Logo

राजनीति

बञ्चरेडाँडाबासीलाई दलहरुको साथ, बालेन भन्छन्– फोहोरको रासभित्र झन् कुहिएको खेल नखेलौं



काठमाडौं । देशको राजधानी सहर काठमाडौं उपत्यकाको फोहोर चुनौतीको विषय बन्दै गएको छ । सडकका छेउछाउमा थुप्रिएका फोहोर व्यवस्थापनको विषय चुनावअघि दल तथा उम्मेदवारहरुको मुख्य एजेन्डा बन्दै आए पनि अहिलेसम्म यो समस्या ज्युँका त्युँ नै छ । काठमाडौं वासीको प्रमुख समस्याका रुपमा विद्यमान फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भन्ने बालेन्द्र (बालेन) साह महानगर प्रमुख बनेको करिब तीन महिना बित्न लाग्यो । तर सिसडोल र वञ्चरेडाँडाका स्थानीय घाँडो बन्दिँदा बालेनका सबै प्रयास असफल जस्तै भइरहेका छन् ।

महानगरपालिकाले शनिवार मात्र पनि आइतवार (आज)देखि दैनिक २५० देखि ३५० गाडी फोहोर उठाउने बताएको थियो । तर आइतवार पुनः विभिन्न बहनामा स्थानीयले नै अवरोध गरेपछि ९० गाडीहरु मात्र बञ्चरेडाँडा फोहोर पुर्‍याउन सफल भए । महानगर प्रमुख बालेनका अनुसार आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । ‘आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए । १. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो । २. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ’, महानगर प्रमुख बालेनले भनेका छन् ।

यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी आफूले पाएको उनले बताएका छन् । त्यसप्रति आपत्ति प्रकट गर्दै उनले भनेका छन्, ‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ ।’ बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका र भूमि तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता शीर्षकमा ५ अर्ब खर्च भइसकेको उनले सामाजिक संजालमा भनेका छन् । ‘यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो’, उनले उल्लेख गरेका छन् ।

महानगर प्रमुख बालेनले आफूलाई असफल पार्न खोजिएको भन्दै संघीय, प्रदेश सरकारप्रति पनि आक्रोश पोखेका छन् । एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ (?) भन्दै उनले प्रश्न गरेका छन् ।

‘सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ?’, बालेनको प्रश्न छ । उनले फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिनसमेत भनेका छन् । उनले त्यस्तो राजनीतिले कसैलाई अगाडि नबढाउने भन्दै यसमा हेक्का राख्न चेतावनीसमेत दिएका छन् ।

एकाति सबै राजनीतिक दलहरु, बालेन एक्लै

शक्तिशाली दलहरुलाई पाखा लगाउँदै स्वतन्त्रबाट काठमाडौं महानगरको प्रमुखमा बाजी मारेका बालेनलाई एक्ल्याउने रणनीतिमा राजनीतिक दलहरु भने देखिएका छन् । बालेनमाथि थप दाबाब बढाउने गरी राजनीतिक दलहरुले सिसडोल र बञ्चरेडाँका स्थानीयको आन्दोलनमा प्रतिबद्धता जनाएका छन् । धादिङ र नुवाकोटका सीमाना सिसडोल र पछिल्लो समय बञ्चरेडाँडामा फोहोर अव्यवस्थित तरिकाले फाल्दै आएको र फोहोरले स्थानीय वासीन्दाको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका धुनीवेशी नगर समिति १ ले स्थानीयको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले गरेका आन्दोलनमा पटक पटक गरी अहिलेसम्म १७४ वटा सहमति भएका भए पनि त्यो सहमति कार्यान्वयन नगरेको उनीहरुको आरोप छ । स्थानीयहरुको आन्दोलनमा घ्यू थप्ने गरी पार्टी अध्यक्ष तथा सभापतिलाई ध्यानकर्षण पत्र लेख्दै उनीहरुले समाधानको उपाय खोज्न आग्रह गरेका छन् ।

‘यसअघि भएका सम्झौताहरु कार्यान्वयन गर्नुका साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनताहरुमाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गर्दै उयल्टै स्थानीय पीडित जनताहरुलाई विभिन्न खालको झुट्टो अभियोग लगाइ दुख दिन खोजेपछि स्थानीयले अब मानगर वा राव्यसँग सम्पूर्ण रुपमा आफ्नो विश्वास गुमेकोले फोहोरमैला दीर्घकालीन बन्द गर्ने अभियानको नेतृत्व दलहरुले गरिदिनुपर्ने माग जोडतोडका साथ उठेकोले सत्ता गठबन्धनको तर्फबाट यो समस्या समाधान गर्न हामी तयार छौं’, पत्रमा भनिएको छ, ‘तीन वटै पार्टीको नगरकार्यसमिितले तत्कालै हाम्रो नगरभित्रै रहेको प्रमुख पार्टी नेकपा एमालेसहित सबै दलको सर्वदलीय बैठक बोलाई फोहोरमैलाको समस्या समाधानको लागि अग्रसरता लिनुहुन माग गर्दछौं ।’

यसलाई गम्भीरताका साथ नलिइए स्थानीयले अबको संघ र प्रदेशको निर्वाचन वहिस्कार गर्ने र वहिस्कार गर्ने चेतावन दिएको सभापति तथा अध्यक्षलाई उनीहरुले खेलेको पत्रमा भनिएको छ ।

प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार  ८ : ४६ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।