Logo

प्रमुख समाचार

प्रचण्डलाई कचौरा थापेको भिखारी भनेका धनराजको यसरी भयो युटर्न



काठमाडौं । ३० वैशाखमा स्थानीय तहको चुनाव हुनुभन्दा अगाडि उपसभापति धनराज गुरुङ कांग्रेसले एक्लै चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा थिए ।

त्यतिबेला गठबन्धनको घनघोर विरोध गरेका उनले माओवादी र नेकपा एसलाई कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्ने चमेराहरु भन्दै तिखो आलोचना गरेका थिए ।

चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै उनले कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरू ओत लाग्न खोजिरहेको टिप्पणी गरेका थिए ।

‘कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किँन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किँदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरू हात्तीको कानमा ओत लाउन खोज्दै छन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउँछन् । त्यसैले जनताबिच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा’, गुरुङले भनेका थिए ।

यतिमात्रै हैन अर्को एक कार्यक्रममा गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कचौरा थापेर कांग्रेससँग सिट माग गरिरहेको भिखारीको संज्ञा पनि दिएका थिए ।

कांग्रेसकै उपसभापतिको तहबाट यस्तो टिप्पणी भएपछि प्रचण्डले दम्भ नदेखाउन चेतावनी दिएका थिए । दम्भ देखाए कसैलाई पनि फाइदा नहुने उनको भनाइ थियो ।

खैर स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने निर्णय कांग्रेसमा भयो । माओवादीले आफ्नो सिटमा पहिलेभन्दा सुधार गर्दा कांग्रेस एमालेलाई पछि पार्दै पहिलो पार्टी बन्न सफल भयो ।

तर जसै स्थानीय तहको चुनावको परिणाम आयो माओवादी र नेकपा एस गठबन्धनले कांग्रेसलाई मात्रै फाइदा भएको भन्न थाले । उनीहरु वामएकताको पनि प्रयासमा छन् ।

यहीबीच पहिले प्रचण्डलाई भिखारी र चमेराको संज्ञा दिने कांग्रेस उपसभापति गुरुङ भने अहिले आफ्नो अडानबाट युटर्न भएका छन् । उतिबेला गठबन्धनको चर्को विरोध गरेका गुरुङ अब गठबन्धन टुटे मुलुककै लागि अनिष्ट हुने खतरा देख्न थालेका छन् ।

आज काठमाडौंको अनामनगरमा आयोजित एक कार्यक्रममा गुरुङले गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने भन्दै मुनमुटाव नगर्न सहयात्री दलहरुलाई आग्रह गरे ।

गठबन्धन रुपी जहाजको सेफल्याण्डिङ चुनावपछि मात्रै हुने उनले बताए । सत्ता गठबन्धनमा रहेका दलहरुलाई एउटै जहाजमा सवार यात्री भन्दै उनले अहिले गुनासो गर्ने बेला नभएको बताए । ‘जहाज चढिसक्यौँ । जहाज उडिसकेको छ । जहाज आकाशमा छ । जहाज ल्याण्डिङ भएको छैन’, उनले भने, ‘साढे १० हजार माथि उडिरहेकाले प्याराशुट गर्न पनि सम्भव भएको छैन । प्याराशुट जम्प गर्दा पनि खुट्टा भाचिन्छ कि भन्ने त्रासदी छ ।’

ल्याण्डिङ गर्ने बेलामा कांग्रेस इमान्दार भएन भन्ने सुनिएको भन्दै उनले अगाडि भने, ‘आकाशमा उडिरहेको जहाजभित्र हामीले झगडा सुरु गर्‍यौँ भने जहाजले सेफल्याण्डिङ गर्न सक्दैन ।’

माओवादी र नेकपा एसको साथ नपाए आफूले संसदीय चुनाव जित्न मुस्किल हुने देखेपछि गुरुङ गठबन्धनको पक्षमा आएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  ७ : ५३ बजे