Logo

अचम्म

१२औं पटक डिभोर्स, अझै नयाँ साथीकाे खोजीमा यी महिला



एजेन्सी । अमेरिकामा बस्ने एक महिलाको जीवनमा यस्तो अकल्पनीय घटना भएको छ । ती महिलाले ११ पटक बिहे गरिसकेकी थिइन् र उनको सबैसँग डिभोर्स भैसकेको थियो । उनले पछिल्ला दिनमा १२औं बिहे गर्ने कोसिस पनि गरिन् तर बाह्रौं बिहेचाहिं इन्गेजमेन्टमै पुगेर टुंगियो ।

डेलीस्टारको रिपोर्ट अनुसार ५२ वर्षकी मोनेट डियासको जीवनमा यस्तो घटना भएको हो । पेशाले इन्टेरियर डिजाइनर रहेकी मोनेटले ११ वटा बिहे र एउटा इन्गेजमेन्ट गरेर पनि अहिले एक्ली छिन् । उनी एकल आमा हुन् ।

मोनेटकी बहिनी मार्सीका अनुसार जब उनकी दिदी मोनेटले दुई/तीन वटा बिहे गरिन् त्यतिबेलासम्म त उनीहरूलाई सामान्य नै लागेको थियो र उनको भविष्यबारे कुनै पनि चिन्ता थिएन । तर मोनेटको डिभोर्सको शृङ्खला रोकिएन ।

बिहे गर्ने र डिभोर्स गर्ने क्रम चलिरहँदा उनको ११औं बिहे पनि टुट्यो । अब चाहिं उनको (मोनेट) जीवनमा कुनै पनि पुरुष लेखेको रहेनछ भन्ने बहिनी मार्सीलाई लागेको छ ।

रिपोर्ट अनुसार ११औं पतिबाट अलग भएसँगै नयाँ पार्टनरको खोजीमा मोनेट टिएलसी टेलिभिजनको रियालिटी शो ‘Addicted to Marriage’ मा गएकी थिइन् ।

टेलिभिजन सिरिजमै उनको भेट जोनसँग भयो । केही समयपछि दुई जनाबीच इन्गेजमेन्ट भयो । दुवैको सम्बन्ध ठीकै चलिरहेको थियो तर अचानक उनीहरूको ब्रेकअप भयो ।

जोनसँगको ब्रेकअप आफ्ना लागि निकै कठिन रहेको मोनेट बताउँछिन् । आफूले जोनलाई निकै माया गर्ने गरेको र सम्बन्ध जोगाउनका लागि धेरै प्रयास गरेको भए पनि सफल नभएको उनी बताउँछिन् ।

१२औं पटकसम्म ब्रेकअप भए पनि मोनेटको आशा अझै मरेको छैन । एकदिन सच्चा साथी अवश्य भेटिने उनको अभिलाषा छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १३:१८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।