Logo

प्रमुख समाचार

को बन्दैछन् माओवादी महासचिव ? खुमलटारमा भइसक्यो सहमति



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि महासचिवसहित पार्टीका सबै पदाधिकारीको नाम केद्रीय समिति बैठकमा घोषणा गर्ने भएका छन् । प्रचण्डले सुनाएको सूची ध्वनी मतले पारित गर्ने तयारी छ ।

आज खुमलटारमा भएको छलफलमा पार्टीका शीर्ष नेताहरूको सहमतिमा प्रचण्डले महासचिवसहित सबै पदाधिकारीको नाम टुंगो लगाएर भोलि केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गर्ने सहमति जुटेको हो ।

माओवादीको महासचिवका लागि मुख्यगरी जनार्दन शर्मा र वर्षमान पुनको दाबेदारी छ । दुवैले एक अर्काका लागि त्याग गर्न नसकेको अवस्थामा विकल्प स्वरुप पम्फा भुसाल, गिरीराजमणि पोखरेल लगायतका नेताहरूको नाममा सहमति जुटाउन सकिने सम्भावना पनि बढेर गएको छ ।

शर्मा र पुनले आफूलाई सजिलो हुने गरी महासचिव चयन गर्न प्रचण्डलाई भनिसकेका छन् । यसो हुँदा महासचिव चयन गर्न प्रचण्डलाई सजिलो भएको ठानिएको छ ।

सहमति नभए चुनाव गरेर भए पनि पदाधिकारी टुंगो लगाउन नेतृत्वलाई केन्द्रीय सदस्यहरूले दबाब दिएका थिए ।

तर आज शीर्ष नेताहरूको भेलाले चुनाव भन्दा पनि सहमतिमै जोड दिने निष्कर्ष निकालेका कारण पनि प्रचण्डलाई सजिलो भएको हो ।

पदाधिकारीमा सहमति जुटाउनकै लागि प्रचण्डले आज केन्द्रीय समितिको बैठक रोकेर भोलि दिउँसो १ बजेलाई सारेका थिए ।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  ८ : ५५ बजे