काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने दौडमा छन् । यो भन्दा अगाडि १७ पटक प्रधानमन्त्रीको उम्मेदवार बनेका नेता पौडेल आउने निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने दौडमा देखिएका छन् ।
सरकारले मङ्सिर ४ गते निर्वाचनको घोषणा गरेसंगै नेताहरु निर्वाचनको तयारीमा जुटेका छन् । कांग्रेस नेता पौडेल पनि चुनावी तयारीमा जुटेका छन् । २०७४ सालको निर्वाचनमा पराजित भएका पौडेल आउने निर्वाचन जितेर प्रधानमन्त्री बन्ने दौडमा छन् ।
निर्वाचनको तयारीमा जुटेका पौडेलले सार्वजनिक कार्यक्रममै नेतृत्व तहमा पुगे देशको विकास गर्ने, रोजगारी सृजना गर्ने, देशमा परिवर्तन गर्ने दावीसमेत गरेका थिए । उनले एकपटक देशको नेतृत्व गर्ने चाहना भएको बताउँदै आएका छन् ।
२०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट पौडेललाई वाम गठबन्धनका एमाले उम्मेदवार किसानकुमार श्रेष्ठ (किसन)ले पराजित गरेका थिए । पौडेललाई एमाले नेता किसनले ६ हजार ४१४ मतान्तरले पराजित गरेका थिए ।
विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याएका थिए । पराजित पौडेलले २७ हजार ६७५ मत मात्र पाएका थिए । यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पनि पौडेल र किसान श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला पौडेल ४५ सय मतले विजयी भएका थिए ।
पौडेल पराजित हुनुमा पार्टी सभापति शेरबहादुर देउवाको हात रहेको नेताहरु बताउने गर्छन । देउवाले आफूलाई पार्टीभित्रबाट असुरक्षित हुने भन्दै देउवालाई असहयोग गरेकै कारण निर्वाचन हारेको नेताहरु बताउँछन् ।
यो पटक पनि पौडेललाई चुनाव जित्न भने सकस देखिन्छ । पार्टीभित्र आन्तरिक विवाद र अन्तरसंघर्षले गर्दा पनि उनलाई आफ्नै पार्टीबाट असहयोग हुने निश्चित छ ।




















प्रतिक्रिया