Logo

खेलकुद

इटालीलाई हराउँदै बेल्जियम युरोकपको क्वार्टरफाइनलमा



एजेन्सी । महिला युरोकपअन्तर्गत गएरातिको खेलमा जित हात पार्दै बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा इटालीमाथि १–० को कठिन जित हात पार्दै बेल्जियमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

म्यानचेस्टर सिटी एकेडेमी मैदानमा खेलको ४९ औं मिनेटमा टिने डि काइग्नीले गरेको एक मात्र गोल बेल्जियमलाई जित दिलाउन पर्याप्त बन्यो ।

यो जितसँगै तीन खेलमा चार अंक जोडेको बेल्जियम समूह उपविजेताका रूपमा क्वार्टफाइनल पुग्दा इटाली समान खेलबाट एक अंकका साथ अन्तिममा रहेर बाहिरियो । 

यही समूहको अर्को खेलमा फ्रान्स र आइसल्याण्डले १–१ को बराबरी खेलेका छन् । न्यूयोर्क स्टेडियममा खेलको पहिलो मिनेटमै मेल्भिन मालार्डको गोलमार्फत फ्रान्सले सुरूवाती अग्रता लिएको थियो ।

थप गरिएको समयमा आइसल्यण्डकी डग्नी ब्रायनजार्सडटिरले पेनाल्टीमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा टुंगियो । यो नतिजासँगै तीन खेलमा सात अंक जोडेको फ्रान्स समूह विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्दा आइसल्याण्ड समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । 

क्वार्टरफाइनलमा बेल्जियमले स्वीडेन तथा फ्रान्सले साविक विजेता नेदरल्याण्ड्सको सामना गर्नेछन्  । योसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । यसपटक यी चारसँगै आयोजक इंग्ल्याण्ड, अस्ट्रिया, जर्मनी र स्पेनले अन्तिम आठमा स्थान सुरक्षित गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०७:०१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।