Logo

अर्थ

भगवती हाइड्रोपावरले १२ प्रतिशत बोनस सेयर दिने, पुस १४ मा साधारण सभा



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस १४ गते २६औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले पोखराको घारीपाटनस्थित आब्या क्लबमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव छ। त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत गर्ने कार्यसूची रहेको छ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को खुद तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतका दरले ८ करोड १३ लाख ८८ हजार ७८८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ४२ लाख ८३ हजार ६२० रुपैयाँ ४२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। उक्त नगद लाभांश चुक्ता पुँजीको ०.६३ प्रतिशत हो।

यसैगरी, कम्पनीको अधिकृत पुँजी ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ। जारी तथा चुक्ता पुँजी दुवै ७५ करोड ९६ लाख २८ हजार ६८८ रुपैयाँ कायम गर्ने गरी पुँजी संरचनामा संशोधन गर्ने विशेष प्रस्तावसमेत सभामा पेस हुनेछ।

सभाले सञ्चालक समितिका अध्यक्षलाई उपलब्ध गराइएको तलब तथा भत्ता अनुमोदन गर्ने, सञ्चालक समितिबाट नियुक्त दुई सञ्चालकको नियुक्ति स्वीकृत गर्ने र चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २५ गते एक दिन सेयर दाखिला खारेज किताब बन्द गर्ने जनाएको छ।

यसअनुसार मंसिर २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम भएका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार ०८:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।