Logo

समाचार

वैश्विक हतियार, रैथाने पाइन



कथा–कुथुङ्गीबाटै सुरू गरौँ क्यार ।

— सबैभन्दा बौद्धिक व्यक्तिहरूको उत्पत्तिका लागि युरोप नै सर्वश्रेष्ठ भूगोल हो — इमान्युल कान्त ।
— हामीले भारतमा यस्तो शिक्षा प्रणाली लागू गर्नुपर्छ जसबाट अनुहारका काला र दिमागका गोरा मानिसहरू उत्पन्न होऊन् — टमस बेबिङ्टन मेकाले, १९३५, बेलायती संसादमा भारतीय शिक्षा प्रणालीमाथिको एउटा प्रस्तावउपर बोल्दै ।

— इजिप्टका बारेमा हामीलाई, केनियावासीलाई भन्दा पनि बढी थाहा छ । त्यसैले, हामीले इजिप्टमाथिको हाम्रो उपनिवेशलाई जारी राख्नुपर्छ — आर्थर बेलफोर, १९१०, बेलायती संसादमा बोल्दै ।
— अश्वेतहरूमाथि राज गर्नु र तिनलाई अलि सभ्य बनाउनु हामी गोराहरूलाई भगवान्ले नै दिएको जिम्मेवारी हो — रुडयार्ड किप्लिङ ।
भनाइहरू । छोटा तर, युगान्तकारी प्रभावका ।

यस्तै कुरा युरोपेली बच्चलाई दिनैपिच्छे सुनाइयो । तिनको दिमागको के प¥यो ? ती कसरी स्वाभाविक उपनिवेशक बन्दै गए होलान् ? आक्रान्ता बन्दै गए होलान् ?

एउटा शेर्पाले सगरमाथा चढ्दा पनि, र चढिसकेर पुनः फेदमा ओर्लंदा पनि चोमोलोङमा देवीलाई ढोग्छ । कुल्चनु पर्दाको पाप सम्झेर प्रायश्चित्त गर्छ । उसले देवीको शिर कुल्चनलाई होइन, घर–परिवारको जीवन धान्न देवीको शिरमाथि आरोहण गरेको हो । यानि, चोमोलोङमा देवी उसका लागि जीवनदायिनी हुन् । तर जब एउटा बाहिरी मान्छे सगरमाथा आरोहण गर्छ, उसको सोचाइ फरक हुन्छ । ऊ सोच्छ — ऊ सामथ्र्यवान् मान्छे हो, र ऊसँग आफू सामथ्र्यवान् हुनुको अहं छ । तर सगरमाथा उसको अहंलाई चुनौती दिइरहन्छ । त्यसैले, यसले उक्त चुनौतीलाई स्वीकार गरेको हो, र मृत्युसँग जुधेरै पनि त्यसउपर उसले विजय प्राप्त गरेको हो । र भनेको हो— ‘देख्यौ, यस्तो दुष्कर पर्वतलाई पनि मैले कुल्चिएँ नि ।’

यानि, हिमाल आरोहण भन्नु मानवीय अहंको सन्धान ।

यसरी फरक पर्छ विश्वदृष्टि, पूर्वको र पश्चिमको ।

एउटा सभ्यताले बोकेको विश्वदृष्टि आजको भोलि पापड तारेजत्तिकै छिटो त बन्दैन । यसलाई निर्माण गर्न उक्त सभ्यताले अनेकौँ शताब्दी खर्च गरेको हुन्छ । त्यसलाई तोड्न र अवशेषसम्म पखालेर फाल्न अत्यन्तै कठिन छ । असम्भव भने होइन । खुकुल्याउँदै लान भने सकिन्छ ।

पश्चिमेत्तर विश्वमा पश्चिमको ग्रहण कसरी प¥यो, त्यो बुझ्न त एडवार्ड सैदको ‘ओरिएन्टलिज्म’ भन्ने पुस्तक पढ्दा पनि हुन्छ । नपढ्दा पनि हुन्छ हुनलाई ।

यसै बोधबाट छिर्नुपर्छ, र साहित्यमा पनि हेर्नुपर्छ पश्चिमी चिन्तनको ग्रहण ।

थप कुथुङ्गीतिर लागौँ ।

एकजना अफ्रिकी लेखक छन् ङ्गुगी वा थियोङ्गो । निकै अनौठो नाम । किनियाली हुन् । एउटा निबन्धमा व्याख्या गर्छन्, कसरी उनको प्रारम्भिक शिक्षा आफ्नै भाषा गिकुयुमा थियो । कसरी कथा भनिन्थ्यो, कसरी कथामा भेटिएका जनावरहरू नायक बनेर बालमस्तिष्कमा बस्थे । कसरी तिनको हार, जीत, र सङ्घर्षले जीवन सिकाउँथ्यो । भाषा केवल शब्दको शृङ्खला थिएन । यसमा तात्कालीक र शाब्दिक अर्थभन्दा पर, एउटा साङ्केतिक शक्ति पनि थियो ।

उनै लेखक अगाडि भन्छन्— पछि, १९५२ मा किनियामा आपतकाल लागू गरिएपछि सबै स्कुलहरूलाई जिल्ला शिक्षा बोर्डको मातहतमा ल्याइयो, र शिक्षणको भाषा अङ्ग्रेजी बनाइयो । अरू विषयमा जति नै अङ्क ल्याए पनि अङ्गेजीमा फेल हुनेलाई पूर्णतामा फेल करार गर्न थालियो ।

क्या गजब ! क्या गजब !
मैले आफैँ एउटा बालनाटक लेखेको थिएँ— ‘स्पिक इङ्लिश’ । पछि स्कुलको अङ्ग्रेजीकै पाठ्यापुस्तकमा पनि समावेश गरेँ । अलिकति विज्ञापन गरि पो हालियो त यहाँनेर ।

कुरा के थियो भन्दा— मैले पढाउने स्कुलमा नेपाली छिरिक्कै बोल्न नपाइने, नेपाली विषयको घन्टीभित्र बाहेक । कसैले बोलिहाल्यो, र पकडा खायो भने पाँच रुपियाँ । एउटा बालक नयाँ नयाँ आएको थियो स्कुलमा । अङ्ग्रेजी भन्नु नमोः शिवाय । पछि बुझेँ— ऊ निरन्तर कुटाइ खाइरहँदो रहेछ । अपमानित भइरहँदो रहेछ । कुनै समस्या परिआए घुटुक्क निलिदिन बाध्य हुँदै रहेछ । रुनु, र रोइरहनु उसको नियति बन्न पुगेको रहेछ । मैले थाहा पाउँदासम्म उसका आँखाबाट एक खोलो आँसु बगिसकेका थिए । मलाई यस कुराको पछुतो आजसम्म छ ।

अर्को भाषा सिक्नुपर्छ, जान्नुपर्छ । लेख्नु पनि पर्छ । तर मातृभाषाको मूल्यमा होइन । मातृभाषा र माता — दुवैका विकल्प छैन संसारमा ।

नेपालमा हामीले भन्यौँ— हामी कहिल्यै उपनिवेशमा परेनौँ । सत्य हो । त्यसको ठ्याक्कै कारण के थियो — हाम्रो कुशल परराष्ट्रनीति, सैन्यशक्रि, पराक्रम…कसैसँग आधिकारिक उत्तर छैन । यसबारे इतिहास पनि मौन छ । तर जे होस्, हामी उपनिवेशमा परेनौँ । तर सांस्कृतिक उपनिवेश भने ज्याद्रो छ । भाषाको । संस्कृतिको । शिक्षाको । ज्ञानको । र मूल्य चाहिँ आफ्नै मानविन्दुको चुकाउनुपर्ने ।

उत्तरऔपनिवेशिक मुलुकहरूको साहित्य लेखनका सुरूका केही दशक हे¥यौँ भने, त्यहाँ मैलेचाहिँ ‘कालीबान सिन्ड्रोम’ भन्ने गरेको एउटा प्रवृत्ति देखिन्छ । सो के भने, ती दशकका साहित्यको कामै पश्चिमालाई गाली गर्ने, त्यो पनि उनकै भाषामा । शेक्सपियको नाटक ‘द टेम्पेस्ट’ मा, इटालीका एक निष्काशित राजा प्रोस्पेरोले एउटा टापूलाई आफ्नो आश्रयस्थल बनाए । त्यहाँ बसेको एउटा रैथाने प्राणी कालिबानलाई अधिनस्थ गरी आफ्नो सहयोगी बनाए । भाषा पनि सिकाए । पछि, त्यही भाषा टिपेर कालिबानले प्रोस्पेरोलाई गाली ग¥यो ।

कुरो यसो पो ।

आफूले परास्त पार्न नसकेको, र आफूलाई ग्वाँ पारेको शक्तिलाई गाली गर्नुमा एउटा मनोवैज्ञानिक कुरा हुन्छ । आफूभित्रको रिस र कुण्ठाको विरेचन एउटा कुरा हो नै । तर, अर्को कुराचहिँ के भने, त्यस्तो शक्तिलाई छेवैबाट जिस्क्याएर हेरौँ भन्ने पनि हुन्छ, र ढुङ्गा हानिहालौँ भन्ने पनि हुन्छ । जस्तो सर्प देख्दा हामी गर्छौँ — हेर्न पनि मन, र ढुङ्गाले प्वाक्क हान्न पनि मन । मन–मन, दोमन ।

प्रतिस्पर्धमा आफूलाई सधैँ हराउने मान्छेले एक दिन एउटा गल्ती ग¥यो भने, त्यसैको आडमा हामी कम्तीमा ८७ वटा गाली गरिदिन्छौँ । उसैको गल्तीलाई त एउटा गालीले सम्याउँछ । बाँकी ८६ वटा गालीचाहिँ आफ्नो मनको शान्तिका लागि हो । विरेचनको सिद्धान्त हो । बोनस भनौँ न ।

यसो पनि नहुने । उसो पनि नहुने । उसो भए के गर्ने त?

पश्चिमलाई गाली गर्ने चरणको समय, मलाई लाग्छ गुज्रिसकेको छ । आज सांस्कृतिक वा भाषिक उपनिवेशको रटान होइन कि, त्यस भाषा वा पश्चिमको ज्ञानलाई हतियार बनाएर, आफ्ना कुरा सम्प्रेषण गर्ने समय हो ।

तर हामी नेपालमा कहिलेकाहीँ गालीको मोहपासमा परेर माथि उल्लेखित प्रकृतिका गल्ती गर्छौं । हामी के गर्छौं? भन्नुपर्ने कुरा भन्दैनौँ, तर स्वघोषित विपक्षीलाई सत्तोसराप गर्छौं । अनि भन्नुपर्ने कुरा छेटिजान्छन् । गालीले प्रतिशोध जन्माउँछ, ज्ञान जन्माउँदैन ।

यस्तो कुरा
— माक्र्सवादी साहित्यमा बढी भएको छ ।
— नारीवादी साहित्यमा उग्र छ ।
— राष्ट्रवादी साहित्यमा चरमचुलीमा छ ।
— पहिचानवादी साहित्यको पनि केन्द्रीय लक्षण बन्न पुगेको छ ।

माक्र्सवादी सौन्दर्यशास्त्र धराशायी । नारीवादको नितान्त निजी, नारी स्वभावजन्य, अनुभवजन्य, अथवा लैङ्गिकताका परिवर्तित, सैद्धान्तिक मान्यता कता छुट्छन् कता । राष्ट्रवादी साहित्यमा छिमेकको विरोध । पहिचानवादमा कुनै बेला साशनसत्ताको निकट रहेका समुदायको विरोध । अनि आफ्नो कुरा चाहिँ कहिले गर्ने ? कहिले आफूभित्रको ज्ञान–परम्पराको उत्खनन् गर्ने ? कलाको, दर्शनको, विश्वदृष्टिको लेखन कहिले गर्ने ? पहिचान अन्तमुर्खी कुरा हो कि बहिर्मुखी ?

कुरो पूर्व–पश्चिमको । तर बत्तिएर कता पुग्यो कता ।

यो एउटा सिन्ड्रोम हो, हामीले पश्चिमको प्रभावमा सिकेको । कारण छ । उता पश्चिममा, विशिष्ट पहिचान भन्नु भाषामा सीमित छ । भाषाको नेटो काटेपछि धर्म, चिन्तन, संस्कृति, भेषभुसा वा जीवनशैली — सबै एक । कुनै समुदाय विशेषको ‘आन्तरिक ज्ञानधारा’ भन्ने नै छैन । अँ, अमेरिकामा आदिवासीहरूबीच चैँ छ, तर ती सबै दबे, वा दबाइए । त्यसैले, एक–अर्कालाई ‘साम्ुदायिक गाली’ गरेरै जुनीभरि बसे पनि कुरा एउटै हो । तर यता पूर्वमा त्यसो हुँदैन । यहाँ हरेक साना–साना समुदायभित्र ज्ञानको आफ्नै विशिष्ट धारा छ । त्यसको प्रकटीकरण यहाँ पहिचानको आधार हो । अँ, राजनैतिक मान्यता र शसबलीकरण त्यसको ऊर्जा हो । तर साध्य होइन । हुँदै होइन ।

त्यसैले, पश्चिमीकरणको प्रतिक्रियामा हामीले कसरी काम गर्ने, यसमाथि सोच्नु जरुरी छ । पश्चिममात्रै किन, कुनै पनि वाह्य भाषा, संस्कृति वा सभ्यताको प्रभावप्रतिको हाम्रो रणनीति कस्तो हुने, त्यसमा नवीनता जरुरी छ । गालीशास्त्रले हामीलाई एक कदम पनि अगाडि पु¥याउँदैन । हामीले उनका भाषा, माध्यम, उपकरण र औजार प्रयोग गरेर, तिनमा आफ्ना निजी मानविन्दुको पाइन हाल्नु जरुरी छ । आज आएर हामीले अङ्ग्रेजी, हिन्दी वा चिनियाँ भाषा पढ्दै पढ्दैनौँ, सुन्दै सुन्दैनैँ, वा लेख्दै लेख्दैनौँ भन्नुमा खासै ठूलो दम छैन । तर हामी उक्त भाषाको मोहपासमा पर्दैनैँ भन्ने कुरा चाहिँ भन्नु जरुरी छ । यो सचेतनाको कुरा हो, जुन उपनिवेशको बेला थिएन, वा प्रकट गर्ने वातावरण थिएन । विविध विश्वभाषाको ज्ञान अतिरिक्त शक्ती हो, तर त्यसैको मोहमा आफ्ना मानविन्दुहरूको दहन गर्नु आत्मदाह हो ।

सबै हतियार आफ्नै आरनमा बनाउन सके बेस । तर त्यो सकिँदैन । त्यसैले, हामीले वैश्विक हतियरामा रैथाने पाइन लाउने हो ।

प्रकाशित मिति : भाद्र १७, २०७९ शुक्रबार  ६ : ०० बजे