विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् । धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नागरिकता विधेयक प्रक्रियागत रुपमा नै टुंगिन्छ र राष्ट्रपति ज्यूले प्रमाणीकरण गर्नुहुन्छ ।’
राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति असन्तुष्ट छिन् । नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले सुरक्षा अधिकारीहस्सँग पनि भेटेका थिए । यस सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले त्यो अस्वभाविक रहेको बताए । ‘केही कुरा स्वभाविक पक्कै पनि देखिएका छैनन्’, उनले भने, ‘तर पनि यसले गम्भीर संकट ल्याउने स्थिति पनि म देख्दिनँ ।’
प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय बाहिर चर्चा गरिएजस्तो जटिल नभएको पनि बताए । कार्यदललाई निर्वाचन क्षेत्रको अवस्था बुझेर भागबण्डाको खाका तयार गर्न निर्देशन दिइएकोले एक/दुई दिनमा नै बाँडफाँडबारे सहमति हुने उनको दाबी छ । पार्टी पदाधिकारीमा महिलालाई उचित स्थान नदिएको बारे सोधिएको प्रश्नमा प्रचण्डले पदाधिकारी सिनियरका आधारमा नियुक्ति हुने भन्दै स्थायी कमिटीमा ११ जना महिला नेतृलाई एकैपटक नियुक्त गरेर महिला सहभागिता सुनिश्चित गरेको दाबी गरे ।
प्रचण्ड आज प्रदेश एकको पार्टी बैठकमा सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुन वरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव राम कार्की लगायतका नेताहरु विराटनगर पुगेका छन् । यस्तै प्रचण्ड जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरानमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी हर्क साम्पाङको वृक्षारोपण अभियानमा समेत सहभागी हुने हुन् । सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी हुने धरानका उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए ।
याे पनि
धरानका मेयर हर्क साम्पाङको वृक्षरोपन अभियानमा सहभागी हुँदै प्रचण्ड




















प्रतिक्रिया