विश्वका हिन्दु युवाहरुलाई एकजुट बनाइ धर्म रक्षाको अभियानमा लामबद्ध बनाउने उद्देश्य बोकेर स्थापना भएको भनिएको विश्व हिन्दु युवा संघमा भाँडभैलो मच्चिएको छ । संघका अध्यक्ष ऋषिकेश जंग शाहले संघलाई प्रयोग गरेर उद्देश्य विपरीतका कार्यहरु गरेपछि संघमा यस्तो अवस्था आएको आरोप लगाइएको छ ।
अध्यक्ष शाहले संघलाई व्यक्तिगत क्लब जस्तो बनाएर आफूखुसी गरेको र सुध्रिन धेरै पटक आग्रह गर्दा पनि नसुध्रिएको भन्दै संघका केन्द्रीय सदस्य तथा प्रवक्ता अनुराग शाहले राजीनामा दिएका छन् । उनको राजीनामापछि विवाद बाहिरिएको हो । प्रवक्ता शाहले अध्यक्ष शाहमाथि लामो समयदेखि संघको बैठक बसाल्न नसकेको, संघमा कति सदस्य छन् भन्ने लिखित जानकारी नभएको, कुनै अभिलेख नराखी सामाजिक सञ्जालमार्फत जथाभावी पद बाँडेर अवैधानिक काम गर्ने गरेको र धर्मको नाममा खुलेको संस्थाको दुरुपयोग गरेर धर्मको रक्षाभन्दा पनि गाँजा जोगाउन क्रियाशिल रहेको लगायतका आरोपहरु लगाएका छन् ।
हिन्दु धर्म रक्षाको खातिर खुलेको संघले गाँजा प्रबर्द्धनको एजेण्डा बोक्नु अवैधानिक हुने तर्क प्रवक्ता शाहको छ । अध्यक्ष शाहको गतिविधिले हिन्दु धर्मको मुद्दा थप कमजोर भएको महसुस गरेर आफूले राजीनामा दिएको उल्लेख उनले जनाएका छन् ।
अध्यक्ष शाह ठगी आरोपमा पक्राउ परेका व्यक्ति
नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेसको महासमिति सदस्य समेत भइसकेका ऋषिकेश जंग शाह ठगी आरोपमा २०७५ चैतमा पक्राउ परेका थिए । शाहले जापान र अमेरिका पठाइ दिन्छु भन्दै एक करोड ९७ लाख ठगी गरेको भन्दै सल्यानका युवायुवतीहरुले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
शाहसँगै पक्राउ पर्नेहरुमा रक्षा वैद्य, सुनिल प्रजापति र महेश्व राउत समेत थिए । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोडेको थियो । उक्त मुद्दा हालसम्म पनि विचाराधिन अवस्थामा छ । नेपाली कांग्रेस पार्टी र नेपाल विद्यार्थी संघमा राम्रै स्थान बनाइसकेका शाह ठगी काण्डमा मुछिएर मुद्दा समेत चलेपछि आफ्नो छविलाई सुधार्न हिन्दु धार्मिक अभियानमा लागेका आरोपसमेत उनीमाथि छ ।
शाह नेतृत्वको संघ नै ‘अवैध’
देशमा गणतन्त्रको स्थापनापछि हिन्दु राज्यको पुनर्स्थापना गराउने अभियान चलाउन भन्दै हिन्दुवादी संस्थाहरु च्याउसरी उम्रिएका छन् । त्यही सिलसिलाको निरन्तरता शाही नेतृत्वको विश्व हिन्दु युवा संघ पनि भएको खुलेको छ । उनको संघ कतै पनि दर्ता छैन ।
यो नामको संघ सागर थापाको नाममा २०५८ साल मंसिर १३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको देखिएको छ । जसको दर्ता नं. ३२८ छ । संघका अध्यक्ष थापाले सम्पूर्ण पक्रिया पूरा गरेकोले आफू र आफ्नो संघ आधिकारिक रहेको दाबी गरेका छन् । उनले भने, “हाम्रो संघले ऋषिकेश जंग शाह र उनको समूहलाई चिन्दैन । धर्म रक्षा हाम्रो अभियान हो, गाँजा प्रबर्द्धन अभियान हाम्रो होइन ।”
शाह नेतृत्वको संघ विश्व हिन्दु महासंघ, कलंकीको बैठकको निर्णयबाट जन्मिएको बुझिएको छ । महासंघका महासचिव गणेश न्यौपानेले महासंघको बैठकको निर्णयबाट शाहलाई संघ चलाउन दिएको जानकारी दिए । गाँजालाई बहुमुल्य जडिबुटी रहेको बताउँदै महासचिव न्यौपानेले शाहलाई त्यसको प्रबर्द्धन गर्न भने नदिएको बताए ।
समानान्तर संघ बनाउन पाइँदैन : प्रशासन
संघसंस्था दर्ता ऐन २०३४ ले समानान्तर नाममा संस्था सञ्चालनको परिकल्पना गरेको छैन । सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, सैद्धान्तिक, शारीरिक, आर्थिक, व्यावसायिक तथा परोपकारी कार्यहरुको विकास एवं विस्तार गर्ने उद्देश्यले स्थापना भएको संघसंस्था, क्लब, मण्डल, परिषद्, अध्ययन केन्द्र आदि उद्देश्य बोकेका संस्थाहरु उक्त ऐन बमोजिम दर्ता भएका हुन्छन् । संस्था दर्ता गर्नुपूर्व संस्थाको नाम, कार्यालय ठेगाना, प्रबन्ध समितिका पदाधिकारीहरुको नाम, ठेगाना र पेशा, आर्थिक श्रोतलगायतका कुराहरु स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने ऐनले व्यवस्था गरेको छ ।
ऐनमा जुन उद्देश्यले स्थापना गरिएको हो, सोही बमोजिमको कार्य गर्नु पर्ने उल्लेख छ । ऐन अनुसार स्थापना भएको संस्थाले शाखा कार्यालय विस्तार गर्न सक्छ तर अरुसँग मिल्दो जुल्दो संरचना बनाउन पाउँदैन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले संघसंस्था ऐन बमोजिम विधानमा उल्लेख गरिएकोबाहेक अन्यत्र गतिविधि गर्न नपाउने बताए । कुनै संघहरु भए सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने अधिकारीको भनाइ छ ।
प्रतिक्रिया