काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडकाे नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले २०८३ साउन २९ गते (१४ अगस्ट २०२६) देखि बैंकमा पदभार ग्रहण गरेका हुन् ।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविक जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका वित्तीय संस्थामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।
उनले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणीमा तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीटेक उपाधि हासिल गरेका छन् ।
पाँडेसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनलगायतका क्षेत्रमा गहिरो अनुभव रहेको बैंकले जनाएको छ। साथै, ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ, मर्जर तथा एक्विजिसन, एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास र दिगो तथा हरित बैंकिङमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेका छन् ।
नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिसँगै बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा रणनीतिक लक्ष्य प्राप्तिमा थप योगदान पुग्ने विश्वास बैंकले लिएकाे छ ।
















प्रतिक्रिया