काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डा.अनिषा तिवारीले बिरामीको उपचार गर्ने क्रममा आफूले गरेको गल्तीको ढाकछोप गर्न आफूभन्दा सिसियर डाक्टरहरुविरुद्ध उजुरी दिएको खुलेको छ । प्रशासनले कारबाहीको तयारी गरेपछि उनले त्यसबाट जोगिन मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेको खुलेको हो ।
बिरामीको अप्रेसन गर्ने क्रममा डा.तिवारीले लापरवाही गरेपछि स्पष्टीकरण सोधी कारबाहीका लागि लेखी पठाउने तयारी भएपछि उनले केन्द्रका निर्देशकविरुद्ध उजुरी गरेको खुलेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
के थियो घट्ना ?
केन्द्रका अनुसार डा.तिवारीले गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको अपरेसन गर्दा लापरवाही गरेको र अत्याधिक रक्तश्राव भई बिरामीको ज्यानै जाने अवस्था आएपछि बिरामीको ज्यान बचाउन केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र डा.राकेशकुमार वर्माले अप्रेसन गरी ज्यान बचाएका थिए । १० बजेबाट सुरु गर्नुपर्ने अप्रेसनका लागि डा.तिवारीले अरु व्यक्तिलाई नै अप्रेशनको सुरुवात गर्न लगाएको र उनी १२ बजे मात्रै आएर अप्रेशनमा सहभागी भएकी थिइन् ।
सोही बखत बिरामीको अत्याधिक रक्तश्राव भइ ज्यान जाने अवस्था आएपछि सोही अस्पतालमा कार्यरत बिरामीका आफन्तले केन्द्रका निर्देशक डा. श्रेष्ठ र डा. वर्मालाई बिरामीको ज्यान बचाइदिन आग्रह गरेका थिए । सोही आधारमा डा.तिवारीलाई ओटीबाट हटाएर आफूहरुले बिरामीको रक्तश्राव रोकी उपचार गरेको केन्द्रका निर्देशक तथा डा.पुकारचन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।
बिरामीको ज्यान बचाउनका लागि डा.अनिषालाई हटाएर डा. पुकारचन्द्र श्रेष्ठ र डा.राकेशकुमार वर्माको समूहले अप्रेसन गरी बिरामीको ज्यान बचाउन लाग्दा उल्टै डा.अनिषा तिवारीले डा.श्रेष्ठ र बर्मालाई अप्रेसनमा अवरोध गरेको भन्दै विभिन्न निकायमा उजुरी गरेको पाइएको हो ।
आफूले गरेको अप्रेसन जटिल भई बिरामीको ज्यानै जाने अवस्था आउँदासमेत डा. तिवारीले कन्सल्टेण्ट सर्जनको सल्लाहसमेत नलिई आफूखुसी अप्रेसन गरेको र ओटीमा ड्युटी नै नरहेका असम्बन्धित डाक्टर सञ्जितकुमार साहलाई ओटीमा बोलाएर अनधिकृत भिडियो लिएको समेत केन्द्रले जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
‘डा.अनिषालाई एक्लै अप्रेसन गर्ने अधिकार छैन’
केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले डा.अनिषा तिवारी एक्लैको जिम्मामा बिरामीको अप्रेसन गर्ने अधिकार नभएको बताए । ‘उनी जुनियर सर्जन मात्रै हुन्’, उनले भने, ‘उनी एक्लैमा बिरामीको अप्रेसन गर्ने अधिकारसमेत रहँदैन । तर साउन २४ गते अप्रेसन गर्दा तिवारीले न कार्यकारी निर्देशकलाई जानकारी गराउनुभयो, न कन्सलटेन्ट सर्जनको सल्लाह नै लिनुभयो ।’ काउन्सिलले छानबिन गरेपछि कसको गल्ती हो भन्ने खुल्ने भन्दै त्यसपछि कसलाई कारबाही गर्नुपर्ने भन्ने कुरा थाहा हुने उनले बताए ।




















प्रतिक्रिया