Logo

साहित्य

मन्थन ‘मिथ्या’को




एउटा युवा उपन्यास लेख्‍ने साहस गर्छ । उसैले हाडेओखरजस्तो वैदिक वहसको विषयलाई कोट्याउन दुस्साहस गर्छ । त्यति मात्र गर्दैन वैदिक पाठहरूको विवेचना गर्न दरिलो आँट गर्छ । यस्तै साहसबाट मात्र मात्र ’मिथ्या’जस्ता उपन्यास जन्मन्छन् । दीपक पराजुलीजस्ता उपन्यासकारको आगमन हुन्छ । थुप्रै दीपकहरूलाई नेपाली साहित्यको भूगोलमा स्वागत गर्न ढिलो गर्नु हुँदैन ।

सबैभन्दा धोखेबाज प्राणी मान्छे हो भने कहिल्यै धोका नदिने मित्र पुस्तक हो यो मेरो मान्यता हो, विश्‍वास हो । पुस्तकको बगालमा बसेर यो कुरालाई म कसरी असत्य भन्न सक्छु र ? मलाई किताबहरू पढ्ने लत लागेको धेरै भयो । पढ्दा, पढाउँदा, सहज बेलामा असहज बन्दाबन्दीको अवधिमा पनि निकै जाँगर गरेर पढिए पुस्तक । धेरै थरी पुस्तक पढिए । आख्यान, गैरआख्यान, काव्य, जीवनी, सामाजिक र धार्मिक मुद्दाका पुस्तक आदआदि । तैपनि आख्यानमा जस्तो दिल अन्यत्र बस्नै सकेन । बसेन । यस्तो पनि अनुभूति पनि भयो पुस्तक त्यस्तो अनन्य मित्र हो जसले पाठकसँग विनासङ्कोच बात मार्छ । ब्रेक नभएको समयले आफूलाई किन रोक्थ्यो र ? बगिरह्‍यो आफ्नै रफ्तारमा समय । दैनिकी आफ्नै गतिमा हिडिरह्यो यात्रामा । विनायोजना नयाँ संगीहरू भेटिन्छन् । नयाँ संगी भेटियो ‘मिथ्या’ शीर्षकको त्यो पनि विनायोजना । सायद उत्तम योजना ती हुन् जुन अनियोजित हुन्छन् ।

एकदिन सामाजिक सञ्जालमा गुनासो पोखेँ “बिग्रेको जाँडले टाउको झुमले जस्तै हुँदोरहेछ, बाध्य भएर बेढङ्गे पुस्तक पढ्नु पर्यो भने ।“ म त्यो ह्याङ्ओभरबाट बाहिर निस्कन चाहन्थेँ । त्यसको खास सोलुसन नभेटिरहेको बेला नयाँ स्वादको उपन्यास हात लागेको थियो त्यो उपन्यास थियो ‘मिथ्या’ ।

पुस्तक पठनका आआफ्नै तौरतरिका हुँदाहुन् । अपरिचित लेखकका पुस्तक पढ्न झन् मज्जा आउँछ, झन् मज्जा आउँछ आलोचना गर्न । यस्तै अपरिचित लेखकको उपन्यास हात परेको हो र मैले डबल चाख मानेर पढेको पुस्तक हो मिथ्या । पोखराका युवा कलमकर्मीको उपन्यासलाई पुनः पठन गरेपछि केही लेख्ने जाँगर चलेको हो । पोखराका उपन्यासकार भए पनि पराजुलीसँग मेरो यसअघि चिनजान थिएन ।

मिथ्या बाँच्नु नै जीवन हो । त्यसको सापेक्षतामा जीवन चल्छ । जो मिथ्या जीवन बाँच्दैन त्यसको भौतिक अस्तित्व नै छैन । यो भौतिक जगत र माया भौतिक सुखबाट प्राप्‍त हुन्छ वा भौतिक आनन्दको अपेक्षाबाट वर्तमान संसार निर्देशित छ । मिथ्या ठान्नेहरूले जालझेलपूर्ण जीवन बाँच्न निषेध गरेको छ । जगत् मिथ्या आह्वान गर्नेहरूले जीवनलाई असम्भव ठानेका छन् । मानव मिथ्या नै भए पनि सम्पूर्ण भवितव्यको भोक्ता हो । वस्तु सत्यभित्र पनि मिथ्याङ्करण घुसेको हुन्छ जसरी हामी डोरीमा सर्प देख्छौं त्यो सत्यको मिथ्याङ्करण हो कतै मिथ्याको सत्यकरण पनि हुन्छ यी सबै कुरा मिलेर जीवन जगत बनेको हुन्छ ।

त्यो भ्रम र मिथ्या पनि माया र मोहका कारण सत्य बन्छ, सत्य ठानिन्छ र सत्य ठानेर संसार चलेको हुन्छ । मिथ्यारूपी धागोमा नबेरिने हो भने यो जीवन नै चल्दैन । भ्रमको धागोमा सुखसुविधा आनन्दलाई मूल्य दिएर जीवन चलेको हुन्छ । भ्रमको रोमाञ्चक पिङमा रोमाञ्चक जीवन बाँचेको छ मान्छे । मोहमा बाँचेको मान्छेले मिथ्यालाई पनि सत्यसँगै मिसाएर बाँच्ने प्रयास गर्छ बाँचिरहन्छ । खासमा जगत मिथ्या भनेर आजको उत्तरआधुनिक समाज चल्दैन । चल्न सक्दैन ।

जीवनका धेरै आयामहरू छन् । त्यसमध्ये जीवनलाई हेर्ने एउटा छुट्टै फ्रेम छ । विकल्पमा यो पनि छ है भनेर आख्यानलाई माध्यम बनाएर मिथ्या जगतको चर्चा गरिएको छ उपन्यासमा । धेरै नै शङ्का गरिएको छ समाजलाई यसको सङ्क्रमणको दरभन्दा पनि धेरै । शङ्कराचार्यको दर्शनलाई थप पुनर्पुष्टि गर्ने प्रयास गरिएको छ उपन्यासमा । केही हदसम्म तर्कले पुष्टि गर्न खोजिए पनि भीमकाय विषयलाई माउसुलीले घ्याप्पो अँगाल्ने साहस गरेजस्तै भएको कतैकतै उपन्यासमा ।

उपन्यासमा भनिएको छ संसार झूटो छ । उपन्यासकारसँग भएको एक कलमले सत्य लेखोस् । सत्य र मिथ्या दुवै सापेक्षित कुरा हुन् । सत्य सापेक्षित कुरा हो । उपन्यासकारले खोजेको सत्यको उजागर भयो भने यो पृथ्वी देवभूमि नै हुनेछ सायद वैदिक साम्यवादमा रूपान्तरण हुनेछ तर त्यसको कल्पना त गरौँ तर उपन्यासलाई बोध गरेर यथार्थीकरण अतिकल्पनाको गर्तमा मात्र राखौँ यतिखेर ।

धेरै लेखकले पहिलो पुस्तकबाट गाली खान्छन् । कतिपय त निराश नै हुन्छन् । निकै थोरै लेखकले मात्र पहिलो पुस्तकबाट हौसलाको वाहावाही पाउँछन् ती अत्यन्त थोरै लेखकको कित्तामा पर्छन् पराजुली । अब पराजुलीले मिथ्याङ्कनरण र ज्यादा स्वैरकल्पनामा भन्दा हाम्रा दिनदिने ठेसलाग्ने घतलाग्दा विषयलाई आख्यानीकरण गर्न ढिलो गर्नु हुँदैन ।

संसार झुटो छ मिथ्या छ हरेक पाइलामा सजग भएर हिँड, सत्यको खोज बाँकी छ भन्ने सन्देश दिइएको छ उपन्यासमा ।

संसार पूर्ण मिथ्या पनि छैन । इन्द्रियजन्य वस्तुहरू सत्य देखिन्छन् । उपन्यासकारले सररियलको मार्गबाट फेन्टासीमा पुग्न गरेको प्रयास सराहनीय छ । समाख्यानको नवीन शैली प्रयोग नगरिएको भए उपन्यासमा खास नवीन कुरा पाउन मुस्किल थियो भन्ने उपन्यासको अन्त्यसम्म पनि लागिरहन्छ । यसको क्षतिपुर्ती दस्तावेज भनी उपन्यासको प्रत्येक परिच्छेदको खोलुवामा फरकफरक घटनलाई पस्केर गरिएको छ । यसलाई पूर्णतः नूतन भन्न नसकिए पनि नेपाली उपन्यास परम्परामा खास बासी कुरा होइन भनेर ढुक्क भन्न सकिन्छ । यसले नवीनता मात्र सिर्जना गरेको छैन पाठकलाई उपन्यासमा बल्झाउने र बाँधिरहने शक्ति पनि यसैभित्र रहेको कुरा थाहा लाग्छ । यसले पाठकलाई घटनाप्रति अविश्‍वस्त हुने छुट दिँदैन । एउटा परिच्छेदको समाप्ति र अर्को परिच्छेदको आरम्भको बीचमा बलियो संयोजनको स्थापना नगरेको भए पाठक सर्दैसर्दै अन्तिममा नपुग्न सक्थे । यसले कुतुहल सिर्जना गर्नाका साथै उपन्यासको पुछारसम्म पुग्नलाई पाठकलाई घच्घच्याइरहन्छ । यो प्रविधि पूरै नवीन नभए पनि पाठकले चाखलाग्दो मान्छन् ।

उपन्यासको ढोका जुन तहबाट खुला गरिएको थियो त्यसको त्यति चाल वा आख्यानिक गतिलाई अन्तिमसम्म धान्न सकेको भए यो उपन्यासलाई प्रशंसाले मात्र पुग्थेन । भन्नु पर्ने हुन्थ्यो आउटस्ट्यान्डिङ् । तर जुन उत्साहले कथाले पयो समातेको छ उपन्यासको बैठानमा त्यो तहको कथानकगत उच्चता नभेटिएर केही शिथिलता देखिन्छ ।

उपन्यासको भाषा सरल छ सलल बगेको छ । आख्यानका लागि अपेक्षित नै छ । भौगोलिक स्थान र परिवेश पोखराको भए पनि भाषामा आञ्चलिक स्वाद प्रयोग हुन सकेको छैन । नवीन बिम्बहरूको प्रयोग गरिएको छ । पाठकलाई यसले प्रभाव पार्छ । पाठकलाई आफूतिर डो¥याउन थप प्रश्‍न नसोध्नु होला भन्दै न्यारो डाउन गर्छ । यो उपन्यासकार छट्टु टेक्निक हो भन्न सकिन्छ ।

संसार झुटो छ मिथ्या छ हरेक पाइलामा सजग भएर हिँड, सत्यको खोज बाँकी छ भन्ने सन्देश दिइएको छ उपन्यासमा । विशेष विकल्पलाई ध्यान नदिने हो भने विशिष्ट पाठकको अपेक्षा गर्छ उपन्यासले । मतलव सरलीकृत भाषिक प्रयोग छैन । सरल पाठकले पात्रको कथानकसँगको सहसम्बन्ध पयो नभेट्टाउन सक्छ । सरल पाठकले पौराणिक, वैदिक, बिम्बहरू, फिनिक्स चराको बिम्ब उपन्यासकारले सोचेकै तहमा नबुझ्न पनि सक्छ ।

बिम्बात्मक पात्रको प्रयोगले उपन्यास पठनीय बनेको छ । आरम्भमा साहित्यकारहरूप्रतिको व्यङ्ग्य चोटिलो लाग्छ । मोहदत्तको परिकल्पना, मिथ्या प्रकाशनको परिकल्पना आदिको प्रयोग गर्नु उपन्यासमा उपयुक्त नै देखिन्छ ।

सत्य सापेक्षित हुन्छ भने मिथ्या असापेक्षि चिज होइन । लक्षणिक पात्रको प्रयोग गरिएको यस उपन्यासमा मिथ्या नभई सत्य पनि हुँदैन । उपन्यासमा उत्खनन् गर्न खोजिएको सत्यको भोक लोभलाग्दो छ । सत्यको खोजीमा जाने क्रममा सत्याङ्कनका लागि मात्र कलम प्रदान गर्न चाहेको छ समाख्याताले । मानव उत्पत्ति नै पूर्वीय परम्पराबाट भएको हो । यो सर्वप्राचीन हो भन्ने पूर्वीय वैदिक दर्शनप्रति जबर्जस्ती गर्व गरिएको छ उपन्यासमा । मोहदत्तको मोह र यसलाई खोज्दाखोज्दै ऊ आफैमा मोहदत्तमा परिणत भएको कुरा उल्लेख छ पुस्तकमा । जे खोजिन्छ त्यो पाइन्छ भन्ने सत्यलाई नजिकबाट पुष्टि गर्न खोजेको छ उपन्यासमा ।

पढ्दै जाँदा गनेस पौडेलको ’पैताला’ उपन्यासको एउटा दृश्य उस्तै लाग्छ उपन्यासमा यसलाई संयोगको रूपमा मात्र बुझ्नुपर्छ होला । मिथ्या दुई कारणले पढ्नु पर्छ पहिलो मिथ्याङ्कन गरिएको यो प्रदुषित समाजमा सचेत भएर हिँड्न । दोस्रो आञ्चलिक परिवेशको रसस्वादन गर्न । कुनै शङ्का छैन पोखरा साहित्यको सहर हो साहित्यको सहरमा आञ्चलिक उपन्यास दावा गर्ने उपन्यासकारले भूगोलको वर्णन त गरेका छन् स्थानीय भाषिका प्रयोग गर्न बिर्सेका छन् । खासमा स्थानीय भाषिकाले जत्तिको आञ्चलिक स्वर अन्यत्र दिन सकिने थिएन ।

जीवन सत्य हो भन्ने छर्लङ्ग सत्यको महत्त्वपूर्ण व्यावहारिक पक्षप्रति यतिविघ्न उदासीन बन्न मिल्दैन । ज्ञानका विविध आयाम छन् । मानवको अन्तर्यमा अधिक वृत्ति छन् । त्यसलाई उपेक्षा गरेर कुनै पनि समाज अस्तित्वमा रहन र रहिरहन जटिल छ । ब्रह्म सत्य नै सही । जगत मिथ्या नै सही । यसको बोधमा धेरै ठूलो वादविवादहरू छन् ।

आजको उत्तरआधुनिक मान्छे विषय, वासना, तृष्णालाई सत्य मानेर लिप्त जीवन बाँचिरहेको छ । उसले जगतलाई मिथ्या मान्न तयार छैन । ब्रह्मको कल्पना गर्ने व्यक्तिले उसले पागल सम्झन सक्छ ।

उपन्यासकार युवा छन् । उनमा लेख्‍ने हुटहुटीको तिर्खा छ । उनी युवावयमै पूर्वीय वैदिक पक्षमा गहिरन चाहन्छन् । उनले थप वैदिक मिथलाई सार्वजनिकीकरण गर्न सफल भए भने एउटा विशाल आख्यानको जन्म पोखराबाट हुँदैछ यो भविष्यले बताउने कुरा हो । उनको साहित्यप्रतिको चेत लोभलाग्दो छ । लेखाइमा सङ्गठित संरचना देखिन्छ । यतिको आँटी लेखकलाई नेपाली साहित्य बजारले स्वागत नगर्नु पर्ने कुरै तार्किक कारण देखिँदैन । लामो समयसम्म हुनुपर्छ मिथ्याको मन्थन ।

प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार  १२ : २९ बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।