Logo

अन्तर्वार्ता

पालिकाको विवाद समाधान गर्न नसके अध्यक्ष हुनुको अर्थ रहँदैन : नुर्वु स्याङवो घले



देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन् । धेरैजसो पालिका सक्रियाताका साथ चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लागिपरेका छन् । तर अझै पनि केही पालिकाहरुले भने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् ।

रसुवाको नौकुण्ड गाउँपालिकाले भने के गरिरहेका छ त ? नौकुण्डका अध्यक्ष नुर्वु स्याङवो घलेसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गाउँपालिकाको समग्र गतिविधिमा केन्द्रित रहेर कुराकानी गरेका छन् । तस्तुत छ, कुराकानीको सम्पादित अंश :

पालिकामा निर्वाचित भएर आउनुभएको सय दिनभन्दा बढी भइसकेका छ । कार्यकाल प्रारम्भका के कस्ता काम अघि बढाउनुभएको छ ?
भौगोलिक रुपमा नौकुण्ड गाउँपालिका अत्यन्तै विकट छ । हामी निर्वाचित भएर आएपछि गाउँसभा ग¥यौं । असार १० गतेबाट नीति तथा कार्यक्रमको छलफल गरियो । २५ गते पेश गरियो । ३० गते पारित गरियो । साउन र भदौमा बाटो बन्द हुन्छ । सबै खाले योजनाहरु बन्द हुन्छन् । अब हामी छिट्टै प्रत्येक गाउँमा बाटो खोल्नका लागि पहल गरिरहेका छौं । आगामी योजनाहरु भने हामी यो महिनापछि मात्रै सुरु गर्छौं ।

यसअघि यो पालिकालाई यहाँले नै हाँक्नुभएको थियो । त्यसको समीक्षा चाहिँ कसरी गर्नुहुन्छ ?
हामीले पहिलो कार्यकालमा बाटो, शिक्षा र स्वास्थ्यलाई नै बढी महत्व दिएर बिताएका छौं । हामी निर्वाचित भएर आउँदा पालिकाको हरेक वडामा बाटो थिएन, खानेपानी थिएन, बिजुली थिएन । विद्यालयहरु लथालिङ्ग थियो । अहिले पालिकाको हरेक घरमा खानेपानी, विजुली पु¥यौं । हरेक टोलमा बाटो बनाएका छौं । मैले पाँच वर्षे कार्यकाल जनताको काममा बिताएको हो । अहिले फेरि जनताले जिताएकोले मैले पहिलो कार्यकालमा राम्रो काम गरेको प्रमाणित भएको छ ।

गाउँपालिकामा पिच बाटो बनाउन सुरु गरेका छौं । गाउँपालिकामा दुई वटा बाटो पिच गर्न ठेक्का प्रक्रिया सुरु भएको छ । विद्यालयहरु व्यवस्थित तरिकाले सञ्चालन भएका छन् । पहिला तीन वटा स्वास्थ्य चौकी थियो । अहिले हामीले सात वटा थपेका छौं । पालिकाको स्वास्थ्य सेवा सबैलाई सजिलै मिलाएका छौं । अहिले हामीले चार वटा सडक, पुल टेण्डर प्रक्रिया सुरु भएको छ । कृषिमा पनि हामीले धरै कामहरु गरेका छौं । आलु उत्पादन हुने ठाउँमा आलु पकेट क्षेत्र, धान उत्पादन हुने ठाउँ, तरकारी, कुखुरा पालन जस्ता पकेट क्षेत्रहरु घोषणा गरेका छौं । हामीले हाम्रो स्रोत साधनले भ्याएजतिको काम गरेका छौं ।

संघीयता आएपछि यो गाउँपालिकामा धेरै सहज भएको छ । पहिले रसुवाको सबै भन्दा पिछडिएको पालिका नौकुण्ड थियो । पहिलो कार्यकालमा हामीले निस्वार्थ भावले जनतासँग सुःख—दुःख बाँडियो । पुरै कार्यकाल भरी अनियमितता भएको भनेर प्रश्न उठ्ने गरी काम गरिएन । कुनै विवाद पनि भएन । सबै भन्दा राम्रो काम गरेको र छिटो गरेको भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हामीलाई प्रमाण पत्र दिनुभएको थियो । हामी कांगे्रसीहरुले गरेको काम पनि भन्न जान्दैनौं तर कम्युनिस्टहरु नगरेको कामलाई पनि चर्चामा ल्याउँछन् । त्यसो हुनाले हामीले गरेको काम जनताले देखेका छन् । केही कामहरु समले देखाउँछ ।

अबको कार्यकालमा तपाईँले गाउँपालिकामा गर्ने मुख्य—मुख्य कामहरु के के हुन् ?
अब हामीले प्रत्येक विद्यालयलाई सूचना–प्रविधिसँथ जोडन वाईफाईको टेण्डर आह्वान गरिसकेक छौं । शिक्षा, स्वास्थ्य, बाटोलाई व्यवस्थित गर्दै जनतालाई आयआर्जनमा जोडन हामी अगाडि बढ्ने छौं । संघसंस्थासँग समन्वय गरेर पालिकावासीलाई आयआर्जन जोड्ने हाम्रो योजना छ । बाह्रै महिना बाटो सञ्चालन गर्न एउटा जेसिबी र प्रत्येक वडामा ४/५ जनाको दरले कामदार राख्ने योजना बनाएका छौं । कहिल्यै पनि हिसाब÷किताब तलमाथि हुँदैन । कृषिलाई व्यवसायीकरण गर्दै लैजाने छौं । नौकुण्डमा जुन तरिकाले विकासको गति अगाडि बढेको छ त्यसलाई हामी अझै छिटो र दिगो रुपले काम गर्ने छौं । अघिल्लो कार्यकाल जसरी नै यो कार्यकाल पनि विना विवाद सहमति र सहकार्य गरेर कटाउने हाम्रो योजना छ । कुनै पनि पालिकाको प्रमुखले अनियमितता नगर्दा त्यस्ता विवादहरु कम हुन्छ ।

केन्द्र र प्रदेश सरकार परिवर्तन हुँदा स्थानीय सरकारलाई कस्तो प्रभाव पर्दो रहेछ ? यो कार्यकालमा माथिल्लो तहका सरकारसँग कसरी समन्वय गरेर अगाडि बढ्नुहुन्छ ?
माथिको सरकार परिवर्तन हुँदा स्थानीय तहलाई प्रत्यक्ष रुपमा असर पर्छ । जसले जे भने पनि पार्टी भनेको एक समूहले चलाउँछ । प्रत्येक पार्टीले सरकार आफ्नो तरिकाले चलाउँछ । मलाई पहिलो कार्यकालको पहिलो दुई वर्ष केही असजिलो भएको थियो । धेरै कामहरु सिक्न पर्ने थियो । केन्द्रमा एमालेको सरकार थियो, मेरो मन्त्रीहरुसँग राम्रो चिनजान थिएन । यस वर्ष भने बागमती प्रदेश सरकारले राम्रो योजनाहरु हालेको छ । ८८ करोडको योजना रसुवामा हालेको छ । त्यसलाई कार्यन्वयन गर्दा रसुवाको ६० प्रतिशत विकास हुन्छ । यो योजनाहरु राम्रोसँग पुरा गर्दा हामीले इतिहासमा नाम लेखाउने छौं । यस वर्ष केन्द्रमा पनि प्रदेशमा पनि कांगे्रससहितको गठबन्धन सरकार भएकोले यहाँ धेरै बजेट आएको हो । यसरी सरकार अनुसार स्थानीय तहलाई हेर्ने नजर बदलिन्छ । मन्त्रीको जिल्लामा धेरै योजना पर्ने चलन छ ।

केही पालिकाहरुले अझै पनि चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् । किन यस्तो भएको होला ?
यसमा पालिका प्रमुखको कमिकमजोरीले गर्दा बजेट पेश गर्न नसकेको हो । समन्वय गर्न नसकेर पनि यस्तो भएको हो । जनप्रतिनिधिहरुको भिजन नभएकोले पनि हो । मै हुँ भन्ने अहङकारले गर्दा यस्तो भएको हो । मिलेर जान नजानेका हुन् । हाम्रो पालिकामा उपप्रमुखसहित ११ जना वडा अध्यक्ष एमालेले जितेको छ, म र तीन जना वडा अध्यक्ष कांगे्रसबाट जितेको हो । मैले निःस्वार्थ निर्णय गर्दा कसैले प्रश्न उठाउँदैन । हामी मिलेर समयमै कामहरु गरिरहेका छौं । सत्यतथ्यलाई अंगाल्दै काम गर्दा समयमै काम हुन्छ । कार्यपालिकामा एमालेकै बहुमत छ ।

विवाद हुन दिन हुँदैन । भइहाले पनि मिलाउन सक्नु पर्छ । नत्र अध्यक्ष हुनुको अर्थ रहँदैन । पहिलो कार्यकालमा पनि हामीले कुनै पनि कुरामा झगडा गरेनौं । कर्मचारी र जनप्रतिनिधिबिच राम्रो संवाद हुन पर्छ । तर कर्मचारीलाई राम्रो सेवा प्रवाह गर्न, सही तरिकाले काम गर्न जनप्रतिनिधिले आदेश दिन सक्नु पर्छ । कानुनी मान्यता कर्मचारीले सिकाउँछ । हामी पनि पाँच वर्ष जनप्रतिनिधि हुँदैमा आफूलाई ठूलो मान्छे ठान्नु हुँदैन । त्यसो हुनाले पालिकामा बजेट पास गर्न नसक्नु अध्यक्ष कै कमजोरी हो ।
प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, वडा अध्यक्ष, सदस्य सबैको आ—आफ्नो अधिकार क्षेत्र संविधानले नै निर्धारण गरेको छ । आफ्नो अधिकार र कर्तव्य थाहा नभएर पनि कतिपय पालिकामा विवादहरु भइरहेको छ । बाँडीचुँडी खानेहरुकोबीच पनि यस्तो विवाद हुन्छ । अनियमितता नगर्ने पालिकामा त्यस्तो विवाद भएको छैन ।

स्थानीय तहलाई अधिकार कम भयो, भनेर कतिपय जनप्रतिनिधिहरुले भनेका छन् । यसमा तपाईँको धारणा के छ ?
संघीयता आएको मलाई रामै लागेको छ । पहिले जिल्ला विकास समितिले योजना मन परेको ठाउँमा हाल्थयो तर मन नपरेमा हाल्दैनथ्यो । अहिले गाउँ—गाउँमा राम्रो काम भइरहेको छ । नियम अनुसार आउने बजेट आइरहेको छ । तर तीन तहको सरकारमा केन्द्रले आफैमात्रै चलाउन खोज्ने, प्रदेश र स्थानीय तहले पनि आफैमात्र चलाउन पाए हुन्थ्यो, भन्ने सोच्नाले गर्दा असजिलो भएको छ ।

हामीले हाम्रो देशको आम्दानी अनुसारको खर्च गर्नु पर्छ । प्रदेशको कारणले गर्दा संघीयता महंगो भयो भन्ने कुरा उठेको छ । कुनै स्वार्थमा भ्रष्टचार नगरी काम गर्ने हो भने संघीयता ठिक छ । स्थानीय तहमा आफूले राम्रो चिनेको मान्छेलाई जनप्रतिनिधि बनाएको हुन्छ । त्यसले गर्दा पनि विकास गर्न सजिलो भएको छ । राम्रो काम गर्न सक्नु र नसक्नु नेतृत्वको काम गर्ने क्षमतामा भर पर्छ । भ्रष्टचार भएको समाचारहरु पनि आइरहन्छन् । तर हाम्रो नौकुण्डमा काम गर्ने सिलसिलामा कोही कसैबाट कमीकमजोरी होला, तर भ्रष्टचार भएको भन्ने न यस अगाडि सुनिएको थियो न त अब नै सुनिन्छ ।

अन्त्यमा नौकुण्डवासीलाई केही भन्नु छ ?
मैले पाँच वर्ष नौकुण्डको समस्या समाधान गर्न पहल गरेँ । अबको पाँच वर्ष पनि यहाँको समस्या समाधान गर्न लागि पर्ने छु । हामी यो दसैँमा सबै गाउँगाउँमा अवरोध भएको बाटो खुलाउँदै छौं । दसैँ मान्न तयार भएर बस्न गाउँवासीलाई भन्न चाहान्छु ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ३ : ३६ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।