Logo

प्रमुख समाचार

‘व्यवसायमा जोडिनुस्, सांसदबाट हटेपछि रत्पप्रसाद शर्मा हुन पुगिएला !’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई व्यवसायमा जोडिन सुझाव दिएका छन् । आज (बुधबार) पार्टीनिकट समाजवादी सहकारी संगठन नेपालको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति मात्रै गरेर जीवन नचल्ने भन्दै यस्तो सुझाव दिएका हुन् ।

अध्यक्ष नेपालले विगतमा एमालेमै छँदा पार्टीका सदस्यहरुलाई व्यवसायमा आवद्ध गराउने अवधारणा अघि बढाएको तर सफल नभएको बताए । ‘मैले एमालेमै छँदा एउटा सोच अघि सारेको थिएँ । पार्टीका सदस्यहरुले एउटै ब्रान्डको पसल खोल्ने’, उनले भने, ‘अरु आए पनि नआए पनि एमालेका सबै सदस्यले किने भने पसल मज्जाले चल्थ्यो । तर, मेरो अवधारणा अघि बढ्न सक्ने स्थिति भएन ।’

त्यही अवधारणा अहिले नेकपा एसमा लागू गर्न चाहेको नेपालले बताए । यदि आफ्नो व्यवसाय नभएमा भोलि सांसदबाट हटेपछि रत्नप्रसाद शर्माको हविगत हुने उनले चेतावनी दिए । ‘मानिलिनुस मेचीदखि महाकालीसम्म पार्टी प्यालेस खडा गर्नुभयो, खाजा पसल वा डिपार्टमेन्टल स्टोर खोल्नुभयो । कुनै नाममा, जस्तै समाजवादी सहकारी’, उनले भने, ‘जोखिम के छ भने हाम्रो पार्टीसँग नजोडिएका कोही पनि किन्न नआउने, खाजा खान नआउन सक्छन् । तर, हामीसँगै पर्याप्त संख्या छ ।’

पार्टी कार्यकर्ताको जीवन धान्न र खर्च उठाउन सक्ने गरी काम गर्न आग्रह गर्दै अध्यक्ष नेपालले भने, ‘अहिले त सांसद छन् । ५–६ वर्ष जसरी पनि जीवन चल्छ । सांसदबाट गएको भोलिपल्ट रत्नप्रसाद शर्मा हुन पुगिन्छ । रत्नप्रसाद शर्मा चिन्नुभएको छ ? जाजरकोटको रत्नप्रसाद शर्मा सांसदबाट हटेको भोलिपल्ट मःमः पसल खोलेर जीवन चलाउनु पर्याथ्यो ।’

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १७:५८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।