Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–४२)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।

१. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा कहिले उद्घाटन गरियो ?

उत्तर– वि.सं. २०७९ जेठ २

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको ।

२५६६औँ बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको उद्घाटन कार्यक्रममा बिहान ६ बजेर ३० मिनेटमा काठमाडौँबाट ७५ यात्रु लिएर आएको नेपाल एयरलायन्सको न्यारो बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको । त्यसपछि बिहान कुवेतबाट १७८ यात्रु लिएर आएको जजिरा एयरलायन्सको न्यारो बडी जहाज ७ बजेर ७ मिनेटमा अवतरण गरेको ।

कुवेतको जजिरा एयरलायन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान गरेको ।

यो विमानस्थल सञ्चालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विमान अवतरण गर्न नसकेको अवस्थामा अन्य देशको विमानस्थलमा जानुपर्ने बाध्यता हटेको ।

विमानस्थल र उडान सुरक्षाका लागि आवश्यक अत्याधुनिक उड्डयन उपकरण आईएलएससहितको यस विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग रहेको ।

यो विमानस्थलमा बोइङ ७७७, एयर बस ३३० र त्यस्तै क्षमताका वाइङ बडी अवतरण गर्न सक्ने ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन तथा प्राधिकरणले तोकेको मापदण्डअनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७९ वैशाख २१ गते प्रमाणीकरण गरिसकेको ।

यस विमानस्थलको यान्त्रिक परीक्षण वि.सं. २०७८ फागुनमा गरिएको ।

२. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लुम्बिनी भ्रमण कहिले भएको हो ?

उत्तर– २०७९ जेठ २

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा २०७९ जेठ २ मा २५६६औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीको भ्रमण भएको । सो अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुवै देशका प्रतिनिधिबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएको ।

नेपाल र भारतबीच भएका समझदारी

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)बीच डा. अम्बेडकर चेयर फर बुद्धिस्ट स्टडिज स्थापना गर्ने समझदारी

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआरबीच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना गर्ने समझदारी ।

काठमाडौँ विश्वविद्यालय र आईसीसीआरबीच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना गर्ने समझदारी ।

केयू र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहकार्य गर्ने समझदारी ।

केयू र आईआईटीएमबीच स्नातकोत्तर तहको संयुक्त शैक्षिक कार्यक्रम चलाउने सहमति ।

अरुण ४ परियोजना विकास र कार्यान्वयनका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमबीच समझदारी ।

३. नेपालमा कोरोनाविरुद्धको पहिलो खोप कसलाई दिइएको हो ?

उत्तर– डा. सागर राजभण्डारी

४. व्यावसायिक कफी खेती सर्वेक्षण (२०७५) अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ?

उत्तर– काभ्रेपलाञ्चोक

सो सर्वेक्षणअनुसार दोस्रो र तेस्रो स्थानमा क्रमशः स्याङ्जा र सिन्धुपाल्चोक रहेका ।

सर्वेक्षणमा ५० बोटभन्दा धेरै खेती गर्ने कृषकलाई व्यावसायिक खेती गर्ने कृषकका रूपमा सूचीकृत गरिएको ।

सर्वेक्षणअनुसार कफी खेती गर्ने किसान ६३४६ रहेका ।

कफी उत्पादनमा बागमती प्रदेश पहिलो स्थानमा रहेको ।

तथ्याङ्क विभागका अनुसार ७७ जिल्लामध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको ।

५. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

उत्तर– भीमशमशेर

६. लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य बासस्थान कहाँ हो ?

उत्तर– बाटुलेचौर, कास्की

७. काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?

उत्तर– वि.सं. १९५१ (वीरशमशेको पालामा)

८. सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनः संरचना समन्वय समितिको संयोजक को हुने प्रावधान छ ?

उत्तर– मुख्य सचिव

९. जलवायु परिवर्तनविरुद्ध सन्देश दिने उद्देश्यका साथ सगरमाथाको सफल आरोहण गर्ने गायक को हुन् ?

उत्तर– राजु लामा (२०७९)

६५०० मिटर उचाइको क्याम्प ३ मा उनले साङ्गीतिक प्रस्तुतिसमेत दिएर नयाँ कीर्तिमान कायम गरेका ।

उनी मङ्गोलियन हार्ट ब्यान्डका चर्चित गायक हुन् ।

१०. आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ ‘आठपहरिया सङ्ग्रहालय’ कहाँ निर्माण गर्न थालिएको छ ?

उत्तर– धनकुटा

११. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

उत्तर– सुवानन्द दास

१२. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

उत्तर– वि.सं. २०७४ मङ्सिर १

१३. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?

उत्तर– वि.सं. २०६४

१४. नेपालकै ठूलो विद्युतीय सब–स्टेसन कहाँ रहेको छ ?

उत्तर– धनुषाको ढल्केबर

चार सय केभीको यो सब–स्टेसन वि.सं. २०७७ माघ १९ मा उद्घाटन गरिएको ।

यो सब–स्टेसन निर्माण सकिएपश्चात् ढल्केबर मुजफ्फरपुर लाइनसहित सञ्चालनमा आएको ।

यो सब–स्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ४००÷२०० केभी रियाक्टर जडान गरिएको ।

चार सय केभी सब–स्टेसनबाट करिब नौ सय मेगावाट विद्युत् चार सय केभी र २२० केभीमा आदानप्रदान गर्न सकिने ।

यो सब–स्टेसन नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको ।

१५. सङ्खुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ?

उत्तर– वि.सं. २०७९ जेठ २

सङ्खुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सो सहमति भएको । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले हस्ताक्षर गरेका । प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणबमोजिम सरकारी स्वामित्वका संस्थाको संयुक्त लगानीमा अरुण–४ को निर्माण अगाडि बढाउन लागिएको ।

खङ्खुवासभामा बग्ने अरुण नदीमा पहिचान गरिएको यो आयोजनाको कुल क्षमता ४९०.२ मेगावाट हुने प्रारम्भिक अध्ययनले देखाएको ।

यो नेपाल र भारतका सरकारी निकायको संयुक्त लगानीको पहिलो जलविद्युत् आयोजना हो ।

यसमा प्राधिकरणको ४९ प्रतिशत र सतलजको ५१ प्रतिशत सेयर स्वामित्व रहने तय भएको ।

सतलजले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ भने ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने अनुमति पाएको ।

सतलज भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम कम्पनी हो ।

गत चैतमा सम्पन्न प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्रबमोजिम सरकारी स्वामित्वका संस्थाहरूको संयुक्त लगानीमा अरुण–४ जलविद्युत् आयोजना बनाउन लागिएको ।

समझदारीअनुसार अरुण–४ बाट नेपालले २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउने ।

उत्पादित विद्युत् नेपालमै खपत गर्न सक्ने अवस्था रहेमा विद्युत् प्राधिकरणलाई नै किन्ने अधिकार प्राप्त हुने । नेपालले खपत नगरेमा मात्र भारत अथवा बङ्गलादेशमा निर्यात गरिने ।

आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्न र आवश्यक पर्ने ऋण जुटाउन प्रवद्र्धक कम्पनीका तर्फबाट सतलज जलविद्युत् निगमले नै हल गर्ने प्राधिकरणले जनाएको ।

आयोजनाको अहिले जडित क्षमता ४९०.२ मेगावाट पहिचान भए पनि डिजाइन परिवर्तन गर्दा आयोजनाको क्षमता ६९५ मेगावाट पुग्ने प्राधिकरणले जनाएको । यसो हुँदा नेपालले १५२ मेगावाट (२१.९ प्रतिशत)सम्म विद्युत् निःशुल्क पाउन सक्ने ।

विद्युत् विकास विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमनित लागत करिब ७९ अर्ब १२ करोड रुपियाँ रहेको ।

आयोजनाबाट वार्षिक औसत दुई अर्ब १४ करोड युनिट ऊर्जा उत्पादन हुने ।

प्राधिकरणले पाउने ४९ प्रतिशत सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित जिल्लावासी र १५ प्रतिशत सर्वसाधारणलाई दिइने ।

त्यस्तै, आयोजनाको लाइसेन्स लिँदा प्राधिकरणले तिरेको करिब ५१ करोड रुपियाँ र योसँगै जोडिएका अन्य खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा प्राधिकरणको सेयर लगानीमा पुँजीकरण हुने ।

समझदारीअनुसार १० दिनभित्रमा आयोजनाको सम्भयता अध्ययन प्रतिवेदनको पुनरवलोकन र १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने ।

सोही समयभित्र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनको अद्यावधिक गर्ने समझदारीपत्रमा उल्लेख छ ।

अरुण–४ को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेकसेवा दोभानभन्दा करिब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्ने ।

प्रस्तावित डिजाइनअनुसार बाँध निर्माण गरी अरुण नदीको पानीलाई २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर)मा लगिने ।

डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३, सजुवाबेँसीमा रहने भूमिगत विद्युत्गृहमार्फत विद्युत् उत्पादन गरिने ।

विद्युत् उत्पादन गरी निस्किएको पानी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पुनः अरुण नदीमा खसालिने ।

आयोजना मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ०५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।