काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडामा स्थानीयको अवरोध हटेको छ । अवरोध हटेसँगै आज (शुक्रवार) बिहानैदेखि सहज रुपमा फोहोर विर्जन भइरहेको ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । सत्तारूढ तीन राजनीतिक दलका स्थानीय नेताको नेतृत्वमा उपत्यकाको फोहोर सधैँका लागि बन्द गर्ने घोषणासँगै आन्दोलन चर्किएको थियो । अवरोधकैबीच प्रहरीको सहयोगमा बिहीवार २८४ टिपर फोहोर विसर्जन गरिएको थियो ।
बुधवार काठमाडौं, धादिङ र नुवाकोट तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच जथाभावी फोहोर फाल्न नपाइने, दैनिक फोहोरलाई औषधि प्रयोग गरेर दुर्गन्धमुक्त बनाउने र पुराना मागहरू कार्यान्वयनमा ल्याउन चारबुँदे सहमति भएको थियो । तर, स्थानीय सत्तारुढ दल नेतृत्वको अवरोध हटेको थिएन । तर बिहीवारराति सत्तारुढ स्थानीय नेताहरूको सर्वदलीय बैठक बसेपछि शुक्रवार बिहानैबाट अवरोध हटेको हो ।
लामो समयदेखि काठमाडौंका सडक तथा नदी किनारामा थुप्रिएका फोहोर उठाउन एक साता लाग्ने नगरप्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले बताए । उनका अनुसार अब पुनः स्थानीयले अवरोध नगरे सबै फोहोर एक साता भित्रमा उठ्ने उनले बताए । ‘पुनः स्थानीयले अवरोध नगरे एकसाता भित्रै सबै फोहोर उठिसक्छ । काठमाडौं उपत्यकाका सडक, नदी किनारामा थुप्रिएको फोहोर सकिएपछि घरभित्रको फोहोर उठाइनेछ’, उनले भने ।




















प्रतिक्रिया