१. लोहोरो पाकेन महाशय छिट्टै पोल्दिनु पर्यो ।
मौज्दातविना भुक्तानी दिने बैंक खोल्दिनु पर्यो ।।
महङ्गीले थलिएका छन् सब जनताहरु
लौन सरकार ! अब त केही बोल्दिनु पर्यो ।।।
२. न घाम, न पानी छेक्ने छाना जस्तै ।
सामल सिद्धिएको आखिरी छाक खाना जस्तै ।।
अभावसँग पौठाजोरी खेल्न नसकिने भो सरकार !
बचत विनाको चेकको अन्तिम पाना जस्तै ।।।
३. गमलामा धान रोपेर कृषक बन्छ मेरो देश ।
खाडीमा युवा पठाएर समृद्ध भन्छ मेरो देश ।।
केबल अभिनयमै बिताएर पाँच वर्ष
कठै ! अर्को चुनावको मिति पर्खिन्छ मेरो देश ।।।
४. लाटा ठानिएका जोड जोडले बोल्न थालेपछि ।
प्रत्येक घरले अनयासै ढोका खोल्न थालेपछि ।।
समय र सत्ता फेरिन कति पो लाग्छ र ?
समान पीडाले सबैलाई पोल्न थालेपछि ।।।
५. भनिदेऊ देश तिमीहरू विना नि चल्न सक्छ ।
थोपा–थोपाबाट पनि पत्थर गल्न सक्छ ।।
बस् ! समय आउनु मात्र पर्छ/पर्खिनु पर्छ
मनको आगोले पनि तिम्रो सिंहासन जल्न सक्छ ।।।
दुर्गा प्रसाद अधिकारी प्राध्यापक हुन् ।
















प्रतिक्रिया