Logo

प्रमुख समाचार

विदेश गएका श्रीमानलाई नेपाल बोलाएर, लोकसेवा पढाएर पास गराउने अधिकृत गीता



निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेसाका रूपमा लिइन्छ । तर, बढ्दो आकर्षणका कारण लोकसेवामा चर्को प्रतिस्पर्धा हुन्छ । महिलाको हकमा आरक्षण सुविधा भए पनि लोकसेवा पास गर्नु पहिलेभन्दा निकै चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले लोकसेवा पास गर्न अथक मिहिनेत र नियमित अध्ययन जरुरी हुन्छ ।

स्नातक तहमा व्यवस्थापन संकायको विद्यार्थी भएकाले गीताको सपना बैंकर बन्ने थियो । त्यसैले पनि लोकसेवा पढ्ने सोच उनको दिमागमा कहिल्यै आएन ।

स्नातक तह अध्ययनका क्रममा बुबाले किनेर ल्याइदिनुभएको लोकसेवाका किताब धमिराले धुल्याउँदासम्म पनि हेरिनन् । त्यतिवेला लोकसेवा पास हुन सक्छु भन्ने लाग्दैनथ्यो उनलाई ।

स्नातक तहको अध्ययन सकिनेबित्तिकै उनको विवाह भयो । विवाहपछि पढाइलाई निरन्तरता दिन गाह्रो हुन्छ भनिन्छ । तर, उनको हकमा त्यस्तो भएन । घरपरिवारबाटै उनलाई लोकसेवा पढ्न प्रेरणा मिलेको हो । घरनजिकैको विद्यालयमा निम्नमाध्यमिक तहको अस्थायी शिक्षकबाट राजीनामा दिएर लोकसेवा पढ्न काठमाडौं आएकी थिइन् । ०७० मा काठमाडौं आएर लोकसेवा तयारी थालिन् । पहिलो वर्ष समय अभाव र लोकसेवाको शून्य तहबाट सुरु गर्नुपर्ने भएकाले नायब सुब्बाको तयारी गरिन् । ०७१ मा नासु पास गर्न सफल भइन् । र, साबिकको पुनरावेदन अदालत बुटवलमा सिफारिस भइन् ।

त्यसै वर्ष शाखा अधिकृतको फाराम त भरिन्, तर राम्रो तयारी भएको थिएन । ०७२ सालमा आएर शाखा अधिकृतमा खुलातर्फबाट सिफारिस भइन् ।

नियमित तथा सबै पत्रको सन्तुलित अध्ययनका कारण उनी नायब सुब्बा र शाखा अधिकृत दुवै परीक्षामा पहिलो सहभागितामा नै सफल भइन् ।

आफू वैदेशिक रोजगारीमा रहेर मलाई लोकसेवा पढाउने श्रीमानलाई शाखा अधिकृत भएपछि १० वर्षे वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पढाइन् । श्रीमान पनि पास भए ।
उनले कसरी पढिन् ?

व्यक्तिअनुसार अध्ययन शैली फरक–फरक हुन्छ । कसैले घोकेर, लय मिलाएर त कसैले सूत्र बनाएर सम्झने गर्छन् । तर, उनको अध्ययनशैली अरूको भन्दा बेग्लै छ ।

उनले घोकेर र सूत्र बनाएर पढ्न कहिल्यै सकिनन् । धेरै समय लगातार पनि पढ्न सक्दिन थिइन् । पत्रपत्रिकाका लेख तथा बृहत् पुस्तकहरूको अध्ययन गरेर विषयवस्तु बुझ्ने कोसिस गर्थिन् । तयारी कक्षाका पृष्ठपोषण कक्षाहरूमा सहभागी हुँदा स्वमूल्यांकन गर्ने, आफ्ना प्रतिस्पर्धी चिन्नेलगायतका अवसर मिल्यो ।

र, त्यहीँबाट उनलाई आफ्ना कमी–कमजोरी सुधार्न सहज भयो ।

परीक्षामा उत्तर लेख्दा परिमाणभन्दा गुणस्तरलाई मध्यनजर गर्थिन् । उपयुक्त शब्द चयनलाई ध्यानमा राखेर विषयवस्तुभित्र पसेर उत्तर लेख्ने प्रयास गरिन् । उनको वस्तुगतभन्दा विषयगत पक्षको तयारी बलियो थियो ।

लामो समय लगातार पढ्न सक्दिनन्, बीच–बीचमा ‘रिफ्रेसमेन्ट’ चाहिन्छ । लगातार दुई घन्टा पढ्दा भने एक घन्टा त उनलाई ‘रिफ्रेस’ हुनुपर्छ ।

पढ्दा एउटै विषयवस्तुमा पनि धेरै सामग्रीको अध्ययन गरेर आफ्नो मौलिकतामा छुट्टै निचोड निकाल्थिन् । केही समय भए पनि निमावि तहमा गणित विषय अध्यापन गराएकाले उनलाई ‘आइक्यू’मा त्यसले धेरै सघाउ पुग्यो ।

काठमाडौंमा भर्खर आएको र यहाँ धेरै साथी नबनाइसकेकाले उनको समूह अध्ययन कहिल्यै भएन उनको । यसरी नियमित तथा सबै पत्रको सन्तुलित अध्ययनका कारण उनी नायब सुब्बा र शाखा अधिकृत दुवै परीक्षामा पहिलो सहभागितामा नै सफल भइन् ।

पढ्ने शैली सबैको फरक–फरक हुने भएकाले आफूलाई कसरी पढ्दा सहज हुन्छ, त्यस्तै शैली अपनाउँदा राम्रो हुन्छ ।

परीक्षा दिएर बाहिर आउँदा साथीहरूका कुरा सुन्दा उनलाई पनि लाग्थ्यो कि यिनीहरूले यति धेरै मिलाएका छन्, मेरो त थोरै मिलेको छ, पास हुन गाह्रो छ ।

तर, यथार्थमा त्यस्तो नहुँदो रहेछ, कसैले अरूलाई हतोत्साहित गराउन पनि यसो भन्ने गर्दछन् । त्यसैले यस्तो बहकाउमा नआएर अध्ययनलाई निरन्तरता दिनुपर्छ ।

विषयगत अध्ययनलाई फराकिलो बनाएर पढ्न सकेमा उत्तर लेख्दा सहज हुन्छ । परीक्षामा सोधिएको प्रश्नले के मागेको छ भन्ने कुरालाई ध्यान दिएर मौलिक तथा तथ्यपरक उत्तर लेख्दा राम्रो हुन्छ ।

अध्ययन गर्दा विषयवस्तुसँग मेल खाने पत्रपत्रिकामा प्रकाशित लेख, आवधिक योजना तथा प्रशासनिक सुधार प्रतिवेदनमा प्रकाशित विषयहरूलाई विषयवस्तुसँग आन्तरिकीकरण गरेर पढ्नु राम्रो हुन्छ ।

पढ्दा अरूको नोट तथा विभिन्न संस्थाका नोट त अरू सबैले लेख्ने हुनाले आफ्नो छुट्टै मौलिक उत्तर लेख्दा पृथक हुन्छ र जाँचकीलाई प्रभाव पार्न सकिन्छ ।

पढेका विषयलाई निरन्तर रूपमा पुनरावलोकन र समय–समयमा स्वमूल्यांकन गर्नुपर्छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०६:१५   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।