दशैं नजिकिएको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि च्याङग्रा नल्याउने जनाएको छ । चिनबाट च्याङ्ग्रा नआएको र मुस्ताङमा पनि अघिल्लो वर्ष भन्दा २ सय बढी रुपैयाँले मुल्य बढेपछि खपत नहुँने भन्दै कम्पनीले यो वर्ष च्याङग्रा नल्याउने भएको हो।
स्थानीय व्यापारीले जिउँदो च्याङग्राको मूल्य ८ सय रुपैयाँ प्रतिकेजी तोकेको बताउँदै त्यो खरिद गरेर ल्याउन कठिन भएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले बताए । “कम्पनीले सुरुमा १४ सय च्याङग्रा ल्याउने जानकारी दिए पनि हजारको मात्रै टेण्डर निकालेको थियो। तर त्यो हजार पनि नआउने भएको हो। खाद्यले १६ सय खसीबोका भने ल्याउनेछ।” उनले भने । उनका अनुसार खसीबोका घट्स्थापनाको दिनबाट बिक्री सुरु हुनेछ ।
त्यस्तै निजी क्षेत्र चौपाया खरिद बिक्री प्रालिका व्यवस्थापक जीवनराज खतिवडाले तीन हजार वटा मात्रै च्याङग्रा आउने जानकारी दिए । यसरी सरकारी कम्पनी मात्रै नभई व्यवसायीले समेत कम परिमाणमा च्याङग्रा ल्याउने भएका छन्। महँगो भएकाले खपत कम हुने भन्दे कम च्याङग्रा ल्याउने भएका हुन्। ‘कम्पनीमार्फत गत वर्ष १० हजार वटा च्याङग्रा काठमाडौं ल्याइएको थियो। हामीले सात हजार गोटासम्म च्याङग्रा ल्याउने योजना बनाएका थियौं। तर मुस्ताङमा पनि भनेजतिको परिमाणमा च्याङग्रा पाइएन र महँगो पनि भयो,’ उनले भने, ‘त्यही भएर दुईदेखि तीन हजार मात्रै च्याङग्रा आउनेछ।’
उनले चीनतर्फबाट च्याङग्रा नआएकाले यहाँका व्यापारीले मूल्य बढाएको बताए । ‘मुस्ताङमै गत वर्ष ६ सय ५० किलोमा पाइने च्याङग्रा अहिले ९ सय रुपैयाँमा खरिद गर्नुपर्ने भएको छ । त्यसैले यो वर्ष च्याङग्रा खुद्रा बिक्रीमा पोहोरभन्दा किलोको तीन सय रुपैयाँ महँगो पर्ने स्थिति छ।’ उनले भने ।
त्यसरी नै यो दसैंमा खसीबोका भने कुनै समस्या नहुने खतिवडाले बताए । ‘कोरोनाका कारण खसीबोकाको बिक्री भने घटेको छ। बिक्री घटेकै कारण जिउँदो खसी किलोकै ५० रुपैयाँ सस्तोमा बिक्री भइरहेको छ । ’ उनले बताए।
जिउँदो खसी ६ सय रुपैयाँ किलोमा बिक्री भइरहेको छ। ‘कोरोनाका कारण क्रयशक्ति घटेर खसीको बिक्री कम छ। त्यही भएर मूल्य पनि घटेको छ,’ उनले भने, ‘खसीबोकाको कुनै समस्या छैन। तराई र हिमालका खसीबोका उपत्यकामा भित्रिरहेको छ। केही भारतबाट समेत आएका छन्।’ गत वर्षको दसैंमा ३५ हजार खसीबोका बिक्री भएका थिए। तर अहिले कम हुने खतिवडाको अनुमान छ। होटल रेष्टुरेन्टहरु धेरै बन्द भएको कारण अहिले कम बिक्रि हुने उनले बताए ।
प्रतिक्रिया