प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झापा जिल्लाको ५ वटै संघीय निर्वाचन क्षेत्रको सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
झापा–५ बाट एकल रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको एमालेले झापा–१ मा पनि रविन कोइरालाको नाम सर्वसम्मत ढंगले एकल सिफारिस गरेको छ ।
झापा क्षेत्र नम्बर १ यसअघि माओवादीका राम कार्कीले जितेको क्षेत्र हो भने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा पनि सोही क्षेत्रबाट निर्वाचनमा उठ्ने तयारी गरिरहेका छन् ।
यस्तै झापाको २ नम्बर क्षेत्रमा भने एमालेले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारका महान्यायाधिवक्ता बनेका अग्नि खरेलको नाम सिफारिस गरेको छ । उनी कानुनका ज्ञाता मानिन्छन् । खरेलसँगै झापा–२ बाट देवराज घिमिरे, पवित्रा निरौला खरेल र ध्रुव सिवाकोटी पनि सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ३ बाट एमालेले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको नाम सिफारिस गरेको छ । सोही क्षेत्रबाट अन्य एमालेका नेताहरु मोहन रेग्मी, हरि घिमिरे, लोकनाथ भट्टराई र गंगादेवी धमला पनि सिफारिसमा परेका छन् । उक्त क्षेत्र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको समेत चुनावी क्षेत्र हो ।
यस्तै झापा क्षेत्र नम्बर ४ बाट होम प्रसाद गौतम, लाल प्रसाद सावा (एलपी सावा), हिराकुमार थापा, भोजकुमारी नेपाल र चन्द्रकुमार शेर्मा सिफारिस भएको एमाले नेता अग्नि खरेलले बताए ।
यता आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका झापाका पाँचै निर्वाचन क्षेत्रमा कांग्रेसले आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
कांग्रेसले प्रतिनिधिसभा सदस्यमा झापा १, ३ र ४ को नाम एकल सिफारिस गरेको छ ।
झापा १ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, झापा ३ मा नेता कृष्णप्रसाद सिटौला र झापा ४ मा कांग्रेसका जिल्ला सभापति देउकुमार थेबे नाम सर्वसम्मत सिफारिस गरेको छ ।




















प्रतिक्रिया