संख्यात्मक रुपमा हेर्ने हो भने नेपालमा सहित्यकारहरुको कमि छैन । साहित्यको गुणात्मकतामा पनि नेपापली साहित्य अब्बल नै रहेको देखिन्छ ? तर पहुँचको कमिले नेपाली साहित्य विश्व बजारमा पछि परेको स्वयम् साहित्यकारहरु नै बताउँछन् । राजनीतिक हस्तक्षेपका कारण पनि नेपाली साहित्य क्षेत्रले सोचेअनुरुपको उचाइ लिन नसकेको साहित्यकार तथा प्राध्यापक महेश पौडेल बताउँछन् । नयाँ पुस्ताले आफ्नोपन र नेपाली माटोको मर्मलाई बुझ्नुपर्ने सुझाव दिने उनै सहित्यकार पौडेलसँग अनलाइनपाना लागि रामनाथ कुँवरले गरेको कुराकानी :
नेपाली साहित्यको इतिहासदेखि हालसम्मको परिवर्तनलाई कसरी लिनुभएको छ ?
हाम्रो नेपाली साहित्यको इतिहास हेर्दा भानुभक्तकालीन साहित्यदेखिको परिवर्तनलाई म बताउँछु । त्यतिबेला पुरै संस्कृत निष्ठ साहित्य हो । त्यो भनेको संस्कृत बाङमयबाट संस्कृत अनुवादमा टिकेको साहित्य हो । त्यसभन्दा अगाडि नेपाली भाषामा नै लेखिएका छैनन् । रामायण, महाभारतको पुनरकथन गर्ने कामहरु मत्रै भएका थिए । आजभन्दा २ सय वर्ष अगाडि भानुक्तहरुले कही मौलिक साहित्य अहिलेको हाम्रो भाषामा लेख्न थाले ।
त्यसैगरी आजमन्दा करिब ७० वर्ष अगाडि लेखनाथ पौडेल सम्म आइपुग्दा नीति शास्त्र, उपदेश शास्त्र, राम्रो—नराम्रो यस्तै विषय वस्तुमा साहित्य रुमलिएको थियो । भने लक्ष्मीप्रसाद देवकोटासम्म आएपछि नेपाली साहित्य आधुनिक बनेको हो । आजको प्रकृति, आजको मान्छेका सुःख—दुःख र आजको संसारको विश्व परिवेश र घटनाहरुमा आधारित साहित्यहरु देवकोटाको पालादेखि लेख्न थालिएको हो । त्यसो हुनाले हाम्रो नेपाली भाषा साहित्य ७०/८० वर्ष अगाडिबाट विकसित हुँदै आएको हो ।
यो समयमा साहित्यमा केही उत्तरचढापहरु भएका थिए । यसको अगाडिको भाग यथार्थवादी, सामाजिक घटनाहरुमा आधारित थियो । बिचमा आइपुग्दा मनोवैज्ञानिकतातर्फ साहितय गएको थियो । आफ्नो विचारलाई रचना बनाउने गरिएका थिए । गोविन्दबहादुर मल्ल, दौलत विक्रम विष्ट, भवानी भिक्षुले लेखेका साहित्य मनोवैज्ञानिक साहित्य हो । ६० सालको वरिपरी द्वन्द्व साहित्य विकसित भयो । त्यसैगरी त्यस अगाडि राजनीतिक साहित्यहरु पनि थियो । हाल विभेदमा परेका र पिछडीएका समुदाय, दलित, महिला, गरिब, मधेशी र जनजातीहरुको आवाजहरुलाई साहित्यमा समेटीएको छ ।
नेपाली भाषा साहित्य विश्व साहित्यसँग तुलना गर्दा कस्तो अवस्थामा छ ?
नेपाली भाषा साहित्य क्वालेटी (गुण)को कुरा गर्दा हामी धेरै नै माथि छौं । तर अन्तर्राष्ट्रिय रुपमा पहुँचको हिसाबले भने हामी धेरै पछाडि छौं । त्यसो किन भयो भन्दा हाम्रो अनुवादहरु स्तरीय हुन नसक्नु, स्तरीय भए पनि देशभित्रै प्रकाशित भएको विदेशको प्रकाशन गृहबाट प्रकाशित नभएकोले हो । विदेशमा बजार व्यवस्थापनको कमीले गर्दा नपुगेको हो । त्यसो हुनाले नेपाली साहित्यमा गुणात्मकता भएर पनि पहुँच पुग्न नसकेको हो ।
समाजमा साहित्यले कस्तो भूमिका खेल्छ ?
विश्व परिवेशमा के कस्ता घटना भइरहेका छन् भन्ने साहित्यले नै साबैभन्दा छिटो बताउँछ । भौगालिकीकरण भन्ने के हो भनेर भन्दै हिँडेर वा पत्रिकामा लेखेर कसैले बुझदैन । त्यो बुझाउने सबै भन्दा प्रभावशाली माध्यम भनेको साहित्य हो । साहितयलाई विद्यार्थीहरुले विद्यालयमा, क्याम्पसमा र विश्वविद्यालयमा पनि पढ्छन् । त्यसो हुनाले विश्व परिवेशलाई बुझाउन साहित्यको ठूलो भूमिका रहन्छ ।
त्यसैगरी हामीले छुवाछुत् विरुद्ध आन्दोल देखेका छौं । महिलाहरुका आन्दोलन देखेका छौं । यी अवधाराणाहरुलाई आम मानिसमा पुर्याउने ठूलो माध्यम साहित्य हो । अहिले पनि त्यसको प्रभाव कायमै छ । हाम्रो देशको हरेक ठूला राजनीतिक परिवर्तन (३६ साल, ४६ साल, ६२/६३ को) र आन्दोलनहरु त्था ७२ पछिको अधिकारको आन्दोलनहरुलाई जनमानसको मस्तिष्कमा पुर्याउन साहित्यले एकदमै भूमिका खेलेको छ । यो प्रक्रिया अझै जारी छ । त्यसो हुनाले समाजका हरेक क्षेत्रलाई साहित्यले प्रभाव पार्छ ।
तपाईको विचारमा नेपाली भाषा साहित्यलाई मजबुत बनाएर अगाडि लैजान के गर्नु पर्ला ?
यसमा सरकारी निकायले पनि साहित्यलाई अलि बढी माया गर्दिनु पर्ने देखिन्छ । जस्तो प्रज्ञा प्रतिष्ठानका सबै मान्छे सरकारले नियुक्त गर्ने हो । राम्रा साहित्यकारलाई नियुक्त गर्नु भन्दा आफ्नो पार्टीका आसेपासेलाई नियुक्त गर्ने प्रवृति छ । यस्तो प्रवृतिलाई रोकेर बुलन्द साहित्यकारलाई कुलपति, उपकुलपति, सदस्य सचिव बनाउन पर्ने हो । यस्तो भद्दा राजनीतिक हस्तक्षेपले साहित्यमा द्वन्द्व छ । यसरी गएको मानिसले त्यहाँ गएपछि पनि पार्टी कै काम गर्छ । यो रोकिनु पर्छ ।
त्यसैगरी संस्कृति मन्त्रालयले प्रतिभा पुरस्कार बाँडछ । त्यो साहित्यकारहरुलाई बाँडिने हो । तर यो वर्षको पुरस्कार पाएकोहरुको सूची हेर्ने हो भने नाम सुनेका र प्रभाव भएका साहित्यकार विरलै देखिन्छ । त्यो पुरस्कार दिने सूची पार्टीबाट जान्छ । त्यसैगरी सरकारी अनुदानमा चल्ने धेरै प्रतिष्ठानहरु छन् । त्यसरी सरकारले अनुदान दिएपछि कति काम भयो भनेर अनुगमन पनि हुन जरुरी छ ।
म विश्व विद्यालयको प्राध्यापक हुँ । हाम्रो विश्व विद्यालयले साहित्यलाई प्रवर्ध्दन गर्ने, बाटो देखाउने, अध्यन बढाउने भुमिका खेल्नु पर्छ । तर हाम्रो विश्व विद्यालयमा नेतृत्व राजनीतिबाट नै नियुक्त हुन्छन् । त्यसो हुनाले त्यसले तटस्थ काम गर्दैन । त्यसो हुनाले यस्तो बदल्न जरुररी छ । त्यसैगरी बजारको पार्दशी हुनु पर्छ । एउटा लेखकले किताव छाप्छ । प्रकाशनबाट छाप्छ/बेच्छ । बेचेपछि लेखकले आफ्नो सेयर पाउँछ । तर धेरै प्रकाशन गृहहरुले लेखकहरुलाई रोयल्टिमा मारेका छन् । त्यसो हुँदा लेखक निराश हुने परिवारबाट सपोर्ट नहुने हुन्छ । यसले लेखक पलायन हुने डर हुन्छ । यी समस्याहरु हट्दा साहित्यमा राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।
कहिलेकाहीँ राम्रा रचना पनि ओझेलमा पर्छन् । यस्तो किन हुन्छ र यी समस्या हटाउन के गर्नु पर्छ ?
तपाईँले भनेको यो समस्या सत्य हो । अब रचना कसरी समाजमा पुग्ने भन्दा पत्रपत्रिकामा छापिएर र व्यापक प्रचार भएर हो । धेरै मिडियाहरुमा पनि सिन्डिकेट छ । जस्तो दैनिक पत्रिकामा शनिबार साहित्यिक अंक हुने गर्छ । तर त्यो पत्रिकाको सम्पादक, सञ्लक कुन दल र विचारको नजिक छ, उ कस्तो आग्रह–पूर्वाग्रह राख्छ भन्ने कुराहरुले कसको छापिन्छ र कसको छापिँदैन भन्ने निर्धारण गर्छ ।
त्यसो हुनाले यी निजी मिडियाको कुरा गरिसाध्य छैन । तर कमसेकम सरकारी मिडियाले त ओझेलमा परेकालाई स्थान दिन पर्ने हो । गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्तोले पनि यो कुरामा ध्यान दिएको छैन । यो विषयमा तपाईँ हामीले झक्झक्याउने काम गर्न जरुरी छ ।
साहित्यमा रुची राखेर सिक्दै गरेका युवाहरुलाई कसरी अगाडि बढ्न सुझाव दिनुहुन्छ ?
निकै महत्त्वपूर्ण प्रश्न गर्नुभयो । मेरो नयाँ पुस्तासँग काम गर्ने ज्याद्रो शैली छ । म नयाँ पुस्तासँग भेट्ने, हिँड्ने, उठ—बस गर्ने, उनीहरुको रचना हेर्ने सुझाव दिने र प्रकाशन गर्दिने गरिरहेको हुन्छु । मैले देखेको नयाँ पुस्ता अत्यन्तै भरभराउँदो छ । धेरै प्रतिभाशाली छ, केही गर्नुपर्छ भन्ने सोच पनि छ, विश्व साहित्य पनि बुझेको छ । तर यिनीहरुमा दुई/तीनवटा विचलन पनि छ । जस्तो नेपाली भाषा, संस्कृति, धर्म, नेपालीपन र नेपाली माटोबाट नयाँ पुस्ता विस्तारै—विस्तारै विमुख हुँदै गएका र पाश्चात्य संकृति, विश्व परिवेशबाट बढी प्रभावित भएको देखिएको छ ।
एउटा नेपाली लेखकबाट नेपाली माटोको मर्महरु लेखिनु अपेक्षित छ । हाम्रो यहाँको समाजको घटनाहरुलाई लेख्नु अपेक्षित छ । युवाहरुको खुट्टा जमिनमा छैन । युवाहरुले हाम्रो इतिहास, भूगोल र सभ्यता पढ्दैनन् । यो पढ्नु पर्छ । नयाँ पुस्ता नेपाली भाषामा पनि कमजोर छ । अहिलेका सबै बोर्डिङ पढ्छन् र नेपालीमा पास भए हुन्छ भन्छन् । यी कुराहरुमा ध्यान दिएर जान सकेमा नयाँ पुस्ताले धेरै सम्भावना बोकेका छन् । अन्तर्राष्ट्रिय ज्ञान हुनुपर्छ । तर म विश्वमा जहाँ गए पनि मबाट नेपालीपन खोज्छन् । मेरो पहिचान बनाउने भनेको नेपालीपन लेखेर हो । लेख्नको लागि यहाँका सबै कुराको ज्ञान हुन जरुरी छ ।
तपाईँ आफ्नो साहित्यिक यात्रालाई कसरी सम्झिनुहुन्छ ?
मैले लेखेर प्रकाशित गर्न थालेको करिब २५ वर्ष भयो । मैले विद्यालय पढ्दाबाट लेख्न थालेको हो । त्योबेला रहरले लेखिन्थ्यो । अरुले लेखेको सिकेर लेखियो, अरुले लेखेको देखेर लेखियो, कविता लेखेपछि अगाडि उभिन पाइन्छ सबैले देख्छन् भन्ने मोहले पनि लेखियो । मैले साहित्यको यात्रा गीत लेखानबाट सुरु गरेको हो । धेरैले गीत लेखनबाट सुरु गर्दैनन् ।
सानै छँदा म खुब गीतहरु बनाउँथे । ती गीतहरु साथीहरुलाई गाउन लगाउने, कहिले देउसी भैलोमा गाउने, कहिले रमाइला कार्यक्रमहरुमा गाउने गरेर मैले साहित्यमा गीतबाट सुरु गरेको हो । मेरो पहिलो मौलिक नेपाली प्रकाशित रचना कथा हो । २०५३ तिर ‘छुट्टी’ भन्ने कथा छापिएको हो । कविता अलि पछि छापियो । अहिले यो २०/२५ वर्षको दौरानमा मैले १३ वटा कृतिहरु निकालेको छु । मैले साहित्यमा जति बुझ्दै आएँ त्यति कम लेख्दै आएको हो ।
साहित्यका कुन—कुन विधामा कलम चलाउनुभयो ?
मेरो कलम धेरैतिर बरालिएको छ । त्यसैले साथिहरु गाली पनि गर्छन् । मैले गीत, कविता, कथा, उपन्यास, नाटक, समालोचना लेखेँ र अनुवाद पनि गरेँ । त्यसो हुनाले मलाई साथीहरु कलम धेरैतिर गयो भनेर गाली गर्छन् । मेरो गत पुसमा अपरिचित कथा संग्रह आएको हो । त्यो अहिले बजारमा छ । त्यसो हुनाले भर्खर बाली भित्र्याएको खाली उराँठ लाग्दो खेत जस्तो अहिले म भएको छु । अब म फरि कथा नै लेख्ने सोचमा छु ।
















प्रतिक्रिया