काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ ।
समानुपातिक सूची मिलाउन माओवादीले महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले तल्ला कमिटीबाट आएका नाम आइतबार घटाएर ४ सयमा झारेको थियो । कार्यालय सचिव उपाध्यायका अनुसार सोमबार बिहान बसेको कार्यदलको बैठकले ४ सयबाट पनि नाम घटाएर ३३० मा झारेको हो ।
त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी छ । प्रचण्ड सोमबार नै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको प्रशासनीक भवत, गाउँपालिकामै निर्मित ५० शैय्याको सुविधासम्पन्न दुधकोशी सामुदायिक अस्पताल र बहुप्राविधिक शिक्षालय भवन उद्घाटन गर्न गएका छन् ।
अब प्रचण्ड फर्केपछि त्यसले वैधानिकता पाउने छ । दलहरुले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० गरी ३३० जनाको बन्दसूची निर्वाचन आयोगमा सोमबार नै पठाउनुपर्नेछ ।
प्रतिक्रिया