Logo

समाचार

झन्झटिलो बन्दै स्वास्थ्य बीमा, सेवाग्राहीलाई झुलाउँदै वीर अस्पताल

बिरामी भन्छन्– अस्पताल आएको पाँच दिन भयो, सेवा पाइएन



काठमाडौं । सरकारले सर्वसाधरणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्देश्यका साथ वि.स २०७१ सालमा स्वास्थ्य बीमा सेवाको कार्यक्रम सुरु गर्यो । तर उक्त कार्यक्रम उद्देश्य अनुरुप सहज भने बन्न सकेको छैन । स्वास्थ्य बीमा सेवा सेवाग्राहीका लागी झन्झटिलो बनेको छ ।

त्यसको पछिल्लो उदाहरण हो काठमाडौंको वीर अस्पताल। अस्पतालले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन नसक्दा टाढा टाढा देखि धाएका यात्रुहरुले सास्ती व्यहोर्नुपरेको छ । अस्पतालले सिस्टममा समस्या देखिएको भन्दै बिरामीलाई झुलाइरहेको छ ।

मिना दवाडी गोरखाको मिरकोटबाट स्वास्थ्य बीमामार्फत उपचार गर्न वीर अस्पताल आएकी हुन् । उनले बीमामार्फत उपचार गर्न धेरै झन्झटिलो भएको बताइन् । उनले भनिन्, ‘आएको पाँच दिनुभयो, कहिले यस्तो भएन भन्छ, कहिले त्यस्तो भएन भन्छ, आज नेट चलेन भनेको छ । यसै त बिरामी झन विरामी भइयो ।’ आज विहानै ७ बजे बोलाएकोले आफु आएको तर २ बजेसम्म झन्झटमै परिरहेको उनले बताइन् ।

काठमाडौं मुलपानीका कमल त्रिपाल वीर अस्पताल धाउन थालेको पाँच दिन भएको सुनाउँछन् । स्वास्थ्य बिमा कै कारणले यस्तो सास्ती भोग्न परेको उनले बताए । ‘बुडो मन्छे, बिमाबाट छुट हुन्छ भनेर अस्पताल आउन थालेको पाँच दिन भयो ।’ त्रिपालले भने, ‘टिकट लिएर लाइन बस्न पर्छ, बल्ल पालो आएपछि यस्तो मिलेन र तेस्तो मिलेन भन्छ । डाक्टरले औषधी लेखिदिन्छ । तर औषधी छैन, भोली आउनुस भन्छन् । सजिलै सेवा पाइन्छ भनेर स्वास्थ्य बिमा गरेको तर धेरै दुःख भयो ।’

खोटाङका रामबाबु राईले पनि स्वास्थ्य बीमाबाट सेवा लिन विर अस्पतालमा निकै झनझटिलो भएको बताए । उनले भने, ‘स्वास्थ्य बीमाबाट उपचार गर्न काठमाडौं आएँ । अस्पतालले वडाको सिफारिस चाहिन्छ भन्यो । खोटाङदेखि सिफारीस मगाएँ । अहिले बल्ल बल्ल लाईन बसेर पालो आएको थियो । डक्टर हुनुहुन्छ शुक्रबार आउनुस भनेको छ ।’ यसरी बिमाबाट अस्पतालमा सेवा दिन धेरै असहज भएको उनको भनाई छ ।

मिना, कमल र रामबाबु प्रतिनिधि उदाहरण मात्रै हुन् । यसरी, बीमितले औषधि तथा समयमा स्वास्थ्य सेवा नपाउनु, सेवा प्राप्त गर्न लामो समय लाइन कुर्न बाध्य हुनु, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद हुनु, प्रथम सेवा बिन्दुबाट थप उपचारको लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजातको व्यवस्था नहुनु/नगर्नु जस्ता विषयले बीमा कार्यक्रमप्रति नागरिकको विश्वास घट्दो छ ।

अस्पतालका कर्मचारीसँग पहुँच भएकाहरुको एक घण्टामै काम हुने तर सर्वसाधारणलाई भने हप्ता दिन लगाइदिने गरेको बिमीतहरुको भनाइ छ । अस्पतालले टिकट लिने ठाउँमानै एक कर्मचारी राखेर सर्वसाधारणलाई कहाँबाट के कसरी सेवा लिने भनेर सुझाउन पर्ने विरामीहरुको माग छ । राज्यले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने भनेर सेवाग्राहीलाई झन झन दुःख दिइरहेको बताइएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रम थप व्यवस्थित र प्रभावकारी बनाउदै लैजाने घोषणा गरेको छ । लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र बीमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उक्त घोषणामा उल्लेख छ । तर अस्पतालले व्यवस्थापन गर्न नसक्दा बिरामीलाई थप पिडा दिने हिसावले यो सेवाको प्रक्रिया सञ्चालन भइरहेको छ ।

वीर अस्पतालका स्वास्थ्य बिमा समन्वय साखाका प्रमुख नवराज श्रेष्ठले अस्पतालको सिस्टममा समस्या आएकोले स्वास्थ्य बीमाका सेवाग्राहीले समस्या झेल्न परेको स्विकारे । उनले यस विषयमा अस्पताल व्यवस्थापनको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । उनले यो समस्या समाधान गर्न आफुहरु सम्पुर्ण टिम लागि परेको जानकारी दिए । उनले भने, ‘बिमा मार्फत सेवा लिने लाभग्राहीहरुलाई समस्या भएको हामीले देखेका छौं । यो समस्या समाधान गर्न हामी लागि परेका छौं ।’

तर बिमामार्फत सेवा लिन अस्पताल पुगेका सेवा ग्राहीहरुले भने आफुहरुको समस्यामा अस्पतालले चाँसो नदेखाएको आरोप लगाएका छन् । यसलाई व्यवस्थित नबनाउदा सरकारको स्वास्थ्य बीमा अभियान पूर्ण रुपमा असफल हुने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १८:३५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।