काठमाडौं । यसअघि सहमति भइसकेको विषयमा अभिनेत्री मिरुना मगरविरुद्ध फुर्पा तामाङले फेरि गाली बेइज्जती र कुटपिट गरेको भन्दै मुद्दा दायर गरेका छन् । तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
तामाङले यसपटक अभिनेत्री मगरसहित प्राविधिक पृथ्वीसिंह ठकुरीलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।
सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेको भन्दै मिरुनाले फुर्पालाई थप्पड हिर्काएको घटनामा यसअघि नै दुवैबीच मिलापत्र भएको थियो ।
अभद्र व्यवहार सम्बन्धी घटनामा तामाङले गल्ती स्वीकारेपछि भाइ सम्झेर माफी दिएको मगरले बताएकी थिइन् । दुवै पक्षले साक्षीहरूको हस्ताक्षरसहित मिलापत्रको कागजसमेत सार्वजनिक गरेका थिए ।
मिरुनाको उजुरीपछि फुर्पालाई प्रहरीले पक्रेको थियो । त्यसपछि फुर्पा समर्थक प्रदर्शनकारीले मिरुना अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्नुपर्ने भन्दै सडक तताएका थिए । पछि फिल्म निर्माण पक्षकै अनुरोधमा फुर्पालाई रिहा गरिएको थियो ।
अभिनेत्री मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाप्रति क्षमायाचना गरेकी थिइन् । तर अहिले आएर फेरि फुर्पाले मुद्दा दायर गरेपछि यसमा भित्रभित्रै कसैले भिलेनको रोल खेलिरहेको आशंका जन्मेको छ ।





















प्रतिक्रिया