डहर बनेका छन् । मुलुकको पहिलो उद्योग जुटमिल बन्द छ । त्यहाँका मजदुर एवं कामदारहरु बिचल्लीमा छन् । औद्यौगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरु विषेश गरि सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण सुनसरी मोरङ्ग करिडोरका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग बचाउन सरकारले विषेश योजना संचालन गर्नुपर्दछ’, उनले भनिन् ।

यसैगरी कृषि अग्रणी प्रदेश भएर पनि कृषिमा आधारित उद्योग संचालन नहुँदा प्रदेशको ग्राहस्थ उत्पादनमा समेत कृषि क्षेत्रको योगदान घट्दो अवस्थामा पुगेको उनको छर्क छ । संग्रौलाले विराटनगर विमानस्थलको स्तरउन्नतिका लागि काम थाल्नसमेत सरकारको ध्यानाकर्षण गराएकी छन् । रोकिएको टर्मिनल भवनको निर्माणको प्रक्रिया तुरुन्त सुरु हुनु पर्ने र जग्गा रोक्का भई लामो समय देखि मुआब्जा नपाएका र सडक संघर्षमा उत्रिएका स्थानीयको माग पनि सम्बोधन हुनुपर्ने उनली बताइन् ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ४ : १५ बजे