Logo

प्रमुख समाचार

रामकुमारी झाँक्रीको निर्वाचन क्षेत्रमा समाजवादीको मत कति ?



नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीको निर्वाचन क्षेत्रमा सो पार्टीका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । चुनावको मुखमा आफ्ना नेताहरू एमाले फर्किएपछि झाँक्रीलाई चुनौती थपिएको छ ।

गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्टले २०५६ सालदेखि उम्मेदवार बनेर २०६४ बाहेक सबै निर्वाचन जितेका छन् ।

सोमबार नेकपा एस छाडेर एमाले प्रवेश गर्ने गुल्मीका अधिकांश नेताकार्यकर्ता झाँक्रीकै क्षेत्रबाट छन् । उनकै सिफारिसमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बनेका नरेश भण्डारी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश खनालसहितका अधिकांश नेता सोमबार एमालेमा फर्किए । उनीहरूलाई एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले स्वागत गरे ।

झाँक्रीको साथ छाडेका नेताहरूले पार्टीले कम्युनिष्ट पार्टी बलियो बनाउनेभन्दा पनि नेपाली कांग्रेसलाई बनाउने नीति लिएका कारण पुनः एमालेमा आएको प्रष्टीकरण दिएका छन् ।

एमाले प्रवेश गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भवन नभएकाले आफूहरू फर्किएको बताए । विगतमा भएका कमजोरीबाट पार्टीमा भएको क्षतिप्रति क्षमा गर्दै उनले अब पार्टीभित्र आउने जुनसुकै जिम्मेवारी पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘नेपाली कांग्रेसलाई शक्तिमा लैजान नेकपा एसको नेतृत्वले गरेको गम्भीर गल्तीलाई बोक्न सकिएन’, भण्डारीले भने ।

खनाल र भण्डारीसहित नेकपा एस प्रदेश कमिटी सदस्य हिमाल थापा, युवासंघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसिकोट अध्यक्ष मदनदीप घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, युवासंघ जिल्ला अध्यक्ष रामुजंग कंडेल, नेकपा एसको विद्यार्थी जिल्ला अध्यक्ष नीलकण्ठ पाण्डे, छत्रकोट कमिटीका अध्यक्ष यमबहादुर खत्रीसहितको जम्बो टोली एमालेमा समाहित भएको एमाले प्रदेश सदस्य हीरा एसीले बताए ।

गुल्मी २ मा वैशाख ३० को स्थानीय चुनावको वडागत मतका आधारमा एमाले ३१२५३, कांग्रेस २९८२१, माओवादी १८४१, एस ६५८, राप्रपा १०१ छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ०९:३१   :  बजे

516
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।